Logo
Logo

सामुदायिक विद्यालयप्रती आकर्षण बढाउन सबै विद्यार्थीको बैंक खाता


189
Shares

इलाम : सूर्योदय नगरपालिकाले सामुदायिक विद्यालयका आधारभूत तहमा अध्ययनरत बालबालिकाको बैंक खाता सञ्चालन अभियान सुरु गरेको छ ।

नगरले ‘बाल बचत –२१०५ जना नानीहरूको निम्ति– सबैका लागि उच्च शिक्षा’ अन्तर्गत कक्षा १ देखि ५ सम्मका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाका लागि अभियान सुरु गरेको हो । राष्ट्रिय वाणिज्य बैंकको सहकार्यमा पुण्य स्मारक आधारभूत विद्यालय तीनघरेबाट आरम्भ गरिएको हो । नगरको अभिलेखमा दर्ता भएका ६६ वटा सामुदायिक विद्यालयका २ हजार १०५ विद्यार्थीको पहिलो चरणमा खाता सञ्चालन हुनेछ ।

अभिभावकको रोहबरमा खाता खोलिसकेपछि राष्ट्रिय वाणिज्य बैंकले सबैको खातामा १०० सय रुपैयाँ थप गर्ने बैंकको फिक्कल शाखाका प्रबन्धक खगेन्द्र कन्दङ्वाले बताए । बैंकले वार्षिक रूपमा ९।१३ प्रतिशतले ब्याज प्रदान गर्ने उनले बताए। उनले सामाजिक उत्तरदायित्व अन्तर्गत अति विपन्न परिवारका बालबालिकालाई छात्रवृत्तिको कार्यक्रम समेत सञ्चालन गर्ने जानकारी दिए।

नगर प्रमुख रणबहादुर राईले बालबालिकाहरूलाई बचत गराउने बानी गराउनका साथै आगामी भविष्य सुरक्षित गराउने नगरले बाल बचत कार्यविधि नै बनाएर अघि बढाएको बताए । राईका अनुसार नगरपालिकाले बनाएको कार्यविधि अनुसार नगरले निश्चित विन्दुसम्म थप प्रतिशत रकम उपलब्ध गराउने छ। नगरपालिकाभित्र भएको सबै १–५ का विद्यार्थीहरूको २ हजार १०५ जनाको बाल बचत खाता मंसिर महिनासम्म सम्म खोलिसकिने छ ।

कक्षा ८ सम्मका बालबालिकाको खाता सञ्चालन गराउने लक्ष्य रहेपनि चालु आर्थिक वर्षमा कक्षा ५ सम्मको सञ्चालन हुने राईले बताए । अभियान सञ्चालनपछि विद्यार्थीहरु ‘ड्रप आउट’ हुने दर कम हुने, बचत गर्ने बानीको विकास हुने, जंक फुडको प्रयोगमा कमी आउने, बैंकिङ कारोबारले गर्दा वित्तीय व्यवस्थामा साक्षरताका साथै थोरै थोरै गरेर धेरै जम्मा गर्न सकिने र विद्यार्थीहरू बचतको निम्ति उत्साहित हुने अपेक्षा राखिएको छ ।

बचत गर्ने बानीको विकासले नगरको दिगो सोचलाई टेवा मिल्ने कार्यक्रम पनि हुनेछ अपेक्षा राखिएको राईले बताए । पुण्य स्मारिकले यसअघि नै विद्यार्थीको खाता सञ्चालन अभियान सुरु गरिसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्