Logo
Logo

धनुषा-२ : तीन पूर्वमन्त्री मैदानमा, को कति सुरक्षित ?


756
Shares

धनुषा । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको चार दिन मात्रै बाँकी छ । निर्वाचनमा प्रचारप्रसारका लागि दुई दिन बाँकी रहँदा धनुषा निर्वाचन क्षेत्र नं २ मा चुनावी माहोल तातेको छ ।

सत्तारुढ गठबन्धनबाटै दुई जनाले उम्मेदवारी दिएपछि धनुषा क्षेत्र नं २ को चुनावी भीडन्त रोचक बनेको छ । अझ उम्मेदवारमध्ये तीन जना पूर्वमन्त्री चुनावी मैदानमा छन् । सत्तारुढ गठबन्धनबाट कांग्रेसका पूर्वमन्त्री रामकृष्ण यादव र सत्तारुढ गठबन्धनबाटै नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वमन्त्री रामचन्द्र झा चुनावी मैदानमा छन् ।

अन्य क्षेत्रमा एमाले–जसपाबीच गठबन्धन भए पनि यो क्षेत्रमा भने दुवै दल स्वस्थ्य प्रतिस्पर्धामा उत्रिएका छन् । एमालेबाट पूर्वमन्त्री उमाशंकर अरगरिया र जसपाबाट गंगाराम यादवले उम्मेदवारी दिएका छन् । राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले आ-आफ्नो तरिकाले घरदैलो गरिरहेका छन् ।

उनीहरूले घोषणापत्रसहित प्रतिबद्धता मतदाताकाबीच पुर्‍याएका छन् । यसक्षेत्रमा एक लाख २४ हजार सात सय ४५ जना मतदाता रहेको छ । जसमध्ये पुरुषतर्फ ६६ हजार आठ सय १० र महिलातर्फ ५७ हजार तीन सय ४४ जना रहेको निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन क्षेत्र नं २ धनुषाले जानएको छ ।

धनुषा क्षेत्र नं २ मा एक सय २६ वटा मतदान केन्द्र तोकिएको सो कार्यालयले जनाएको छ । धनुषाको क्षेत्र नं २ मा कमला नगरपालिका शहीदनगर नगरपालिका, जनकनन्दिनी गाउँपालिका, औरही गाउँपालिका, विदेह नगरपालिका–१ देखि ८ सम्म, हंसपुर नगरपालिका–१,४ ,६ ,९ र जनकपुरधाम उपमहानगरपालिका– १७ र १८ रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभामा राजनीतिक दल र स्वतन्त्र गरी १६ जना उम्मेदवार रहेका छन् । त्यसैगरी, सोही क्षेत्रको प्रदेशसभा (क) तर्फ १४ जना र प्रदेशसभा (ख) १७ गरी प्रदेशसभाको लागि ३१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

तत्कालीन संघीय समाजवादी फोरमबाट प्रतिनिधिसभामा उमशंकर अरगरिया निर्वाचित भएका थिए । अरगरिया यो पटक एमालेबाट उम्मेदवार बनेका हुन् । २०७४ सालको निर्वाचनमा अरगरियाले ३२ हजार ४४ मत पाउँदा रामचन्द्र झाले १८ हजार सात सय १५ र रामकृष्ण यादवले १५ हजार चार सय ४२ मत पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्