Logo
Logo

एमाले उम्मेदवार को कति पानीमा ?


16.6k
Shares

काठमाडौं । निर्वाचनको आखिरी मोडमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नराम्रोसँग झस्केका छन् । देशभरका आफ्ना उम्मेदवारको स्थिति कमजोर रहेको रिपोर्टले ओली झस्केका हुन् ।

एमालेको उच्च स्रोतका अनुसार देशभरबाट ओलीले आफ्ना उम्मेदवारको रिपोर्ट पाइसकेका छन् । उक्त रिपोर्टका कारण ओली तनाबमा परेका छन् । एमालेले अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ ८० सिट जितेको थियो । यसपटक भने देशव्यापी पराजित हुने र ‘भित्रियाहरू’ धेरै मतान्तरले पराजित हुने सूचना ओलीसमक्ष पुगिसकेको छ ।

ओलीले सत्तारुढ गठबन्धनमा खटपट आउने र त्यही मत तानेर जित्ने योजनामा थिए । तर, दिनप्रतिदिन सत्तारुढ गठबन्धन बलियो र सशक्त बन्दै गएपछि ओलीस्वयं आत्तिएका छन् । यद्यपि, कार्यकर्तालाई भुलाउनकै लागि ओली दुईतिहाइ मत ल्याउने सपना बाडिरहेका छन् ।

अघिल्लो चुनावमा वाम गठबन्धन गर्दासमेत सामान्य बहुमत ल्याउन नसकेको एमालेले कमजोर भएको अवस्थामा ओलीले दुईतिहाइ ल्याउने धाँक लगाउनुलाई पराजयको मानसिकताको रुपमा राजनीतिप्रति चासो राख्ने सामान्य जताले समेत बुझिसकेका छन् ।

एक टेलिभिजन कार्यक्रममा पनि ओलीले यस्तै दाबी गर्दा प्रस्तोताले आत्मरतिको संज्ञा दिएका थिए । लगत्तै ओलीले आत्मविश्लेषण भन्न चुनौती दिएका थिए । विभिन्न सर्वेक्षण र स्थानीय तहको मतपरिणामले भने सत्तारुढ गठबन्धनले दुईतिहाइ नजिक मत ल्याउने देखाउँछ । तर, ओली त्यो स्वीकार्न सक्ने अवस्थामा छैनन् ।

आगामी निर्वाचनमा काठमाडौँ उपत्यकामा एमाले शुन्य हुने अवस्था देखिएको छ । स्थानीय पार्टीको सिफारिस र सहमतिबेगर उम्मेदवार बनाइएका काठमाडौं–१ का किरण पौडेल, ६ का सर्वेन्द्र खनाल, ७ का श्याम घिमिरे, ८ मा वडाध्यक्षमा नपत्याइएका शिवसुन्दर राजवैद्य र १० मा हिमेश केसी मैदानमा कमजोर भएका देखिन्छन् ।

काठमाडौँ–२ मा एमालेका मणिराम फुयाँललाई पूर्वसभामुख ओनसरी घर्तीले पाखा लगाउने देखिएको छ । शिक्षक पेशा छाडेर अघिल्लो निर्वाचनमा राजनीतिमा होमिएका फुयाँलले प्रदेश सांसद जितेका थिए । तर, जितेपछि फुयाँलले केही पनि काम नगरेका कारण यसपटक जित्न समस्या रहेको एमालेकै एक स्थानीय नेताले दृष्टिलाई बताए । फुयाँलसँग तटस्थको भोट तान्ने क्षमता नभएको ती नेताको बुझाइ छ ।

काठमाडौं–३ मा सत्तारुढ गठबन्धनका सन्तोष चालिसेका अगाडि कृष्ण राई कमजोर देखिएका छन् । वाम गठबन्धन हुँदासमेत पराजित भएका डा. राजन भट्टराई यो पटक ह्याट्रिक हारको सामना गर्दै छन् ।

काठमाडौं–५ मा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पाखा लगाउने लक्षण सत्तारुढ गठबन्धनका प्रदीप पौडेलले देखाइसकेका छन् । पूर्वसांसद नरहरि आचार्यदेखि वरिष्ठ चिकित्सक भोला रिजालसम्मले पौडेललाई चुनाव चिताउने अठोट लिएको स्रोतले बताएको छ ।

काठमाडौँ–९ मा कृष्णगोपाल श्रेष्ठले चुनाव जित्न मुस्किल पर्ने देखिएपछि अन्तिम पटक उम्मेदवार बनेको प्रचार गर्दै हिँडेका छन् । हार्ने निश्चित भएपछि काठमाडौँ–१० मा हिमेश केसीलाई ओलीले अगाडि सारेको एमालेवृत्तमै चर्चा छ ।

भक्तपुरमा महेश बस्नेतलाई कांग्रेसका प्रतिस्पर्धी दुर्लभ थापा भारी भएका छन् । एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादी स्थापना भएपछि गत स्थानीय तह निर्वाचनमा एमाले कांग्रेसभन्दा सानो दल बनेको छ ।

चुनावी मैदानमा ओलीका ‘भित्रिया’ मध्ये अग्नी खरेल, भानुभक्त ढकाल, डा. राजन भट्टराई, गोकुल बास्कोटा, महेश बस्नेत, निरुदेवी पाल, वालकृष्ण शिवाकोटी, सूर्य थापासहित सबैजसो उम्मेदवार कमजोर देखिएका छन् । कतिपयले जित्न नसकिने भनी ओलीसँगै हात उठाइसकेका छन् । बरु, तुलनात्मक रुपमा योगेश भट्टराई, सुरेन्द्र पाण्डे, कृष्णभक्त पोखरेल, गोकर्ण विष्टसहितका ‘१० बुँदे’हरू मैदानमा केही बलिया देखिन्छन् ।

यसरी पहिला ओलीसँग माफी मागेर टिकट पाए पनि नजिताउने भनिएका उम्मेदवार नै आफ्ना ‘भित्रिया’ भन्दा बलियो देखेपछि ओली झस्किएका हुन् । उनको ‘कोर टिम’ मानिने अग्नी, राजन, गोकुल, महेश, निरु, वालकृष्ण, सूर्यसहित संसदमा पहिलोपटक प्रवेश गराउने योजनाका साथ अगाडि सारिएका उम्मेदवारहरू झन् बढी संकटमा छन् ।

समाचार स्रोतका अनुसार मोरङमा विनोद ढकाल, बारामा अच्युत मैनाली र मकवानपुरमा महेश बर्तौलाको स्थिति निराशजनक छ । चितवनबाट रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता लिएर कांग्रेसको बागी उम्मेदवार जिताउने घोषणा अहिले ओलीका लागि महंगो बनेको छ ।

न्यौपानेको उम्मेदवारी कायम रहेको भए उनी बलियो रुपमा अगाडि बढ्ने कुरा त्यहाँको चुनावी माहोलले बताउँछ । काभ्रेमा गोकुुल बास्कोटा जित्ने हैन, मतान्तर घटाउने दौडमा पुगेका छन् । दोलखामा वालकृष्ण शिवकोटी ‘पाहुना’ जस्तो भएका छन् ।

जिल्ला बसेर लामो समय त्याग गरेका नेताले टिकट नपाउने, काठ व्यापारीले काठमाडौंबाट टिकट ल्याउँदैमा जिताउन बाध्य नभएको भन्दै एमालेका थुप्रै कार्यकर्ताहरू छेउ–कुना लागेका छन् । सिन्धुपाल्चोकमा अरुण नेपाललाई टिकट नदिनकै लागि सरेश नेपाललाई उम्मेदवार बनाइँदा चुनावी रौनक आउन सकेको छैन ।

प्रदेश १ मा एमालेको सम्भावनायुक्त उम्मेदवारमा स्वयं केपी ओली छन् । झापा– ४ मा एलपी साँवा पनि धरापमा छन् । बरु, ताप्लेजुङमा अरु जिल्लाका उम्मेदवारको तुलनामा योगेश भट्टराई बलियो देखिएका छन् । इलाममा सुवास नेम्वाङ हारिने चिन्तामा छन् ।

मधेस प्रदेशमा सिराहा– ३ का लीलानाथ श्रेष्ठ र धनुषामा जुलीकुमारी महतोबाहेक एमालेले अरुको आश मारिसकेको छ ।बागमती प्रदेशमा तुलनात्मक रुपमा बलियो उम्मेदवार चितवन– १ मा सुरेन्द्र पाण्डे र २ मा कृष्णभक्त पोखरेल हुन् ।

गण्डकी प्रदेशका दुई क्षेत्रका उम्मेदवार तुलनात्मक रुपमा बलियो छन् । लुम्बिनी प्रदेशमा रुपन्देहीमा विष्णु पौडेल र दाङमा शंकर पोखरेलबाहेकको आश गर्ने ठाउँ छैन । विभिन्न सर्वेक्षणले शंकरभन्दा सत्तारुढ गठबन्धनकी उम्मेदवार रेखा शर्मालाई अगाडि देखाएका छन् ।

बुटवल कटेपछि शंकरबाहेक एमालेका कोही पनि उम्मेदवार बलियो देखिएनन् । यसपटकको निर्वाचनमा एमालेका निम्ति कर्णाली प्रदेश र सुदूरपश्चिमको परिणाम सबभन्दा कष्टदायी बन्ने अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्