Logo
Logo

प्रचण्डमाथि ओलीको टिप्पणी- जसलाई पनि मन्त्री बनाउँछु भन्दै हिँडेका छन्


693
Shares

कालिकोट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले एउटा साझा घोषणापत्रसमेत बनाउन नसकेको टिप्पणी गरेका छन् ।

आइतबार कालिकोटमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै ओलीले यस्तो आरोप लगाएका हुन् । उनले गठबन्धनको कुनै भिजन र मिसन नै नभएको समेत बताए । उनले भने, ‘गठबन्धनको एउटा साझा घोषणापत्र छैन । गठबन्धन भनेको छ, सबैको आ–आफ्नै छ । कुन घोषणा पत्र लागु हुन्छ ?’ ओलीले ‘गठबन्धनले जनता अल्मल्याउने काम मात्र गरेको आरोप लगाए ।

कार्यक्रममा बोल्दै ओलीले माओवादी अध्यक्ष प्रचण्डले जसलाई पनि मन्त्री बनाउँछु भन्दै हिँडेको आरोप लगाए । प्रचण्डलाई लक्षित गर्दै ओलीले भने, ‘कतिजना मानिसहरू जहाँ पुग्यो त्यहीँको मानिसलाई मन्त्री बनाउँछु भनिरहेका छन् । हरिबहादुर भेटियो उसलाई मन्त्री बनाउँछु । रामबहादुर भेटियो उसलाई मन्त्री बनाउँछु । शान्तिदेवी देखियो मन्त्री बनाउँछु, क्रान्तिदेवी देखियो मन्त्री बनाउँछु । यस्तो खालको अव्यवहारिक र अनुचित तरिका हो ।’

उनले दुर्गम ठाउँबाट जिताएका व्यक्तिलाई मन्त्री बनाउने स्वभाविक भएको ओलीले बताए । ‘मैले मन्त्री दिन्छु भन्ने झुट कुरा हो । जहाँको भाषण पनि मन्त्री बनाउँछु भन्ने मैले सुने । जहाँका पनि मन्त्री बनाउँछु भन्ने ? १६५ जना मन्त्री बनाउने ?’

उनले एमालेविरुद्ध विरोधीहरूले गलत प्रचार भइरहेको समेत बताए । उनले आगामी निर्वाचनले देशलाई कता लाने भन्ने फैसला गर्ने बताउँदै गठबन्धनको सरकार फुटेको हाँडीजस्तो भएको टिप्पणी गरे ।

ओलीले भने, ‘हामीले ज्येष्ठ नागरिकलाई सम्झिएर वृद्धभत्ता बाँड्यौँ । विरोधीहरू आत्तिए । उनीहरूले भ्रम फैलाइरहेका थिए । हामीलाई गाली गरिरहेका थिए । ६० वर्षमाथिकालाई गोली हानेर मार्छ भन्ने भ्रम फैलाइएको थियो । तर, हामीले घरघरमा पैसा पु¥याउने काम गरेपछि आत्तिए । महिनाको सय रूपैयाँबाट सुरू गरेको भत्ता अहिले ४ हजार पु¥याएका छौँ ।’

सडकमा फालिएका बालकालिकसमेत एमालेले संरक्षण गरेको बताए । पूर्व–पश्चिम राजमार्ग र रेल निर्माण सुरू गरेको उनले उल्लेख गरे । ‘भारतसँग मात्रै निर्भर थियो हाम्रो देश । चीनतिरबाट पनि बाटो खोलेर यातायात र पारवहन सम्झौता गरेपछि नाकाबन्दी लाग्नै नसक्ने अवस्थामा देशलाई पु¥याएपछि विपक्षीहरु झन् आत्तिए’ ओलीले भने ।

प्रतिक्रिया दिनुहोस्