नेपालगञ्ज । नेपालगञ्जस्थित विमानस्थलको सुरक्षा प्रमुखका रुपमा कार्यरत बरिष्ठ सइ प्रेमसिंह भण्डारीको हृदयघातबाट मृत्यु भएको छ । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षा डिउटीमा हुँदा उनी विमानस्थलमै ढलेका हुन् ।
देउवा दैलेख हुँदै बाँकेबाट धनगढी गएका थिए ।
बाँके विमानस्थलमा प्रधानमन्त्रीको सुरक्षा डिउटीमा खटिएका बेला उनी बेहोस भएर लडेका थिए । अस्पताल पुर्याउँदा उनको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ । मंगलबार दिउँसो करिब साढे चार बजे उनी ढलेका थिए ।
प्रधानमन्त्री देउवा र पूर्व प्रधानमन्त्री प्रचण्ड बाँके विमानस्थलमा पुगेका थिए । त्यँही बेला उनी विमानस्थलको चौरमा ढलेका हुन् ।
भिआइपीको व्यवस्थापनमा खटिएका वरिष्ठ सई भण्डारी अचानक भिआइपी कक्ष बाहिर ढले । तत्काल अस्पताल लगिए पनि उनलाई बचाउन नसकिएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले बताए ।
भण्डारी लामो समयदेखि मिर्गौलाको समस्याले पीडित थिए । मंगलबार ड्युटीमा रहेका भण्डारीको ‘हर्ट अट्याक’का कारण निधन भएको एसपी अधिकारीले जानकारी दिए । उनको शव अहिले नेपालगन्ज नर्सिङ होममा राखिएको छ । परिवारको आग्रहमा दाहसंस्कारका लागि शव काठमाडौँ ल्याउन लागिएको छ । उनी बैतडीका स्थानीय हुन् ।