Logo
Logo

एमालेसँग सहकार्य गर्ने दललाई मात्र जनताले भोट दिन्छन् : ओली


378
Shares

धरान । चुनावी अभियानमा पूर्व दौडाहामा रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले र एमालेसँग सहकार्य गर्ने दललाई मात्र जनताले भोट दिने बताएका छन् ।

एमाले–जसपा संयुक्त कार्यकर्ता भेलालाई धरानमा आज सम्बोधन गर्दै उनले पार्टी निर्णयविरुद्ध उठेर स्वतन्त्र भएकालाई एमालेका मतदाताले भोट नदिने पनि प्रस्ट पारे ।

‘पार्टीले अन्तमा गएर समर्थन गर्छ कि भन्ने भ्रम नपाल्नु होला’, सुनसरी क्षेत्र नं १ मा एमालेबाट बागी उम्मेदवारी दिएका उम्मेदवारप्रति लक्षित गर्दै ओलीले भने, ‘समयमा काम गरभन्दा नगर्ने, समयमा उम्मेदवार हौ भन्दा नहुने अनि दिँदाखेरि नखाने राति उठेर कोल चाट्ने ?’

दलीय व्यवस्था, लोकतन्त्र र प्रजातन्त्रका विरुद्ध षड्यन्त्रस्वरूप स्वतन्त्र अभियान चलाइएको उनको भनाइ थियो ।

उनले यो अभियानलाई दलीय व्यवस्थाविरोधी अभियानका रूपमा परिभाषित गरे । ओलीले भने, ‘यस्तो अभियानको भ्रममा पर्नुहुँदैन, अहिले साथीहरू कोही भ्रममा नपर्नु होला, नेकपा एमाले एउटा अनुशासित पार्टी हो, राजनीतिक पार्टी हो ।’

ओलीले पार्टी कार्यकर्तालाई मतपेटिकाको रक्षा गर्न र मतदातालाई मतदान शिक्षा दिन निर्देशन पनि दिए । उनले एमाले छाडेर अशोक राईले सम्भावना समाप्त पारे पनि एमालेसँग मिलेपछि पुनःसम्भावना सुरु भएको बताए ।

एमाले–जसपा तालमेलबाट सुनसरी १ मा प्रतिनिधिसभाका उम्मेदवार बनेका राई एमालेमा हुँदा पटकपटक मन्त्री भएको उल्लेख गर्दै ओलीले एमालेसँग मिल्दा मात्रै पनि आगामी सम्भावना सुरु भएको बताए ।

उनले अशोक राईलाई विजयी बनाएर पठाए धरानको समग्र विकास हुने बताए । उनले मङ्सिर ४ पछि बन्ने एमालेको सरकारमा अशोक राई पुनःमन्त्री बन्ने सङ्केत पनि गरे ।

ओलीले धरानको खानेपानीको दिगो व्यवस्थापनका लागि तीनवटा अवसर रहेको बताए । कोसी नदीमा पम्पिङ गर्ने, तमोरबाट लिफ्टिङ गर्ने र मेलम्ची जस्तो भूमिगत सुरुङ निर्माण गरी खानेपानीको दिगो व्यवस्थापन गर्ने । ओलीले मङ्सिर ४ पछि सर्भे सुरु गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्