Logo
Logo

कसलाई किन र कुन आधारमा भोट दिने ?


प्रा.डा. ऋषिकेश नारायण श्रेष्ठ

630
Shares

मंसिर ४ गते निर्वाचन हुँदैछ । पार्टीहरूको घोषणा पत्रको बाढी आएको र आश्वासनको पुलिन्दाले शहरदेखि गाउँ र बस्तीहरू रंगमय भएका छन् ।

मतदाता घोषणापत्र माथि गम्भीरतापूर्वक अध्ययन तथा छलफलमा जुटिराखेका छन् भने बुद्धिजीवी, विज्ञहरू घोषणापत्रको बुँदाहरू माथि तर्क वितर्क, टीकाटिप्पणी, सकारात्मक र नकारात्मक विश्लेषण गरी सामाजिक सञ्जालमा बहस गर्नुका साथै सञ्चार माध्यम मार्फत विचार, लेखहरू दिनहुँ प्रकाशन भइरहेका छन् । यही नै प्रजातन्त्रको सुन्दर पक्ष हो ।

अधिकांश जनतालाई घोषणापत्रमाथि विश्वास छैन । यसलाई पार्टीहरूले चुनाव अघि गर्नुपर्ने वाध्यात्मक प्रक्रिया हो भन्ने बुझेका छन् । अर्कोतिर राष्ट्रको ढुकुटीले थेग्नै नसक्ने खालका प्रतिबद्धताले गर्दा मतदाता घोषणापत्रमा लेखिएका कुराहरूमा विश्वस्त छैनन् ।

पार्टीभित्रका बुद्धिजीवीलाई पार्टीले जे प्रतिबद्धता गरेता पनि जनताले विश्वास गर्दैनन् भन्ने जानकारी नभएको होइन । तर अधिकांश पार्टी सदस्यहरू लेख्दैमा पुरा गर्नु पर्दैन भन्ने सोचबाट ग्रसित भएर पार्टीहरूले घोषणा पत्रमा बुँदा माथि बुँदा थप्ने होडबाजी चलिराखेको देखिन्छ ।

पार्टीहरूको घोषणापत्रमा उल्लेखित स्वास्थ्य, शिक्षा, खानेपानी, सडक निर्माण, धार्मिक, सांस्कृतिक धरोहर संरक्षण जस्ता दायित्व स्थानीय सरकारबाट नै पुरा हुने र अन्य बुँदाहरू मन्त्रालय तहमा विज्ञहरू सम्मिलित समितिले कार्ययोजना बनाई नयाँ सरकारले लागु गर्न सकिने खालका छन् ।

उदाहरणका लागि देशमा स्वास्थ्य चौकी, अस्पताल र निःशुल्क उपचार कसरी दिने, वृद्ध भत्ता कति र कुन उमेरलाई दिने, बिजुली कति युनिटसम्म सहुलियत दिने र शिक्षा कति तहसम्म निःशुल्क आदि ।

त्यसैले पार्टीहरूले घोषणापत्रमा हामी सरकारमा आएपछि प्रत्येक मन्त्रालय अन्तर्गत जनताले भोग्नु परेको समस्या र गुणस्तरीय सेवाको वृद्धिको लागि विज्ञहरू सम्मिलित समितिको सुझाव बमोजिम केही महिनाभित्रै कार्यान्वयन गरिनेछ भनिदिए पुग्यो । झिना मसिना कुराहरू संघीय चुनावको घोषणा पत्रमा लेखि रहनु पर्दैन ।

घोषणा पत्रमा उल्लेखित विकासका कामहरू पुरा नहुनुमा पार्टी र सरकार मात्र दोषी छैनन् । कानुनी जटिलताले गर्दा विकास रकम खर्च हुन सकिरहेको छैन भने ठेकेदारहरूलाई राजनीतिक संरक्षणले गर्दा समयमा काम सकिरहेका छैनन् । त्यसैले कानुनी जटिलता हटाइने र काम गर्ने वातावरण बनाइने, काम नगर्ने ठेकेदारलाई कानुनी दायरामा ल्याइने छ भनी घोषणापत्रमा देखिनुपर्यो ।

भोट कसलाई किन र कुन आधारमा दिने ?
विगतमा विभिन्न पार्टीबाट बनेको सरकारले गरेका कामकाज र अव बन्ने सरकारले के गर्ने भन्नेबारे तल उल्लेखित बुँदाहरू, पार्टीहरूले जारी गरेको संघीय चुनावको घोषणा पत्रमा समेटिएको छ कि छैन हेरेर भोट गर्ने ।

१. चाँडो भन्दा चाँडो, धेरै भन्दा धेरै विधेयक संसद्बाट पास भएमा विकासको ढोका खुल्दै जान्छ र जनताको समस्याहरू समाधान हुँदै जान्छन् । विगतमा संघीय संसद्बाट सांसदहरूले कतिवटा विधेयक र अध्यादेश पारित गरे, कुन पार्टीका सासंदहरुले संसद् चलेको बेला लगातार उपस्थित भई जनताको आवाजमा बोले त्यसको मूल्यांकन गरिनुपर्याे ।

२. छिटो न्याय पाएमा न्यायपालिकाप्रति जनताको विश्वास बढ्दै जान्छ र गणतन्त्र नेपालको जग मजबुत हुँदै जान्छ । त्यसैले न्यायपालिकालाई स्वतन्त्र राख्न र जनतालाई छिटो–छरितो न्याय दिन कुन पार्टीका नेता वा सरकारले सकारात्मक भूमिका खेले, न्याय परिषद्लाई स्वतन्त्र रूपले काम गर्न दियो वा दिएन, अदालतको निर्णयलाई कार्यान्वयन गर्यो वा गरेन त्यसमा मनन गरिनुपर्याे ।

३. कार्यपालिकाले कति नियम, विनियम, निर्देशिका, गठन आदेश र आयोग बनायो त्यसमध्ये कतिलाई कार्यान्वयनमा ल्यायो, सरकारले पार्टी र कार्यकर्ता माथि उठेर इमानदारीपूर्वक काम गरे नगरेको त्यसको मूल्याङ्कन गरिनु पर्यो ।

४. केही क्षेत्र, वर्ग मिडिया आतंकबाट त्रसित छन् र बेलाबेलामा मिडियाले न्यायालयको समेत काम गरिराखेको अवस्थामा सञ्चार माध्यमलाई अनुशासित एवं मर्यादित बनाउन जरुरी हुन्छ । विगतका कुन सरकार वा पार्टीले सञ्चारमाध्यमलाई भरपर्दो, विश्वसनीय र अनुशासित बनाउनमा के–कति भूमिका खेल्यो त्यसको लेखाजोखा खोजिनुपर्यो ।

५. संवैधानिक आयोगमा हाम्रो मान्छे नियुक्ति गरे वा राम्रा मान्छे गरे, ती नियुक्ति भएका व्यक्तिले राम्रा काम गरे वा गरेन, तिनको कामको जिम्मेवारी नियुक्ति गर्ने पार्टीका सरकारले लिए लिएनन् वा भविष्यमा पनि यस्ता नियुक्तिमा जिम्मेवार रहने वचनबद्धता घोषणा पत्रमा भए, नभएको हेर्नुपर्यो ।

६. अख्तियार, सम्पत्ति शुद्धीकरण र राष्ट्रिय सतर्कता केन्द्रले आफ्ना जिम्मेवारी निर्वाह गर्यो कि गरेन र यी निकायहरूलाई कसरी प्रभावकारी बनाउने भन्ने बारे घोषणा पत्रमा देखिनु पर्यो ।

७. राजदूतहरूको नियुक्ति राजनीतिक भागबन्डामा गरे वा सक्षमताको आधारमा, अब उप्रान्त कसरी गर्ने, घोषणा पत्रमा खोजिनु पर्यो ।

८. राष्ट्रिय सुरक्षाको लागि विगतमा के–कस्ता नीति अवलम्बन गर्यो, राष्ट्रको भूमि संरक्षण गर्न के–के प्रक्रिया अपनायो र राष्ट्रिय सुरक्षा परिषद्ले काम, कारबाही कस्तो गर्याे र अब कसरी अगाडि बढ्ने घोषणापत्रमा उल्लेखित भएको हुनुपर्यो ।

९. परराष्ट्र नीति बिग्रियो भने देश तहसनहस हुन्छ । त्यसैले अन्तर्राष्ट्रिय सम्बन्ध सुमधुर राख्न कस्ता परराष्ट्र नीति अवलम्बन गर्ने हो प्रष्ट रूपमा घोषणापत्रमा भए–नभएको थाहा पाउनु पर्यो ।
१०. विदेशी मुद्राको श्रोतको रूपमा रहेको पर्यटन क्षेत्रको विकासको निम्ति योजना बद्ध कार्यक्रम घोषणा पत्रमा छ कि छैन बुझ्नु प¥यो ।

११. विगतमा कुनै पार्टीको सरकारले कतिलाई रोजगारी दियो, अब कति जनालाई कहाँ र कसरी रोजगारी दिने भरपर्दो योजना घोषण पत्रमा खोजिनु पर्यो ।

१२. विगतमा कुन पार्टीको सरकारको समयमा बन्द भएका उद्योग र नयाँ उद्योग खुले वा खोल्ने प्रयास गरिए । आउँदा दिनहरूमा ती उद्योगहरू कसरी र कहाँ सञ्चालनमा ल्याउने र निजी क्षेत्रलाई उद्योग खोल्न कसरी प्रोत्साहन गर्ने भन्ने बारे प्रतिबद्धता पत्रमा पढ्नु पर्यो ।

१३. देशको आर्थिक श्रोतको मेरुदण्ड बनेको वैदेशिक रोजगारीमा जानेहरूका लागि सुरक्षाको प्रत्याभूति र उनीहरूको समस्या समाधान कसरी गर्ने घोषणा पत्रमा देखिनु पर्यो ।

१४. सरकारी कार्यालयमा विभिन्न पार्टीहरूको भातृ संगठनहरुको हैकमवादलाई अनुशासित मर्यादित बनाई कसरी जनताको हितमा प्रयोग गर्ने भन्ने संकल्प पत्रमा उल्लेख भएको हुनुपर्याे ।

१५. संसद् बन्द, नेपाल बन्द, क्षेत्र बन्द, जिल्ला बन्द गर्ने छैन भन्ने प्रतिबद्धता पत्रमा देखिनुपर्यो ।

१६. देशको सुरक्षासँग सम्बन्धित, जहाँ उच्च मनोबलका साथ काम गर्नुपर्छ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत जवानहरूको प्रक्रियागत बढुवा, पद उन्नति र शान्ति सेनामा जानेलाई विवाद रहित र नियम सङ्गत बनाउने कुरा घोषणा पत्रमा प्रष्ट हेर्नुपर्यो ।

१७. नेपाल सरकारका राष्ट्रसेवकहरू जस्तै मुख्य सचिव, सचिव र सहसचिवहरू लगायतका कर्मचारीहरूको बढुवा नियमसंगत गर्यो गरेन, अव सुधार गर्ने संकल्पपत्रमा राखिएको छ कि छैन ।

१८. विगतमा हरेक क्षेत्रमा हुने गरेको पार्टीहरूबीच पदको भागबण्डा हटाई सक्षम विज्ञहरूलाई नियुक्ति गर्ने प्रतिबद्धता घोषणा पत्रमा खोजिनु पर्याे ।

१९. पार्टीहरूको घोषणा पत्र हेर्दा योजना आयोगको योजनालाई पूर्ण रूपमा बेवास्ता गरिएको देखिन्छ । त्यसैले योजना आयोगले तयार पारेको विकासका योजनाहरूलाई अगाडि बढाउने र योजना आयोगलाई अझ प्रभावकारी र राम्रो बनाउने प्रतिबद्धता घोषणापत्रमा छ कि छैन हेर्नु पर्यो ।

२०. विश्वव्यापी जलवायु परिवर्तन र वातावरण संरक्षण, काठमाडौँ उपत्यकाको ट्राफिक जाम र प्रदूषण घटाउन के–कस्ता योजनाहरू छन् घोषणा पत्रमा हेर्नु पर्यो ।

२१. यी माथि उल्लेखित बुँदाहरू पूरा गर्न ठुलो धनराशि खर्च गर्नुपर्दैन । विकास भनेको केही पुल, केही माइल सडक बनाउने, केही हजार धारा जडान गर्ने, अस्पताल बनाउने र निःशुल्क गर्ने आदि मात्र होइन । विकासको परिभाषा– संविधान संशोधन कति पटक भयो, संसद्बाट विधेयकहरु कति पारित भयो; ऐन, नियमन, विनियम, निर्देशिका, गठन आदेश कति जारी भयो, कति पटक संशोधन वा परिमार्जन भयो, कति कार्यान्वयनमा आयो; न्यायालयबाट कति आदेश जारी भयो र अख्तियार, सम्पत्ति शुद्धीकरण विभाग, राष्ट्रिय सतर्कता केन्द्र र अनुगमन टोलीहरूले कतिलाई कारबाहीको दायरामा ल्यायो । यिनै विकास र प्रजातन्त्रका खम्बाहरू हुन । त्यसैले यी सबै मनन गरी, अध्ययन गरी भोट गरौँ ।

अहिले देश व्यापीरूपमा चुनावी सभा सञ्चालन भइरहेको छ । चुनावी सभालाई गालीसभा र प्रतिबद्धताका भाषणलाई अर्थहीन चिच्याहट मात्र बनाउँदा जनताका सामु नेताहरूको उचाइ कम हुन सक्दछ । यदि बोल्ने शब्द र बाचा छैन भने माथि उल्लेखित बुँदाहरू पार्टीहरूका घोषणा पत्रमा समेट्न छुटेका छन् भने चुनावी सभा मार्फत नेताहरूले जनतालाई आश्वस्त पार्न सकिन्छ ।

प्राय पार्टीहरूको घोषणापत्रमा– गरिनेछ, लक्ष राखेका छौँ, उपलब्ध गराउनेछौँ आदि शब्दहरूको प्रयोग गरिएका हुन्छन् । यी प्रतिबद्धताहरु कता, कसरी, कुन आर्थिक स्रोतबाट पुरा गर्ने हो भरपर्दो आधार नेताहरूले चुनावी सभा मार्फत जनतालाई जानकारी दिन जरुरी देखिन्छ ।

अब बन्ने सरकारले इमान्दारिपूर्वक इच्छा शक्तिले काम गर्न सकेमा समुन्नत र समृद्ध नेपालको परिकल्पना पुरा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्