Logo
Logo

प्रतिनिधिसभाको अनुभव प्रदेशसभामा प्रयोग गर्ने चाहना


2.5k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) की स्थायी समिति सदस्य अमृता थापा मगर स्याङ्जा १ (१) बाट प्रदेश सभा सदस्यको उम्मेदवार छन् ।

यसअघि प्रतिनिधिसभा सदस्य भइसकेका थापा वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट यसपटक प्रदेशसभा सदस्यको लागि चुनावी मैदानमा होमिएका हुन ।

माओवादी केन्द्रको भातृ संस्था अनेम संघ (क्रान्तिकारी)को केन्द्रीय अध्यक्ष थापा प्रदेशसभा सदस्यमा निर्वाचन लड्नुलाई चासोका रूपमा हेरिएको छ । गण्डकी प्रदेशमा माओवादी केन्द्रबाट भावी मुख्यमन्त्रीको रूपमा उनलाई मतदाता तथा त्यहाँका नेता कार्यकर्ताले हेरेका छन् ।

को हुन् अमृता थापा मगर ?
२०२९ जेठ ५ गते स्याङ्जाको बिरुवा अर्चलेमा जन्मेका अमृता थापा मगर एक क्रान्तिकारी साहसिक योद्धा हुन । स्याङ्जाको दुर्गम गाउँको सामान्य परिवारमा जन्मेर राष्ट्रिय राजनीतिमा आफ्नो पहिचान बनाउन सफल थापा जनयुद्धदेखि गणतन्त्र प्राप्तिको दोस्रो ऐतिहासिक जनआन्दोलनसम्म नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् ।

रेडियो नेपालमा समाचार वाचिकाको रुपमा कार्यरत थापा रेडियोको जागिरबाट राजिनामा दिएर युद्धमा होमिएका साहासिक योद्धा हुन् । खाँदै आएको सरकारी जागिर, बृद्धअवस्थाका बाआमा र कलिला छोराछोरीको स्याहार सुसार छोडेर भूमिगत भएर राज्यसत्तामा महिलाको भूमिका स्थापित गर्न खटिरहने योद्धा हुन्, अमृता थापा ।

थापाले २०४८ सालमा नेकपा एकता केन्द्रको पार्टी सदस्यता लिएर निरन्तर आन्दोलन र अभियानको नेतृत्व गर्दै आएका छन् । २०४६ सालको जनआन्दोलनमा पोखराका मैदानमा मसाल बोकेर हिडेका थापा २०४७ सालमा तत्कालीन अनेरास्ववियूको पृथ्वीनारायण क्याम्पस ईकाई सदस्य भइन् ।

त्यस्तै विद्यार्थी आन्दोलनमा समाहित हुने क्रममा २०४८ सालमा अनेरास्ववियूको स्याङ्जा जिल्ला सचिव र २०४९ सालमा गण्डकी समन्वय समिति सदस्यको जिम्मेवारीमा रहेर काम गरे ।

२०५० सालमा गण्डकी धौलागिरी साँकृतिक संगम सदस्यमा चयन भएका थापा नेकपा माओवादीको २०५१ सालमा चितवनमा भएको राष्ट्रिय सम्मेलनमा गण्डकीबाट प्रतिनिधिको रूपमा सहभागी भएका थिए ।

पार्टीका नेता तथा बाग्मती प्रदेश ईन्चार्ज हितमान शाक्यसँग २०५१ चैत २६ गते विवाह बन्धनमा बाँधिएका थापाका २ छोरी रहेका छन् ।

पार्टीभित्र लामो त्याग र सङ्घर्षबाट नेतृत्वमा स्थापित हुन सफल नेतृ थापाले पार्टीको आठौं महाधिवेशनबाट पुनः केन्द्रीय सदस्यको जिम्मेवारी पाएका थिए ।

क्षमता र आवश्यकतालाई मध्यनजर गरी पार्टीभित्र नयाँ पुस्ता भित्रिनुपर्ने धारणा राख्ने थापाले युद्धकालीन समयदेखि आजसम्म पनि माओवादी पार्टीमा महिलाको भूमिका नेतृत्व स्थापित हुनुपर्नेमा आवाज उठाउँदै आए ।

देशभर माओवादीको जनयुद्धको सूक्ष्म तयारी चलिरहँदा उनी २०५१ सालमा अनेम संघको काठमाडौं उपत्यका समन्वय समितिको संयोजक तथा पार्टीको एरिया सदस्य भएका थिए । २०५२ देखि भूमिगत हुँदै पूर्वी नेपालको क्षेत्रमा बन्दुक र बारूदसँग लड्दै हिडेकी नेतृ थापा २०५३ सालमा नेकपा माओवादी सुनसरी मोरङ संयुक्त जिल्ला सदस्य हुँदै २०५६ सालमा नेकपा माओवादी कास्की जिल्ला सदस्य तथा पोखरा नगर ईन्चार्ज भएका थिए ।

जनयुद्धकालमा पार्टीको पूर्वी कमाण्डमा नेतृत्व गरेकी थापा राजनीतिमा महिला सहभागिताको विषयमा सचेततापूर्वक लड्दै आएका छन् । २०५७ सालमा पार्टीको कपिलवस्तु जिल्ला सदस्य भएकी थापा २०५८ सालमा पार्टीको क्षेत्रीय ब्यूरो सदस्य बने ।
२०५८ सालमा पार्टीको प्रवास महिला फ्याक्सन ईन्चार्ज तथा दिल्ली राज्य समितिको सेक्रेटरी बनेकी थापा २०६० सालमा उदयपुर जिल्ला ईन्चार्ज एवं माओवादीको पूर्णकालीन सदस्य बने ।

२०६१ सालमा तत्कालीन माओवादीले पूर्वी नेपालमा पहिलो पटक सेनामाथिको सफल कार्वाही गर्ने क्रममा भोजपुर टावर र जेल आक्रमणमा परि सामान्य घाइते भएकी थापा घाइते ज्यानसँग बन्दुकको साथी बनेर युद्धमै सहभागी बनिरहे ।

२०६१ सालमा अनेम संघको महासचिव हुँदै पार्टीको पूर्वका सशक्त ४ जिल्ला उपब्युरो सिन्धुली, धनुषा, सर्लाही र महोत्तरीको पार्टी ईन्चार्ज भएका अमृताले फस्ट डिभिजन जनमुक्ति सेनाको राजनीतिक कमिसार भएर काम गरे ।

त्यस्तै, २०७० सालमा नेकपा माओवादीको पोलिट ब्युरो सदस्यमा चयन भएका थापा अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को अध्यक्षमा निर्वाचित भएका थिए ।

२०६३ सालमा अन्तरिम व्यवस्थापिका संसदको सदस्य भएकी नेतृ थापा पहिलो संविधान सभाको प्राकृतिक स्रोत, आर्थिक अधिकार तथा राजश्व बाडफाँड समितिको सभापति भएकी थिए ।

२०७२ सालमा माओवादी सचिवालय सदस्य भएकी नेतृ थापा २०७५ सालमा नेकपा एमाले र माओवादीबीच पार्टी एकता हुँदा केन्द्रीय सदस्य भएका थिए ।

स्याङ्जामा लोकतान्त्रिक वाम गठबन्धनको साझा उम्मेदवारको रुपमा निर्वाचनमा होमिएकी थापालाई गठबन्धनका सहयात्री दल कांग्रेस र समाजवादीको दरिलो साथ छ ।

केन्द्रको सांसद र पार्टीको केन्द्रीय भूमिकामा लामो समय काम गरेकी थापाले केन्द्र, प्रदेश र पालिकासँग समन्वय गरी आफ्नो क्षेत्रको विकास निर्माणसँगै राजगारी सृजनामा काम गर्ने बताएका छन् । गठबन्धन दलको दरिलो साथ पाएका थापा स्याङ्जा बनाउने अभियानमा लाग्ने उद्देश्यले उम्मेदवार बनेको बताउँछने ।

संविधान, संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, समावेशीता, समानुपातिक प्रणालीजस्ता थुप्रै उपलब्धि हासिल गर्न आफ्नो जीवन समर्पित गरेका थापा अब जनताबाट प्रत्यक्ष निर्वाचित भएर विकास र समृद्धिको कार्यान्वयन गर्न सकिने ठाउँमा पुग्न जनताको घरदैलोमा छन् ।

आधा जीवन देशका निम्ति दिएका थापाले अबको समय जनताको सुख, समृद्धि र दिगो विकाससहितको आर्थिक, सामाजिक परिवर्तनमा बिताउनु पर्ने अवसर र चुनौती दुवै कुरा एकै पटक आएको छ ।

स्याङ्जामै जन्मिएर देशको केन्द्रीय स्तरसम्म पुगेर महिला हक र अधिकारका बिषयमा बारम्बार संसदीय समितिमा बहस र छलफल चलाउने थापालाई गठबन्धनको दरिलो साथ रहेकोले जीत हुनेमा ढुक्क छन् ।

प्रतिक्रिया दिनुहोस्