Logo
Logo

जित्ने हार्ने टुङ्गो छैन, प्रधानमन्त्री आकांक्षीको लस्कर


8.1k
Shares

काठमाडौं । मंसिर ४ गते आमनिर्वाचन हुँदैछ । उक्त निर्वाचनको परिणामले आगामी सरकारको नेतृत्व कुन दल वा गठबन्धनले गर्ने भन्ने टुङ्गो लगाउने छ ।

मंसिर ४ गते एकै चरणमा संघ र प्रदेशका प्रतिनिधिका लागि मतदान हुने भएकाले दुबै तहको भावी सरकारको टुङ्गो सोही मतदानको परिणाममा निर्भर हुनेछ ।

निर्वाचनको पूर्वसन्ध्यामा भावी सरकार र उक्त सरकारको नेतृत्वको सन्दर्भमा पनि चर्चाहरु सुरु भएका छन् । आसन्न निर्वाचनबाट प्राप्त मतकै आधारमा सरकार गठन हुने भएकाले यस विषयलाई अनर्थ मान्न सकिन्न ।

आसन्न निर्वाचनका लागि मुख्य दुई शक्ति चुनावी मैदानमा देखिएका छन् । सत्तारुढ दलको गठबन्धन बन्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका केही दल मिलेर अर्को गठबन्धन बनेको छ ।

यस आधारमा यी दुई शक्ति मध्ये एकले आगामी सरकार गठन गर्ने पक्का हो । ‘राजनीतिमा सबै सम्भव छ’ भन्ने भाष्य र विगतका अभ्यासहरुलाई आधार मान्ने हो भने निर्वाचनपछि सत्ता सञ्चालका लागि फरक अभ्यास पनि हुन सक्छ । त्यस्तो अवस्थामा जे पनि हुनसक्छ ।

यसरी हेर्दा आगामी सरकार र प्रधानमन्त्रीबारे स्पष्ट नक्सा देखिन्न । तर, प्रधानमन्त्रीका रुपमा केहीलाई चर्चामा ल्याइएका छन् भने केही प्रवल दाबेदारी प्रस्तुत गरिरहेका छन् ।

छैटौं इनिङको तयारीमा शेरबहादुर देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा पुनः प्रधानमन्त्री बन्न चाहन्छन् । प्रधानमन्त्रीको छैटौं इनिङका लागि तयार देउवा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा गर्दैछन् ।

देउवा आफैले अहिलेसम्म भावी प्रधानमन्त्रीको रुपमा बोलेका छैनन् । उनलाई निर्वाचनपछि बन्ने सरकारको प्रधानमन्त्री तपाई नै हो ? भनेर कसैले सार्वजनिक रुपमा सोधेका पनि छैनन् । तर, कांग्रेस भित्रकै ठूलो समूहले देउवालाई नै प्रधानमन्त्रीको रुपमा अघि सारेको छ ।

वर्तमान सत्ता गठबन्धनका आधारमा सबैभन्दा ठूलो दल बन्ने र त्यसैको आधारमा आफू प्रधानमन्त्री बन्न सक्ने देउवाको आँकलन हो ।

निर्वाचन अघि नै भावी प्रधानमन्त्रीको रुपमा देउवाको नाम चर्चामा छ । कांग्रेसले सोचेको र चाहेको जस्तै पहिलो पार्टी बनेको खण्डमा देउवा पुनः प्रधानमन्त्री बन्ने सम्भावना रहन्छ ।

प्रचण्डले आइलागे नछोड्ने

नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरिएको छ । गठबन्धन भित्रकै नेताहरुले पनि प्रचण्डलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरिसकेका छन् ।

निर्वाचनकै सन्दर्भमा आयोजित एक सभामा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ‘वर्तमान प्रधानमन्त्री र भावी प्रधानमन्त्री यही हुनुहुन्छ’ भन्दै प्रचण्डलाई भावी प्रधानमन्त्रीको रुपमा सार्वजनिक रुपमै संकेत गरिसकेका छन् ।

प्रचण्डलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरिए पनि सहज भने छैन । हालसम्मको आम आँकलन र प्रचण्ड स्वयमको प्रक्षेपणमा माओवादी तेस्रो शक्ति मात्र बन्ने छ । तेस्रो शक्तिले प्रधानमन्त्री पाउने सम्भावना कम हुन्छ ।

कांग्रेस पहिलो शक्ति हुने र तेस्रो शक्तिलाई प्रधानमन्त्री छोड्न तयार भए वा वर्तमान भन्दा फरक गठबन्धन बन्ने अवस्थामा भने प्रचण्ड प्रधानमन्त्री बन्न सक्छन् ।

प्रचण्ड गोरखा–२ बाट प्रतिनिधिसभा सदस्याका लागि प्रतिस्पर्धामा छन् । प्रचण्डलाई निर्वाचन जित्न खासै अप्ठ्यारो देखिन्न । तर, प्रधानमन्त्रीको बाटो भने सहज छैन ।

केपीको तीव्र चाहना, कम सम्भावना

भावी प्रधामन्त्रीका रुपमा तीव्र चाहना राख्ने मध्येका एक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हुन् । ओली आफैले पनि ‘पुनः एकपटक देशको नेतृत्व गर्न चाहन्छु’ भनिसकेका छन् ।

ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा एमाले पंक्तिले व्यापक प्रचार गरेको छ । तर, ओलीलाई पनि प्रधानमन्त्री बन्न सहज देखिन्न । ओली प्रधानमन्त्री बन्नका लागि पहिलो शर्त एमाले सबैभन्दा ठूलो दल बन्नु पर्छ ।

एमाले पहिलो दल बनेको खण्डमा कुनै तेस्रो शक्तिसँग मिलेर सरकार बनाउन सक्छन् र ओली प्रधानमन्त्री बन्न सक्छन् । तर, वर्तमान शक्ति सन्तुलनलाई आधार मान्दा एमाले सबैभन्दा ठूलो दल बन्ने सम्भावना कम छ ।

वर्तमान सत्ता गठबन्धनको बलमा कांग्रेस पहिलो दल बन्ने अवस्थामा एमाले दोस्रो दलमा सीमित हुनुपर्छ । त्यस्तो अवस्थामा एमालेको नेतृत्वमा सरकार बन्ने र त्यो सरकारको नेतृत्व ओलीले गर्ने सम्भावना कम हुन्छ ।

यदि, वर्तमान गठबन्धनमा खटपट हुनु र एमाले–माओवादी पुनः मिल्ने अवस्थामा ओलीका लागि सम्भावना रहन्छ । त्यसमा पनि तेस्रो शक्ति नै निर्णायक हुने भएकाले ओलीलाई सहज छैन ।

झापा–५ बाट चुनावी मैदानमा रहेका ओलीलाई पनि निर्वाचन जित्न असहज देखिन्न । तर, सहजै निर्वाचन जिते पनि प्रधानमन्त्री बन्न चाहिँ सहज देखिन्न ।

प्रधानमन्त्रीको इच्छा पूरा गर्न चाहन्छन् रामचन्द्र पौडेल

प्रधानमन्त्रीका अति आकांक्षी मध्येका एक हुन, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल । तर, रामचन्द्रलाई पनि सहज छैन ।

प्रधानमन्त्रीको सन्दर्भमा रामचन्द्रसँग नमिठो अतीत छ । उनी प्रचण्डसँग १७ पटक प्रधानमन्त्रीको प्रतिस्पर्धामा पराजित भएका हुन् । कांग्रेसले जित्नै नसक्ने अवस्थामा रामचन्द्रलाई प्रधानमन्त्रीको उम्मेदवार बनाइएको थियो ।

कांग्रेसको १४औं महाधिवेशनबाट सभापति निर्वाचित हुँदै प्रधानमन्त्रीको बाटो सोझ्याउने रामचन्द्रको योजना सफल भएन । सभापति निर्वाचित हुन नसकेका रामचन्द्रले सभापतिका लागि देउवालाई समर्थन गरेर आशा बाँकी राखेका छन् ।

सभापतिमा सहयोग गरेका कारण प्रधानमन्त्रीका लागि देउवाले सहयोग गर्ने रामचन्द्रको आशा हो । तर, त्यो आशाले रामचन्द्रमा थप निराशा पैदा गर्नसक्छ ! किनकी, आगामी संसदीय दलमा पनि रामचन्द्र समूहको उपस्थिति खासै बलियो हुने देखिन्न ।

रामचन्द्र तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । केही अप्ठ्याराहरु व्यवस्थापन गर्दै निर्वाचित हुनसक्लान् तर प्रधामन्त्रीको यात्रामा देखिएका असहजताहरु व्यवस्थापन गर्न उनलाई सहज देखिन्न ।

प्रधानमन्त्री भएर रिटायर्ड हुने गगनको चाहना

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यसअघि नै आफू प्रधामन्त्रीको दावेदार रहेको घोषणा गरिसकेका छन् ।

भावी प्रधानमन्त्रीको रुपमा तीव्र चाहना राखेर गगन काठमाडौं–४ बाट चुनावी प्रतिस्पर्धामा छन् । उनी हरेक कार्यक्रममा आफूलाई भावी प्रधानमन्त्रीको दाबेदार बनाउन मतदान गर्न आग्रह गरिरहेका छन् ।

गगनलाई त झन धेरै चुनौती छ । प्रधानमन्त्रीको दाबेदार बन्न बसैभन्दा पहिला प्रतिनिधिसभाको निर्वाचन जित्नुपर्छ । एमालेका राजन भट्टराईसँग प्रतिस्पर्धामा रहेका गगनलाई त्यति सहज छैन । तर, गठबन्धनको भरमा चुनाव जित्न सहजै होला ।

प्रतिनिधिसभाको निर्वाचन जितेर संसद पुगेपछि गगन प्रधानमन्त्रीको दाबेदार बन्न संसदीय दलको नेता निर्वाचित हुनुपर्छ । संसदीय दलको नेताका लागि शेरबहादुर र रामचन्द्रसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । संसदीय दलको नेता निर्वाचित भए उनी प्रधानमन्त्रीको दाबेदार बन्न सक्छन् ।

मानौ, गगनले यी सबै चरण पार गरेर आफूलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउलान् । तर, त्यतिमै उनी प्रधानमन्त्री बनिहाल्ने सम्भावना हुँदैन । त्यस समयमा बन्ने सत्ता समीकरणमा निर्भर रहन्छ । त्यसैले, गगनले चाहे जस्तो परिस्थिति सहज देखिन्न ।

ल्याकत नभए पनि चाहना राख्ने शशांक

प्रधानमन्त्रीका लागि बारम्बार चाहना राख्ने मध्येका एक हुन, कांग्रेस नेता शशांक कोइराला । पार्टी भित्र र बाहिर खासै पकड नभए पनि उनी निरन्तर प्रधानमन्त्रीमा दाबी गर्छन् ।

नवलपुर–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शशांकले आफूलाई भावी प्रधानमन्त्रीको रुपमा उभ्याइसकेका छन् । तर, उनलाई पनि सहज भने छैन ।

शशांकले सार्वजनिक सञ्चार माध्यमबाटै आफूलाई प्रधानमन्त्रीको दाबेदारको रुपमा प्रस्तुत गरिसकेका छन् । तर, उनका लागि सहज छैन । पार्टी भित्र उनलाई प्रधानमन्त्री बनाउनु पर्छ भन्ने मत छैन ।

हङ पार्लियमेन्टमा जे पनि हुन सक्छ !

हाम्रो निर्वाचन प्रणालीमा कुनै एक राजनीतिक दलले सरकार गठनका लागि आवश्यक मत पाउन सक्दैन । यस्तो अवस्थामा मिलिजुली सरकार नै बन्ने हो ।

एक वा एकभन्दा बढी राजनीतिक दल मिलेर सरकार गठन गर्नुपर्ने परिस्थितिमा ‘हङ पार्लियमेन्ट’को अभ्यास हुन्छ । यस्तो अवस्थामा कुन–कुन दल मिलेर सरकार बन्छ भन्न सकिन्न ।

अहिले एक–अर्कालाई प्रधान शत्रु मान्ने एमाले र माओवादी मिलेर वा अन्य शक्तिहरुको गठजोडमा पनि सरकार बन्न सक्छ । यस्तो अवस्थामा स्वार्थ प्रधान हुने भएकाले पहिलो बाहेकका दलका नेता बारम्बार प्रधानमन्त्री बन्ने सम्भावना अधिक रहन्छ । विगतमा पनि यस्ता धेरै अभ्यास भएका छन् ।

राप्रपाका सुर्यबहादुर थापा र लोकन्द्रबहादुर चन्द यस्तै परिस्थितिमा प्रधामन्त्री बनेका थिए । अबको सरकारहरु पनि यसरी नै गठन नहोल भन्न सकिन्न ।

प्रतिक्रिया दिनुहोस्