Logo
Logo
निर्वाचन संवाद

 प्रलोभन बाँड्दिन, जनताको सुझाव लिएर काम गर्छु- जोखबहादुर महरा


2.5k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य जोखबहादुर महरा रोल्पा–१ को प्रदेशसभा–१ बाट प्रदेशसभा सदस्यका उम्मेदवार छन् । वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार महरा आफ्नो जित सुनिश्चित रहेको दाबी गर्छन् । गठबन्धनका सहकर्मीसहित चुनावी अभियानमा जनताको घरदैलो पुग्दा जनताले सकारात्मक प्रतिक्रिया दिएको बताउने महरा अत्यधिक मतका साथ निर्वाचित हुने विश्वास व्यक्त गर्छन् । प्रस्तुत छ, महरासँग गरिएको छोटो कुराकानी ।

चुनावी गतिविधि कसरी अगाडि बढाइरहनुभएको छ ?
हामी जनताको घरदैलोमा गइरहेका छौं । भेटघाट, छलफल, अन्तरक्रिया गर्दै स्थानीय जनताका समस्या, आवश्यकता र गुनासो सुन्ने काम पनि भइरहेको छ । चुनाव प्रचार प्रसार, मतदाता शिक्षा र गठबन्धनका पक्षमा चुनावी माहोल बनाउने काम भइरहेको छ । गठबन्धन बनेपछि जनतामा उत्साह देखिएको छ । म पहिलो पटक जिल्लाबाट निर्वाचनमा होमिएको छु, त्यसले गर्दा जनता खुशी भएका छन् । हाम्रो प्रदेशसभा निर्वाचन क्षेत्रको केन्द्रीकृत कार्यक्रम गरिरहेका छौं ।

तपाईंको क्षेत्रमा के कस्ता समस्या देख्नुभएको छ ?
खासगरी यस क्षेत्रमा पूर्वाधार विकासका लागि नयाँ मोडलसहित एकीकृत ढंगले अगाडि बढ्न जरुरी छ । कृषिमा आधुनिकीकरण र व्यावसायीकरण, रोजगारी सृजना गर्ने, पर्यटन प्रवद्र्धन, शिक्षा, स्वास्थ्यमा आमूल सुधार गर्न जरुरी छ । यी समस्याहरु मैले नजिकबाट देखेको छु । भोगेको पनि छु । त्यसैले म निर्वाचित भएमा प्राथमिकताका आधारमा यी समस्याहरुलाई समाधान गर्न विशेष पहल गर्नेछु ।

तपाईंका चुनावी एजेन्डा के–के हुन् ?
मैले जनतासामु के भनेको छु भने पहिले निर्वाचन जिताउनु पर्याे, त्यसका लागि मलाई ठूलो चुनौती केही छैन, जनताको साथ छ । जब चुनाव जितिन्छ तब भने ठूलो चुनौती खडा हुनेछ, त्यो चुनौती पूरा गर्नका निम्ति तपाईंहरुकै सर–सहयोगबाट यहाँ देखिएका सम्पूर्ण समस्या हल गर्न सकिनेछ । तपाईंहरु नै मुख्य मान्छे भएकाले नेतृत्व मात्रै हामीले गर्ने हो । तपाईंहरुकै सुझाव र सल्लाह बमोजिम तपार्इंहरुकै सहभागितामा यहाँका समस्या हल गरिने छ भनेर एकमुष्ट रुपमा भनिएको छ । जसरी अन्य उम्मेदवारहरुले फलानो ठाउँमा यो गर्दिन्छु, त्यो गर्दिन्छु भन्दै प्रलोभन देखाइरहेका छन्, म त्यो बाटोमा छैन । जनता भनेका मालिक हुन्, हामी सेवक ! त्यसैले उहाँहरुकै सहभागितामा, उहाँहरुकै सुझाव, सल्लाह अनुसार हामीले काम गर्ने हो । म पनि त्यही गर्नेछु ।

तपाईंले चुनाव जित्ने आधार के–के हुन् ?
मैले यसपटक चुनाव जित्ने आधारहरु प्रशस्तै छन् । स्थानीय तहको निर्वाचनमा यस क्षेत्रमा ३५ वडामध्ये सात वडाबाहेक सबै गाउँपालिकामा माओवादी केन्द्रले नै जितेको हो । स्थानीय तहको निर्वाचनमा म यस क्षेत्रमा खटिएको थिएँ । दोस्रो कुरा, मुख्यतः कांग्रेस, एकीकृत समाजवादी, राजमो लगायतसँग हाम्रो गठबन्धन छ । नेपाली कांग्रेसका नेता, कार्यकर्ता र पार्टीसम्बद्ध जनतासमेत मेरो पक्षमा उभिनुभएको छ । यसले गर्दा पनि अत्यधिक मतले विजयी हुने सम्भावना देखिन्छ ।

मतदाताबाट कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?
मतदाताले हामीप्रति निकै विश्वास गर्नुभएको छ । घरदैलोमा जाँदा उहाँहरुले हामीलाई खुलेर स्वागत गर्नुहुन्छ । विकास निर्माणका लागि हामीलाई अभिभावक सम्झेको बताउनु हुन्छ । हामीले जनतासँग प्रत्यक्ष भलाकुसारी गरिरहँदा उहाँहरुले समस्या बताउनु हुन्छ । मैले चुनावी अभियानमा एकोहोरो भाषण गर्ने गरेको छैन । जनतामाझ जाने, दोहोरो संवाद गर्ने, छलफल गर्ने, उहाँहरुका धारणा, समस्या सुन्ने र त्यसलाई सम्बोधन कसरी गर्न सकिन्छ भनेर समाधानको बाटो देखाउने गरेको छु । हामीले अभियानमा पनि घर–घर जानुभन्दा टोलका मानिसलाई जम्मा गर्ने र उहाँहरुका कुरा सुन्ने र त्यसलाई सम्बोधन गर्दै अगाडि बढ्ने गरेका छौं ।

आम मतदातालाई के भन्न चाहनु हुन्छ ?
यतिबेला ठूलो प्रतिक्रान्तिबाट गठबन्धनले देशलाई बचाएको छ । अझै पनि जनताको मत, अभिमतले प्रतिक्रान्तिकारी र प्रतिगामी शक्तिहरुलाई परास्त गर्ने छ भने मुलुक, राष्ट्र र संविधानको रक्षा गर्दै अगाडि जानेछ । त्यसैले आम मतदाताहरुको अमूल्य मतका कारण धेरै स्थानीय सरकार गठबन्धनको बनेको छ भने अब संघीय सरकार र प्रदेश सरकारका लागि पनि गठबन्धनलाई अमूल्य मत दिएर बहुमतसहित विजयी गराउनु हुन हार्दिक अपिल गर्दछु ।

प्रतिक्रिया दिनुहोस्