Logo
Logo

संसद्‌मा रजाइँ गर्ने व्यापारीको दाउ, ठेकेदारदेखि अर्बपतिसम्म चुनावी मैदानमा


2.7k
Shares

काठमाडौं । चुनाव नजिकिदै गर्दा चन्दाकोे त्रासले धेरै व्यापारी भूमिगत छन् । नेताले फोन गरेर पैसा माग्न थालेपछि व्यापारी समस्यामा परेर भूमिगत भएका हुन् ।

व्यापार–व्यवसाय खस्केको छ । तर, केही व्यापारी भने आफैं राजनीतिक मैदानमा छन् । खासगरी राजनीतिको आडमा व्यापार गर्दै आएकाहरूलाई भने चुनाव एउटा अवसर बनेको छ ।

स्थानीय तहदेखि संघको चुनावसम्म व्यापारीहरूको प्रभाव बढ्दै गएको छ । गत वैशाखमा सम्पन्न स्थानीय तहमा दर्जनौं ठेकदार निर्वाचित भएका छन् ।

पैसाकै बलमा धेरैले टिकट पाउने र चुनाव जित्ने गरेका छन् । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पनि त्यस्तै देखिएको छ । व्यापारी र ठेकदारको प्रभावका कारण सिद्धान्तको राजनीति गर्नेहरू पाखा लाग्न थालेका छन् ।

मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ठूला पार्टीबाट धेरै व्यापारी प्रत्यक्ष तथा समानुपातिकतर्फ उम्मेदवार बनेका छन् ।

आगामी निर्वाचनमा यसरी पैसाकै बलमा टिकट पाउन सफलमध्ये एक हुन् बालकृष्ण सिवाकोटी । उनलाई एमालेले दोलखाबाट प्रतिनिधिसभाको टिकट दिएको छ । एमालेका प्रभावशाली नेताद्वय पार्वत गुरुङ र आनन्द पोखरेललाई पछि पार्दै उनले टिकट हात पारेका हुन् ।

पार्टीलाई योगदान गरेको र जनतामा लोकप्रियताका कारण उनले टिकट हात पारेका भने होइनन्, एमाले नेताहरूलाई गरेको आर्थिक सहयोगका आधारमा टिकट पाएका हुन् ।

बालकृष्णलाई यसअघि नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लगानी बोर्डको सदस्य बनाएका थिए । मेगा बैंक र कालिञ्चोक केबलबारका सञ्चालक रहेका उनले एमालेकै आडमा व्यवसाय चलाउँदै आएका छन् ।

विगतमा रक्तचन्दन कारोबार लगायत अवैध धन्दाबाट अकुत सम्पत्ति जोडेको आरोप उनीमाथि लाग्ने गरेको छ । गैरराजनीतिक व्यक्तिलाई टिकट दिइएकोमा दोलखा एमालेमा असन्तुष्टिसमेत देखिएको छ । उनको विरुद्ध दोलखामा गठबन्धनको तर्फबाट माओवादी उम्मेदवार गंगा कार्की प्रमुख प्रतिस्पर्धामा छन् ।

अर्बपति व्यापारी बिनोद चौधरी पनि सम्पत्ति जोगाउनकै लागि राजनीतिमा लागेका छन् । पश्चिम नवलपरासी–१ मा कांग्रेसबाट अर्बपति विनोदले उम्मेदवारी दिएका छन् । जहाँ हृदयेश त्रिपाठीसँग उनको प्रतिस्पर्धा हुँदैछन् ।

यसअघि समानुपातिक सांसद रहेका चौधरी यसपटक प्रत्यक्षतर्फ मैदानमा छन् । उनको क्षेत्रमा त्रिपाठीलाई एमालेले समर्थन गरेको छ । चौधरी एमालेका स्थानीय नेतालाई फकाएर चुनाव जित्ने दाउमा छन् ।

यो क्षेत्रबाट नेपाली कांग्रेसका नेताहरू देवकरण कलवार, विक्रम खनाल, कुलदीप आचार्य र उषा बास्तोलालगायत प्रतिस्पर्धामा थिए । तर, पैसाको अगाडि उनीहरूको केही लागेन ।

व्यापारी उमेश श्रेष्ठ चितवन–२ बाट उम्मेदवार बनेका छन् । कांग्रेसका तर्फबाट उम्मेदवार श्रेष्ठ राज्यमन्त्रीसमेत हुन् । यसअघि उनी कांग्रेसबाट समानुपातिक सांसद थिए । उनको क्षेत्रमा एमालेका कृष्णभक्त पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेलगायत प्रतिस्पर्धामा छन् ।

२०७० सालमा समानुपातिक निर्वाचन प्रणालीमार्फत नेपाली कांग्रेसका तर्फबाट संविधानसभा सदस्य निर्वाचित उनले संसदको आर्थिक समिति र शिक्षा तथा स्वास्थ्य समितिको सदस्य तथा विभिन्न उपसमितिको संयोजक भएर काम गरेका थिए । आफ्नो व्यवसायलाई अनुकुल हुने गरी नीति तथा कानून बनाउन लबिइङ गरेकोमा उनी विवादमा मुछिएका थिए ।

शिक्षा, पर्यटन, ऊर्जा र बैंकिङ क्षेत्रमा लगानी गरेका श्रेष्ठ निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) र निजी उच्च माध्यमिक विद्यालयहरुको संगठन (हिसान) का पूर्वअध्यक्ष हुन् ।

पछिल्लो समय चितवनमा लगानी बढाएकाले उनले त्यहीबाट राजनीतिक सक्रियता पनि बढाएका छन् । यो क्षेत्रमा कांग्रेसका पूर्व जिल्ला सभापति जितनारायण श्रेष्ठ, जिल्ला सभापति राजेश्वर खनाल लगायत आकांक्षी थिए । तर, केही वर्षअघि मात्र कांग्रेसमा सक्रिय भएका श्रेष्ठले टिकट हात पारे ।

वैदेशिक रोजगार व्यवसायी एलपी साँवा लिम्बूले झापा निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका साँवाले २०७० मा चुनाव जितेका थिए ।

पछिल्लो समय वैदेशिक रोजगार व्यवसाय छोडेर जलविद्युत तथा ऊर्जा क्षेत्रमा लगानी गरेका उनी पैसाकै बलमा राजनीतिमा सक्रिय छन् भने राजनीतिकै बलमा आफ्नो ब्यापार बढाएका छन् ।

देशका ठूला ठेकदारमध्ये एक विक्रम पाण्डे चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका छन् । उनी राप्रपाका तर्फबाट उम्मेदवार बनेका हुन् ।

पाण्डे नेता तथा व्यवसायी हुन् । उनको कालिका कन्स्ट्रक्सन, कालिका एफएम, कालिका पावर कम्पनी र कालिका टावर रहेको छ । उनको प्रतिस्पर्धामा सत्तारुढ गठबन्धनबाट डा. भोजराज अधिकारी छन् ।

पाण्डेमाथि सेटिङमा ठेक्का हात पार्ने आरोप लाग्दै आएको छ । तीन वर्षअघि उनीविरुद्ध सिक्टा सिंचाई आयोजनामा भ्रष्टाचार गरेको मुद्दा दायर भएको थियो । सो मुद्दामा उनले हालै सफाई पाएका छन् । अघिल्लो चुनावमा उनी प्रचण्डसँग पराजित भएका थिए ।

प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन पनि यो चुनावबाट राजनीतिमा लागेका छन् । उनी नेकपा एमालेका तर्फबाट समानुपातिक सूचीमा परेका छन् । विगतमा उनी नेपाली कांग्रेसमा आबद्ध थिए ।

पर्यटन व्यवसायी सुमनविक्रम पाण्डेले नुवाकोट क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका छन् । उनी ट्रेकिङ एजेन्टस एसोसियसन अफ नेपाल (टान) का अध्यक्ष, एयरलाइन अपरेर्टस एसोसियसन (आवान) को महासचिवसमेत हुन् ।

पाण्डे साहसिक पर्यटन, ट्राभल, हवाई सेवा, होटेल, रेष्टुराँलगायत विभिन्न विधाका व्यवसायका साथै नेपाल पर्यटन बोर्डको सदस्य, नेपाल पर्यटन वर्ष २०११ राष्ट्रिय कार्यसमितिको सदस्यलगायत विभिन्न व्यावसायिक नेतृत्वमा पुगेका थिए ।

व्यवसायीको रुपमा उनको छवी भने अरुको भन्दा फरक छ । नुवाकोट क्षेत्र नम्बर २ मा उनले कांग्रेस उम्मेदवार अर्जुननरसिंह केसीलाई टक्कर दिने बताइन्छ ।

जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट व्यापारी पृष्ठभूमिका डा. वीरेन्द्र महतोले सिरहा क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन् । डा. महतो एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतोका भाइ हुन् । महतोको पनि आफ्नै विभिन्न व्यवसाय रहेको छ । उनी माछापुछ्र«े बैंकका अध्यक्ष पनि हुन् ।

मेडिकल व्यवसायी डा. सुनिल शर्मा मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट कांग्रेस उम्मेदवार बनेका छन । डा. शर्मा अहिले ३ वटा मेडिकल कलेजका मुख्य लगानीकर्ता हुन् ।

विराटनगरको नोबल मेडिकल कलेज र काठमाडौंको काठमाडौं मेडिकल कलेजमा उनको लगानी छ । यो क्षेत्रमा एमालेका भानुभक्त ढकाल, राप्रपाकी अभिनेत्री रेखा थापा प्रतिस्पर्धामा छिन् ।

पर्यटन व्यवसायी राजेन्द्र बजगाईं गोरखा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका छन् । यसअघि प्रदेशमा लडेका उनले यसपटक संघकै टिकट पाएका छन् । उनी पनि पैसाकै बलमा राजनीतिमा लागेका हुन् ।

निर्माण व्यवसायी पूर्णबहादुर (कान्छाराम) तामाङलाई कांग्रेसले रामेछापबाट उम्मेदवार बनाएको छ । यसअघि चुनावमा पराजित भएपनि पैसाकै बलमा फेरि पनि टिकट हात पार्न उनी सफल भएका छन् ।

व्यवसायी पृष्ठभूमिकै कृष्णकुमार श्रेष्ठ (किसान)ले बारा निर्वाचन क्षेत्र नम्बर ४ मा एकीकृत समाजवादीका तर्फबाट उम्मेदवारी दर्ता गराएका छन् । श्रेष्ठ यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री थिए । किसान पूर्वम्यानपावर व्यवसायी हुन् भने जग्गाको कारोबारमा पनि सक्रिय थिए ।

व्यवसायी दीपक खड्का संखुवासभामा आफ्नो राज चलाउँदै आएका छन् । उनको पर्यटनका साथै जलविद्युतमा पनि लगानी छ । उनी कांग्रेस संखुवासभाका सभापतिसमेत हुन् । लाजिम्पाटस्थित स्काउटको जग्गा शक्तिको आडमा हिनामिनाको आरोप उनीमाथि लाग्दै आएको छ ।

अर्का ठूला ठेकदार मोहन आचार्य रसुवाबाट चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेसका तर्फबाट उम्मेदवार बनेका आचार्य यसअघि पनि सांसद थिए । उनको रसुवा कन्स्ट्रक्सन छ । उनी सांसद भएको बेला आफ्नो कम्पनीलाई अनुकूल हुने गरी मापदण्ड बनाएर लुम्बिनी प्रादेशिक अस्पतालको ठेक्का दिन लागेका थिए ।

वीरगन्जका व्यवसायी अनिल रुंगटा कांग्रेसको तर्फबाट समानुपातिक सूचीमा परेका छन् । रुङ्गाटा मधेसीको कोटामा २ नम्बरमा रहेका छन् । आफु अनुकुल एसपी लगेर पर्सामा उनले अवैध धन्दा चलाएको आरोप लागेको छ ।

कांग्रेसबाटै नुवाकोटका निर्माण व्यवसायी जगतबहादुर तामाङ समानुपातिक उम्मेदवार छन् । अरु धैरै व्यापारी पैसाकै बलमा सबै जसो पार्टीको समानुपातिकतर्फको अग्रसूचीमा छन् ।

पछिल्लो समय आम मान्छेको पहुँचबाट राजनीति टाढा हुँदै गएको छ । व्यापारी र ठेकदारको प्रवेशले अझै राजनीतिमा व्यापारीकरण बढेको छ । पार्टीभित्रै चुनावदेखि संसद तथा स्थानीय तहको चुनावमा करोडौं खर्च हुन थालेको छ । खर्च गर्न नसक्नेहरू पाखा लाग्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्