Logo
Logo

धनुषा–१ : मातृका र दीपकबीच प्रतिस्पर्धा


1.6k
Shares

धनुषा । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा धनुषाको क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का मातृकाप्रसाद यादव र एमाले–जसपा गठबन्धनबाट जसपाका दीपक कार्कीबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । दुबै जना २०७४ सालको चुनावमा पनि मुख्य प्रतिस्पर्धी रहेका थिए । 

त्यति बेला यस क्षेत्रबाट यादव निर्वाचित भएका थिए । उनी अघिल्लो निर्वाचनमा एमाले र माओवादी केन्द्रको तर्फबाट उम्मेदवारी दिएर २६ हजार चार सय १८ मत ल्याएर निर्वाचित भएका थिए । प्रतिद्वन्द्वी तत्कालीन संघीय समाजवादी फोरम नेपालका उम्मेदवार कार्कीले १७ हजार दुई सय ९६ मत ल्याएर दोस्रो भएका थिए । नेपाली कांग्रेसका आनन्दप्रसाद ढङ्गाना १५ हजार छ सय ७९ मत ल्याएर तेस्रो भएका थिए ।

अघिल्लो निर्वाचनमा एमालेको साथ पाएका यादवले यसपाली कांग्रेसको साथ पाएका छन् । जसपाका उम्मेदवार कार्कीलाई एमालेको साथ छ । यसपाली यस क्षेत्रमा त्रिपक्षीय प्रतिस्पर्धामा सिके राउत नेतृत्वको जनमत पार्टीबाट किशोरी साह थपिएका छन् । उनी यसै क्षेत्रको प्रदेशसभा (क) बाट प्रत्यक्ष निर्वाचित निवर्तमान सदस्य हुन् । एमाले-जसपाले गरेको चुनावी तालमेलमा किशोरी निर्वाचित भएको क्षेत्र जसपाको भागमा परेपछि असन्तुष्ट भएर जनमत पार्टीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका थिए ।

यस्तो छ चुनावी अंकगणित

धनुषा–१ मा सत्ता गठबन्धनका मातृका यादव, विपक्षी गठबन्धनका दीपक कार्कीसहित जनमत पार्टीका किशोरी साह, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का मनोज मल्ल ठकुरी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका लक्ष्मण महतो सुडी, नेपाल सद्भावना पार्टीबाट राजदेव महतो, सामाजिक एकता पार्टीका केशर मुखिया, नेपाल स्वतन्त्र पार्टीका धर्मेन्द्रकुमार रायलगायत २५ उम्मेदवार छन् । यीमध्ये किशोरी साह उम्मेदवारी दर्ताको दिन एमाले छाडेर जनमत पार्टीबाट उम्मेदवार बनेका हुन् । अघिल्लो पटक उनी धनुषा–१ (क) बाट प्रदेशसभा सदस्यमा विजयी भएका थिए ।

धनुषा निर्वाचन क्षेत्र–१ मा सात स्थानीय तह छन् । यो क्षेत्रमा सबैला, गणेशमान चारनाथ र धनुषाधाम नगरपालिका पूर्णरूपमा पर्छन् । यस्तै हंसपुर नगरपालिकाका २, ३, ५, ७ र ८ वडा, मिथिला विहारी नगरपालिकाका १, ३, ४ र ५ वडा, क्षीरेश्वरनाथ नगरपालिकाका ८ र ९ वडा तथा मिथिला नगरपालिकाको ४ नं वडा गरी ४५ वडा यो निर्वाचन क्षेत्रमा पर्छन् ।

गत वैशाखको स्थानीय तह निर्वाचनमा कांग्रेसले जितेको गणेशमान चारनाथ नगरपालिका–११ वटा, धनुषाधाम नगरपालिका–९ वटा, हंसपुर नगरपालिका–५ वटा, मिथिला बिहारी नगरपालिका–४ वटा र  मिथिला नगरपालिका–१ वटा वडा पर्छ । त्यस्तै माओवादी केन्द्रले जितेको सबैला नगरपालिका–१३ वटा र एमालेले जितेको क्षीरेश्वरनाथ नगरपालिकाको एउटा वडा पर्छ । 

स्थानीय तहमा निर्वाचित वडाध्यक्षका उम्मेदवारले पाएको दलगत मतमा कांग्रेस अगाडि छ । कांग्रेसले १७ हजार पाँच सय ५०, एमालेले १५ हजार आठ सय १७, माओवादी केन्द्रले १२ हजार दुई सय ९२ र जसपाले नौ हजार १० मत पाएको थियो ।

त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले छ हजार छ सय २४, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चार हजार ९३०, जनमत पार्टीले तीन  हजार तीन सय २० र नेकपा (एकीकृत समाजवादी)ले दुई हजार नौ सय ३७ पाएको थियो ।  यस क्षेत्रमा स्वतन्त्र उम्मेदवारले तीन हजार तीन सय २४ मत पाएका थिए । पाँच दलीय सत्ता गठबन्धनका वडाअध्यक्षले पाएको मत जोड्दा ३९ हजार चार सय तीन हुन्छ भने एमाले र जसपा गठबन्धनको मत २४ हजार हुन जान्छ । एमालेका  किशोरी साह विद्रोह गरेर जनमत पार्टीको उम्मेदवार बनेका छन् । त्यसको चुनावी असर भने एमालेलाई नभएर कार्कीलाई पर्ने देखिन्छ ।

यी तथ्यहरूले धनुषा–१ मा कार्कीले बढी मेहनत गर्नुपर्ने देखिन्छ । समाजसेवामा सक्रिय रहेकाले चुनाव आफूले जित्ने कार्कीको दाबी छ । दल बदलेर प्रदेशबाट प्रतिनिधिसभामा फड्को मार्ने आकांक्षा राखेका साह आफू विजयी हुने दाबी गर्छन् । 

‘एमालेमा छँदा पार्टीको मतदाताभन्दा धेरै मत मलाई परेको थियो’, उनले भने, ‘यो मेरो व्यक्तित्व र समाजमा गरेको निस्वार्थ सेवाको कारणले हो ।’ अघिल्लो चुनावमा निकटतम प्रतिद्वन्द्वी बनेको तथा यसपटक एमालेको साथले जित्ने दाबी गर्छन् जसपा उम्मेदवार कार्की । पाँच दलीय गठबन्धनको उम्मेदवार, पार्टीको बलियो पक्कड र पाँच वर्षमा गरेका विकासका कामले आफू विजयी हुने यादवको दाबी छ । 

प्रतिक्रिया दिनुहोस्