Logo
Logo

काठमाडौं-३ : एमालेलाई कांग्रेसको टक्कर


1.4k
Shares

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यतर्फ काठमाडौं–३ मा नेकपा एमालेका कृष्णबहादुर राई र नेपाली कांग्रेसका सन्तोष चालिसेबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

२०७४ को निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित भएका राईलाई यसपटक कांग्रेस उम्मदवार चालिसेले ठक्कर दिएका छन् । ०७४ को निर्वाचनमा राईले एमाले र माओवादीको गठबन्धनबाट उम्मेदवार थिए । राईले ४ हजार दुई सय ८५ मतान्तरले कांग्रेसका उम्मेदवार अम्बिका बस्नेतलाई पराजित गरेका थिए । त्यसबेला बस्नेतले १९ हजार एक सय ६९ मत पाएका थिए ।

तर, अहिले त्यो अवस्था छैन । यस पटक एमाले एक्लै लड्दै छ । ०७४ को प्रतिनिधिसभा सदस्य जित्दा माओवादीको साथ पाएका राईलाई गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको परिणामले तर्सिएका छन् ।

यस क्षेत्रमा अहिले नेकपा माओवादीका बद्रीप्रसाद बजगाईँले उम्मेदवारी दिएका छन् । यस क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि आठ र स्वतन्त्रसहित २३ उम्मेदवार प्रतिस्पर्धामा छन् । तर, मुख्य प्रतिस्पर्धा एमाले र कांग्रेसबीच हुँदैछ ।

यस क्षेत्रमा गठबन्धन नभएपनि कांग्रेस एक्लैले एमालेलाई चुनौती दिएको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा कांग्रेस र एमाले आ–आफ्नै दावी गर्दै आएका छन् ।

कांग्रेस उम्मेदवार चालिसे गोकर्णेश्वर नगरपालिकाका पूर्वप्रमुख हुन् । उनले आफू प्रमुख हुँदा विकास निर्माण र जनपक्षीय काम गरेकाले आफ्नो जित निश्चित रहेको दावी गर्दै आएका छन् । उनले विकास निर्माणसँग जोडिएका सडक, ढल र खानेपानीको निकासका लागि समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।

यस्तै, एमालेका उम्मेदवार राईले ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने एमालेकै नारा लिएर चुनावी मैदानमा छन् । एमालेको योजनाअनुसार गोकर्णेश्वरलाई सुविधा सम्पन्न नगरपालिका बनाएर जनताको जीवनस्तर उच्च बनाउने उनले प्रतिवद्धता जनाएका छन् ।

काठमाडौ–३ मा काठमाडौँ महानगरपालिका, गोकर्णेश्वर नगरपालिका र कागेश्वरी नगरपालिकाका गरी कुल १३ वडा समेटिएका छन् । तीमध्ये स्थानीय तह निर्वाचनमा काठमाडौँ वडा नं ६, गोकर्णेश्वर ५, ८, ९ र कागेश्वरीको २ नं वडामा कांग्रेस विजयी भएको थियो ।

यस्तै, गोकर्णेश्वरका १, २, ३, ६, ७, सोही क्षेत्रअन्तर्गत पर्ने कागेश्वरीको १ र ३ वडामा एमाले विजयी भएको थियो । यस क्षेत्रको गोकर्णेश्वर–४ वडामा स्वतन्त्र उम्मेदवार विजयी भएको थियो । कांग्रेसका वडाध्यक्षहरुले १५ हजार सात सय ९५ मत पाएका थिए भने एमाले वडाध्यक्षहरुले १४ हजार आठ सय ७६ मत प्राप्त गरेका थिए ।

उक्त क्षेत्रमा एमालेका राई, कांग्रेसका चालिसे, माओवादीका बजगाईँसँगै राप्रपाबाट गणेश गिरि, नेमकिपाबाट बिशोक डङ्गोल, राष्ट्रिय स्वतन्त्र पार्टीका दुर्गाविक्रम थापा क्षेत्रीलगायतका उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रतिक्रिया दिनुहोस्