Logo
Logo

निर्वाचनको आखिरी मोडमा ओलीलाई अनेक झस्का


26.1k
Shares

काठमाडौं । निर्वाचनको आखिरी मोड पुगेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नराम्ररी झस्केका छन् । मुख्य–मुख्य ‘भित्रिया’को चुनावी मैदान कमजोर देखेपछि ओलीलाई यतिखेर ‘हराउनुपर्छ’ भनिएकाहरूलाई ‘जिताउन पाए हुन्थ्यो’ भन्ने लागिरहेको छ !

वाम–लोकतान्त्रिक गठबन्धन देशभर मजबुत ढंगले कार्यकर्ता परिचालनमा जुटेको छ । सहज तरिकाले ‘मत ट्रान्सफर’ हुने परिस्थिति बन्दै जाँदा ओलीमा अर्को झस्का परेको छ ।

वाम–लोकतान्त्रिक गठबन्धन छिन्नभिन्न पार्ने प्रयासमा असफल ओली आफ्नाले हार्ने अवस्थामा पुगेपछि आफैले ‘हराउनुपर्ने सिस्ट’मा राखेकाहरूलाई जिताउन पाए हुन्थ्यो भन्ने अवस्थामा पुगेका हुन् । तर, समय घर्किसक्यो ।

वाम–लोकतान्त्रिक गठबन्धनबीच कतिपय ठाउँमा मित्रवत प्रतिस्पर्धा हुँदैछ । तर, अन्तिम अवस्थामा मित्रवल प्रतिस्पर्धा गर्ने भनिएका ठाउँमा पनि सबैभन्दा बलियोलाई समर्थन गर्ने सहमति भएको छ । त्यसले पनि ओलीलाई अर्को झड्का हानेको छ ।

गठबन्धनले मित्रवत प्रतिस्पर्धा गर्ने क्षेत्रमा गठबन्धनको मत विभाजित हुने र आफ्नो पार्टीले जित हासिल गर्ने ओलीको आन्तरिक बुझाइ थियो । तर, मित्रवत प्रतिस्पर्धा हुने क्षेत्रमा पनि अन्तिममा सबैभन्दा बलियोलाई समर्थन गर्ने गठबन्धनको सहमतिले ओलीको सपना चकनाचुर भएको हो ।

चुनावी मैदानमा रहेका ओलीका ‘भित्रिया’हरु अग्नी खरेल, भानुभक्त ढकाल, गोकुल बास्कोटा, महेश बस्नेत, निरुदेवी पाल, बालकृष्ण शिवाकोटी, सूर्य थापा लगायत अप्ठ्यारो अवस्थामा छन् ।

तुलनात्मक रुपमा योगेश भट्टराई, सुरेन्द्र पाण्डे, कृष्णभक्त पोखरेल, गोकर्ण विष्टसहितका ‘१० बुँदे’हरु मैदानमा बलियो देखिन्छन् । गठबन्धन मजबुत रुपमा अघि बढेपछि धेरैले त ओलीसँग ‘हारिने भयो’ भनेर हात उठाइसकेका छन् ।

चुनावी मैदानमा रहेका ‘१० बुँदे’ मध्ये धेरैले ओलीसँग माफि मागेर टिकट पाएका थिए । उनीहरुलाई खुशी भएर ओलीले टिकट दिएका थिएनन् । टिकट दिएपनि हराउनु पर्छ भन्ने लागेको थियो । तर, निर्वाचनको माहोल बन्दै जाँदा भित्रियाभन्दा उनै ‘१० बुँदे’ बलियो हुँदै गएपछि ओलीलाई उनीहरुलाई जिताउन पाए पार्टीको केही सिट बढ्थ्यो भन्ने लागिरहेको छ ।

ओली आफ्ना ‘कोर टिम’का केही नयाँ अनुहारलाई संसदमा पुर्याने चाहना राखेका हुन् । तर, तिनै नयाँ अनुहार कमजोर देखिएका छन् । मोरङमा विनोद ढकाल, बारामा अच्युत मैनाली र मकवानपुरमा महेश बर्तौलाको स्थिति निराशजनक छ ।
चितवनबाट रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता लिएर कांग्रेसको बागी जिताउने घोषणा ओलीकै लागि महंगो बनेको छ ।

न्यौपानेको उम्मेदवारी कायम रहेको भए उनी बलियो रुपमा अगाडि बढ्ने कुरा त्यहाँको चुनावी माहोलले बताउँछ ।
स्थानीय पार्टीको सिफारिस र सहमतिविना उम्मेदवार बनाइएका काठमाडौं–१ का किरण पौडेल, ६ का सर्वेन्द्र खनाल, ७ का श्याम घिमिरे, ८ मा वडाध्यक्ष नपत्याइएका शिवसुन्दर राजवैद्य, १० मा हिमेश केसी मैदानमा कमजोर छन् ।

भक्तपुरमा महेश बस्नेतलाई कांग्रेसका प्रतिस्पर्धी दुर्लभ थापा भारी भएका छन् । काभ्रेमा गोकुुल बास्कोटा जित्ने हैन, मतान्तर घटाउने दौडमा पुगेका छन् । दोलखामा बालकृष्ण शिवकोटी ‘पाहुना’ जस्तो भएका छन् ।

जिल्ला बसेर लामो समय त्याग गरेका नेताले टिकट नपाउने, काठ व्यापारीले काठमाडौंबाट टिकट ल्याउँदैमा जिताउन बाध्य नभएको भन्दै एमालेका थुप्रै कार्यकर्ता छेउ–कुना लागेका छन् । सिन्धुपाल्चोकमा अरुण नेपाललाई टिकट नदिनकै लागि सुरेश नेपाललाई उम्मेदवार बनाइँदा चुनावी रौनक आउन सकेको छैन ।

प्रदेश १ मा एमालेको सम्भावनायुक्त उम्मेदवारमा स्वयं केपी ओली र झापा–४ मा एलपी साँवा हुन् । ताप्लेजुङमा अरु जिल्लाका उम्मेदवारको तुलनामा योगेश बलियो देखिएका छन् । इलाममा सुवास नेम्वाङ अरु उम्मेदवारभन्दा बलियो त छन्, तर जित्न सजिलो छैन ।

मधेस प्रदेशमा सिराहा–३ का लीलानाथ श्रेष्ठ र धनुषाका रघुवीर महासेठ वा जुलीकुमारी महतोबाहेक एमालेले अरुको आश मारिसकेको छ ।

बागमती प्रदेशमा तुलनात्मक रुपमा बलियो उम्मेदवार चितवन–१ मा सुरेन्द्र पाण्डे र २ मा कृष्णभक्त पोखरेल हुन् । काठमाडौं उपत्यकामा काठमाडौं–१ का मणिराम फुयाँल र ९ का कृष्णगोपाल श्रेष्ठबाहेक कुनै पनि उम्मेदवार मैदानमा सजिलोसँग उभिन सकेका छैनन् ।

गण्डकी प्रदेशका दुई क्षेत्रका उम्मेदवार तुलनात्मक रुपमा बलियो छन् । लुम्बिनी प्रदेशमा रुपन्देहीमा विष्णु पौडेल र दाङमा शंकर पोखरेलबाहेकको आश गर्ने ठाउँ छैन । त्यसमा पनि बुटवल कटेपछि शंकर पोखरेलबाहेक एमालेका कोही पनि उम्मेदवार बलियो देखिएनन् ।

यस पटकको निर्वाचनमा एमालेका निम्ति कर्णाली प्रदेश र सुदूरपश्चिमको परिणाम सबभन्दा कष्टदायी बन्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्