Logo
Logo

गण्डकीका शहरी विकास तथा यातायात मन्त्री बर्खास्त


3.1k
Shares

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्कालाई बर्खास्त गरेका छन् ।

मंसिर ४ मा हुन लागेको संघीय र प्रदेश निर्वाचनमा सत्ता गठबन्धनलाई असहयोग गरेको आरोपमा खड्कालाई बर्खास्त गरिएको हो । गठबन्धनका उमेदवार तथा प्रदेशका मुख्यमन्त्री नेपाली र कानुनमन्त्री बिन्दुकुमार थापालाई असहयोग गरेको आरोपमा खड्कालाई बर्खास्त गरिएको हो ।

मन्त्री खड्कालाई जिम्मेवारीबाट हटाएर मुख्यमन्त्री पोखरेलले उक्त मन्त्रालय आफैँले हेर्ने गरी राखेका छन् । मुख्यमन्त्री पोखरेलले मन्त्री खड्कालाई हटाएको पत्र प्रदेश प्रमुख कार्यालयमा पठाएका छन् ।

खड्काले मंसिर ४ को चुनावका लागि टिकट नपाएपछि कांग्रेस नेतृत्वमाथि आक्रोश पोखिरहेका थिए । खड्का कास्की क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र (ख) मा उम्मेदवार हुन आकांक्षी थिए । तर, यहाँ कांग्रेसले विन्दुकुमार थापालाई उम्मेदवार बनाएको थियो । टिकट दौडमा दुई मन्त्रीको रस्साकस्सीले उनीहरुबीच सम्बन्धसमेत बिग्रिएको थियो । आफूले टिकट नपाएपछि खड्काले उम्मेरदवार थापालाई असहयोग गर्दै आएका थिए ।

खड्का नेतृत्वको अखण्ड नेपाल पार्टी २०७४ असोजमा औपचारिक रुपमा नेपाली कांग्रेसमा समाहित भएको थियो । त्यसपछि उनले गण्डकीमा मन्त्री बन्ने अवसर पाएका थिए ।

यसअघि कात्तिक २२ गते गण्डकीकै खानेपानीमन्त्री हरिशरण आचार्य पनि बर्खास्तीमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्