Logo
Logo

माओवादीका १० पदाधिकारी : को कति सुरक्षित ?


74.2k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका २१ मध्ये १० पदाधिकारी चुनावी मैदानमा छन् । माओदावीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित १० पदाधिकारी प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बनेका छन् भने ११ जना रिङ बाहिरै छन् ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन अब मात्रै ९ दिन बाँकी रहँदा उनीहरु आ–आफ्ना निर्वाचन क्षेत्रमा मतदातालाई आफ्नो प्रभावमा पार्न व्यस्त छन् ।

०७४ को निर्वाचनमा तेस्रो शक्ति बनेको माओवादीले यसपटक पाँच दलीय सत्ता गठबन्धनका कारण ४६ सीटमा मात्रै आफ्नो उम्मेदवार खडा गरेको छ । अघिल्लो निर्वाचनमा एमालेसँग तालमेल गरेको माओवादीले यसपटक एमालेसँगै मुख्य प्रतिस्पर्धा गर्दैछ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड

माओवादी अध्यक्ष प्रचण्ड गोरखा २ बाट उम्मेदवार बनेका छन् । अघिल्लो ०७४ निर्वाचनमा चितवन–३ बाट निर्वाचित अध्यक्ष प्रचण्डले यसपटक भने चितवनमा हार्ने सम्भावना देखेपछि गोरखा रोजेका हुन् ।

फरक फरक क्षेत्रबाट प्रतिस्पर्धा गर्ने प्रचण्डले अहिलेसम्म एउटै क्षेत्रबाट दोर्होयाएर निर्वाचन लडेका छैनन् । पहिलो संविधानसभा चुनावमा रोल्पा र काठमाडौंबाट विजयी भएका थिए । तर, दोस्रोमा काठमाडौं र सिराहाबाट चुुनाव लड्दा काठमाडौंमा हारेका थिए ।

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनको नतिजाअनुसार गोरखामा माओवादी पहिलो पार्टी हो । प्रचण्डले उम्मेदवारी दिएको गोरखा २ मा एमालेले अब्दुश मियाँलाई अघि सारेको छ । मियाँ हालैमात्र एमाले प्रवेश गरेका युवा नेता हुन् ।

जनतामाझ नभिजेका प्रतिस्पर्धी भएपछि प्रचण्डको जीत थप सहज बनेको माओवादी नेताहरूको बुझाइ छ । स्थानीय निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मतअनुसार गोरखा २ मा माओवादीको २२ हजार २५०, कांग्रेसको २१ हजार १३६, एमालेको ७ हजार ९२६, जसपाको ७ हजार ५०४ र राप्रपाको ८७८ मत रहेको छ ।

एमाले र जसपाबीचको मत जोड्दा पनि माओवादी एक्लैको मतलाई उछिन्न सक्ने अवस्था छैन । तर, प्रचण्डलाई कांग्रेस र नेकपा एसको पनि साथ भएकाले फराकिलो मतान्तरसहित जीत हुने देखिएको छ ।

देव गुरूङ

महासचिव गुरूङ लमजुङबाट उम्मेदवार बनेका छन् । तर उनलाई त्यहाँ चुनाव जित्न यसपटक सहज छैन । अघिल्लो निर्वाचनमा एउटै मोर्चाबाट विजयी भएका एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरूङ उनीविरूद्ध मैदानमा छन् । २०७४ सालमा प्रदेशसभामा जितेर गण्डकी प्रदेशको मुख्यमन्त्रीसमेत भएका गुरूङ अहिले संघमा लड्दैछन् ।

गत स्थानीय निर्वाचनमा वडाध्यक्षले पाएको मतअनुसार एक्लाएक्लैमा एमाले अगाडि छ । एमालेले ४० हजार १९७, कांग्रेसले ३५ हजार २७६, माओवादीले ६ हजार १२७, राप्रपाले १ हजार १८४ र जसपाले १९० मत ल्याएको छ । यो मतअनुसार गुरूङद्वयबीच कडा टक्कर हुने देखिन्छ ।

यस क्षेत्रमा देव गुरुङभन्दा पीएस गुरुङ लोकप्रिय हुन, जनमतमा एमाले अगाडि हुनु र पीएसको आफ्नै गाउँपालिका क्लोसोथरमा एमालेले क्लीन स्वीप गर्नुले एमाले बलियो देखिन्छ ।

वर्षमान पुन

उपमहासचिव वर्षमान पुन भने रोल्पामा सुरक्षित छन् । उनले २०७४ सालको निर्वाचनमा कांग्रेसका अमरसिंह पुनमगरलाई २० हजार मतान्तरले हराएका थिए । गत निर्वाचनमा उनले ४० हजार ६४७ मत ल्याउँदा कांग्रेसका पुनले १९ हजार ९०६ मत पाएका थिए ।

अहिले कांग्रेस सत्ता गठबन्धनमै छ । पुनविरूद्ध एमालेले पूर्व माओवादी लडाकु कमाण्डर पूर्ण बुढामगरलाई अघि सारेको छ । स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतअनुसार एक्लाएक्लैमा माओवादी पहिलो शक्ति छ ।

माओवादीले ४० हजार ७९१, कांग्रेसले २४ हजार ६६४, एमालेले १५ हजार ३०१, राप्रपाले १ हजार २१८ र नेकपा एसले ९५० मत ल्याएको छ । त्यसैले पनि उनी सेफजोनमा देखिन्छन् ।

जनार्दन शर्मा

यता रुकुम पश्चिममा २०७४ सालको निर्वाचनमा एमालेसँगको समर्थनमा भारी मत ल्याएर विजयी उपमहासचिव जनार्दन शर्माको अहिले पनि पल्ला भारी छ । गत निर्वाचनमा शर्माले ३४ हजार ४०२ मत ल्याएका थिए । उनका प्रतिद्वन्द्वी कांग्रेसका गोपालजंग शाहले १५ हजार ६५९ मत ल्याएका थिए ।

गत वैशाखमा भएको स्थानीय निर्वाचनको मतअनुसार रूकुम पश्चिममा माओवादी पहिलो शक्ति हो । यहाँ माओवादीको ३७ हजार १०२, कांग्रेसको २६ हजार ६२०, एमालेको ६ हजार १२४, नेकपा एसको १३० र राप्रपाको १०८ मत छ ।

मातृका यादव

मातृका यादव धनुषा १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन् । २०७४ सालमा धनुषा १ बाट विजयी भएका उनी अहिले पनि जीतको खोजीमा छन् । उनले गत निर्वाचनमा फोरम नेपालका दीपक कार्कीलाई हराएका थिए ।

यसपटक पनि उनले एमाले–जसपा गठबनधनका दीपक कार्कीसँग नै प्रतिस्पर्धा गर्नुपर्ने छ । गत स्थानीय निर्वाचनको मतअनुसार यहाँ कांग्रेस पहिलो पार्टी हो । त्यसैले एमाले जसपाको गठबन्धनविरुद्ध जीत निकाल्न यादवलाई कांग्रेसको भर पर्नुपर्ने देखिएको छ ।

यहाँ कांग्रेसको १८ हजार ५१४, एमालेको १६ हजार ५८१, माओवादीको १२ हजार ३४३, जसपाको ९ हजार २०, लोसपाको ६ हजार ६२४, राप्रपाको ४ हजार ९४६, जनमत पार्टीको ३ हजार ३२०, नेकपा एसको २ हजार ९३७ मत रहेको छ ।

पम्फा भुसाल

ऊर्जामन्त्री समेत रहेकी माओवादी उपमहासचिव पम्फा भुसाल ललितपुर ३ बाट चुनाव लड्दैछिन् । उनलाई यहाँ जीत निकाल्न चुनौती देखिन्छ । उनीविरूद्ध एमालेले अमृत खड्कालाई उम्मेदवार बनाएको छ ।

एमालेका खड्का स्थानीयस्तरमा भिजेका नेता हुन् । त्यसमाथि माओवादीका सोही क्षेत्रका जिल्ला सहइन्चार्ज सरोज डंगोल हालै ललितपुर उपमहानगरको उपमेयरमा गठबन्धनबाट हारेका बाबुराजा बज्राचार्यसहित माओवादीको ठूलै टीम एमाले प्रवेश गरेकाले पनि पम्फालाई चुनौती थपिएको छ ।

स्थानीय तह निर्वाचनको मतअनुसार यहाँ कांग्रेस पहिलो पार्टी हो । उक्त क्षेत्रमा कांग्रेसको १८ हजार ५४५, एमालेको १७ हजार ७०९, माओवादीको ७ हजार ७२७, नेकपा एसको ५ हजार १२९ र राप्रपाको ४ हजार ३४२ मत छ । त्यसैले पम्फाले कांग्रेसको मतमै भर पर्नुपर्नेछ ।

चक्रपाणि खनाल

पूर्वमन्त्रीसमेत रहेका चक्रपाणि खनाललाई कांग्रेसको बागी उम्मेदवारको त्रास छ । २०७४ सालमा कपिलवस्तु १ बाट विजयी खनाल अहिले गठबन्धनको आडमा संसद छिने दाउमा छन् ।

उनीविरूद्ध एमालेले संविधानसभा सदस्य बलराम अधिकारीलाई मैदानमा उतारेको छ । तर, कांग्रेसबाटै प्रभावशाली नेता ललित गुरूङ गठबन्धनको बागी उम्मेदवार बनेकाले खनाललाई चुनौती बनेको छ ।

यहाँ कांग्रेस पहिलो पार्टी भए पनि बागी उम्मेदवार गुरूङले मत काट्नसक्ने आँकलन छ । त्यस्तो अवस्थामा एमालेलाई जसपाले सघाए खनाललाई झन् ठूलो चुनौती पर्नेछ ।

शक्ति बस्नेत

जाजरकोटबाट उम्मेदवार बनेका शक्ति बस्नेतले एमालेका निरज आचार्यसँग प्रतिस्पर्धा गर्दैछन् । २०७४ को निर्वाचनमा वाम गठबन्धनबाट विजयी बस्नेतलाई अहिले कांग्रेसकै भर देखिन्छ । गत निर्वाचनमा बस्नेत ३२ हजार २८१ मतसहित विजयी भएका थिए ।

उनका प्रतिद्वन्द्वी कांग्रेसका राजीवविक्रम शाहले २३ हजार २८९ मत ल्याएका थिए । तर, अहिले बस्नेतविरूद्ध २०७४ का सहयात्री एमालेका आचार्य चुनावी मैदानमा छन् । स्थानीय निर्वाचनमा वडाध्यक्षले पाएको मतअनुसार जाजरकोटमा एमाले पहिलो शक्तिका रुपमा अगाडी देखिएको छ ।

यस क्षेत्रमा एमालेको २४ हजार ४, कांग्रेसको २२ हजार ३४२, माओवादीको १८ हजार ६२२, नेकपा एसको २ हजार ३३४, राप्रपाको १३४ र जसपाको २४ मत रहेको छ । त्यसैले बस्नेतको जीत कांग्रेसमा निर्भर रहन्छ ।

देवेन्द्र पौडेल

शिक्षामन्त्री रहेका माओवादी सचिव देवेन्द्र पौडेल २०७४ को निर्वाचनमा बागलुङ २ बाट विजयी भएका थिए । एमालेसँगको समर्थनमा उनले कांग्रेस उम्मेदवार नरबहादुर पुन ‘निरज’ लाई ८ हजार ९२२ मतान्तरले हराएका थिए ।

कांग्रेसका पुनलाई हराएका मन्त्री पौडेल अहिले कांग्रेसकै आडमा चुनाव जित्ने तयारीमा छन् । उनीविरूद्ध एमालेले मञ्जु शर्मा चालिसेलाई मैदानमा उतारेको छ ।

यो क्षेत्रमा एमाले तुलनात्मक रुपमा कमजोर भएकाले देवेन्द्र ढुक्क छन् । तर, एमालेले उठाएकी उम्मेदवार मञ्जु गत स्थानीय चुनावमा गल्कोट नगरपालिकाको मेयरमा कांग्रेसबाट बागी उठेर एक्लै ३५ सय मत ल्याएकी लोकप्रिय महिला नेतृ हुन् ।

गत स्थानीय निर्वाचनमा वडाध्यक्षले पाएको मतअनुसार एमाले पहिलो शक्ति हो । एमालेको १९ हजार ३०, कांग्रेसको १७ हजार ७५१, माओवादीको ९ हजार ७५१, राजमोको ६ हजार ६७८, नेकपा एसको ३८८ मत रहेको छ ।

गिरिराजमणि पोखरेल

महोत्तरी १ बाट उम्मेदवार बनेका उपमहासचिव गिरिराजमणि पोखरेललाई यसपट जित निकाल्न सहज छैन । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका पोखरेलविरूद्ध एमाले–जसपा गठबन्धनले लक्ष्मी महतोलाई अगाडि सारेको छ ।

गत स्थानीय तह निर्वाचनको मतअनुसार माओवादी पहिलो शक्ति छ । तर, यहाँ बर्दिबासको मेयरमा कांग्रेसका बागीले जितेका थिए भने जसपाको मत एमालेतिर थपिँदा परिणाम उल्टिने खतरा पनि माओवादीले महसुस गरिरहेको छ ।

महोत्तरीमा माओवादीको १५ हजार ८८८, कांग्रेसको १३ हजार १४६, एमालेको ८ हजार ३४, जसपाको ७ हजार २३४, लोसपाको ७ हजार ६९, नेकपा एसको १ हजार ५०८ र राप्रपाको ४७८ मत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्