Logo
Logo

पीएम कपको उपाधि एपीएफलाई


756
Shares

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई चार विकेटले हराउँदै एपीएफले उपाधि चुमेको हो ।

जितसँगै एपीएफले १० लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता आर्मीले पाँच लाख प्राप्त गर्‍यो । टस जितेर एपीएफले फिल्डिङ राजेपछि आर्मी क्लबले ब्याटिङ गर्ने क्रममा निर्धारित ४० ओभरको खेलमा ३० ओभरमा सवै विकेट गुमाएर एक सय ७९ रन बनायो ।

एक सय ८० रनको विजयी लक्ष्य एपीएफले ३८ दशमलव तीन ओभरमा छ विकेट गुमाएर पूरा गर्‍यो । एपीएफका लागि भूवन कार्कीले ५५ रन बनाए । उनले ८२ बल खेल्ने क्रममा एक छक्का र चार चौका हाने । यस्तै सुमित महर्जनले ३४ रन बनाए । उनले ४५ बल खेल्ने क्रममा पाँच चौका प्रहार गरे ।

यस्तै कप्तान शरद् भेषवाकरले अविजित १६, प्रदीप ऐरीले २०, सन्दीप जोराले १७ र आशिफ शेखले १४ रनको योगदान दिए । बलिङतर्फ आर्मी क्लबका जितेन्द्र मुखियाले दुई, सोमपाल कामी, विक्रम सोब र सुशन भारीले एक/एक विकेट लिए । यसअघि एपीएफलाई एक सय ८० रनको लक्ष्य दिने क्रममा आर्मी क्लबका लागि रोहितकुमार पौडेलले ४९ बनाए ।

यस्तै जितेन्द्र मुखियाले अविजित २४, सुशन भारीले १९, राजेश पुलामीले १८, कुशल मल्लले १६, हरि चौहानले १५, अर्जुन साउदले १३ र कप्तान विनोद भण्डारीले ११ रन बनाए । बलिङतर्फ आर्मीका अमर रौटेला र मौसम ढकालले तीन/तीन तथा किशोर महतोले दुई विकेट लिए ।

यसअघि आर्मी क्लवले शुक्रबार नेपाल पुलिस क्लवलाई दुई विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको थियो । एपीएफ क्लबले भने बिहीबार मधेस प्रदेशलाई हराउँदै फाइनलको यात्रा तय गरेको थियो ।

प्रधानमन्त्री कप क्रिकेटमा आर्मी पाँचौँ पटक तथा एपीएफ तेस्रो पटक फाइनल खेल्न पुगेको हो । प्रतियोगितामा सात प्रदेशका साथै तीन विभागीय टोली सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्