Logo
Logo

सांस्कृतिक सहिष्णुता र एकताको प्रतीक तीज : राष्ट्रपति भण्डारी


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौँ, १६ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली नारीहरूको महान् पर्व हरितालिकाको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवम् सुस्वास्थ्य र दीर्घ जीवनको शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपतिले आज शुभकामना सन्देश जारी गरी सांस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीकका रुपमा रहेको तिज पर्वमा नेपाली नारीहरुले आफ्नो सौभाग्य र परिवारजनको समृद्धिका लागि ब्रत बसेर शिव–पार्वतीको पूजा आराधना गर्ने प्रचलन रहिआएको स्मरण गर्दै यस्ता पर्वले नेपालीलाई एकताको सूत्रमा आबद्ध गर्दै धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्नुका साथै एकापसमा खुसी साटासाट र मनोरञ्जनकोे अवसरसमेत प्रदान गर्दै आएका बताउनुभएको छ ।

सन्देशमा उहाँले नेपाली मौलिक संस्कृति सम्वर्धन गर्दै संस्कारयुक्त आदर्श सामाजिक वातावरण तयार गर्न र सदाचार जीवन शैली अपनाउन यस्ता चाडपर्वहरुको गरिमालाई सम्मानजनक बनाई राख्नु आजको आवश्यकता भएको बताउनुभएको छ ।

तीजले महिला अधिकारलाई अझैमाथि उठाउने उपराष्ट्रपति पुनको विश्वास

उपराष्ट्रपति नन्दबहादुर पुनले महिलाको पर्व हरितालिका (तीज)को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै यस चाडले आपसी सम्बन्ध प्रगाढ बनाउँदै महिला अधिकारलाई अझैमाथि उठाउने विश्वास व्यक्त गर्नुभएको छ ।

आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधतायुक्त धर्मनिरपेक्ष राष्ट्र भएको विविधतायुक्त संस्कृतिले मुलुक धनी रहेको स्मरण गर्दै यहाँ मनाइने सबैखाले मौलिक चाडपर्वले आपसी सद्भाव, सहिष्णुता, भाइचारा र राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्दै आइरहेको बताउनुभयो ।

“हरितालिका तीज पर्वले दिदीबहिनी र आम नेपालीका बीच आपसी सद्भाव, सहिष्णुता, भाइचाराको अभिवृद्धि गर्दै महिला अधिकारलाई अझैमाथि उठाउनेमा विश्वस्त छु ।” उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।

“नेपाल राष्ट्रको निर्माण र नेपाललाई विश्वसामु परिचित गराउन नेपाली महिलाको योगदान अत्यन्त ठूलो छ, विभिन्न कालखण्डका क्रान्ति तथा सङ्घर्षमा पु¥याउनु भएको योगदानको उच्च सम्मान गर्दै यस अवसरमा आन्दोलनबाट प्राप्त उपलब्धिप्रति गौरव गर्न सम्पूर्ण दिदीबहिनीमा आग्रह गर्दछु”, सन्देशमा भनिएको छ ।

उहाँले नेपाली संस्कृतिको महत्वपूर्ण पाटोको रुपमा रहेको हरितालिका तीजलगायतका हाम्रा चाडपर्वहरु मनाउने शैलीमा केही सकारात्मक सुधारको खाँचो रहेको औँल्याउँदै उहाँले स्वास्थ्यलाई ख्याल गर्दै तीज मनाउन आग्रह गर्नुभएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्