Logo
Logo

मतदानको ५ घण्टा : कहाँ के के भयो ?


1.3k
Shares

काठमाडौं । आज प्रतिनिधिसभा र प्रदेसभा सदस्यका लागि देशभर मतदान भइरहेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुकी ५ बजेसम्म चल्नेछ । अहिले बिहान साढे ११ बजेसम्म छिटफुटबाहेक शान्तिपूर्ण मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

मतदानकोक्रममा रौतहटको एक मतदान केन्द्रमा हवाइ फायर भएको छ । मतदानका क्रममा विवाद भएपछि जिल्लाको गुजारा नगरपालिका–४ स्थित मतदान केन्द्रमा प्रहरीले हवाई फायर गरेको हो ।

विवादले उग्ररूप लिएपछि प्रहरीले बल प्रयोग गरेको रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले जानकारी दिए । अहिले उक्त क्षेत्रमा मतदान जारी रहेको प्रमुख जिल्ला अधिकारी शाहीले बताएका छन् ।

यस्तै, सिरहमा पनि प्रहरीले हवाई फायर गरेको छ । मतदानका क्रममा जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच मतपेटिका खोसाखोस भएपछि हवाई फायर गरेको प्रहरीले जनाएको छ ।

सिराहाको कर्जन्हा नगरपालिकाका ६ को जनता मावि बडहरामाल दुबै पार्टीका कार्यकर्ताले मतपेटिका खोसाखोस गरेपछि प्रहरीले ३ राउन्ड हवाई फायर गरेको हो । मतपेटिका तानातानले केहीबेर तनाव भएपनि अहिले मतदान सुचारु भएको छ ।

यस्तै, चितवनमा पनि हवाई फायर भएको छ । चितवन निर्वाचन क्षेत्र नम्बर १ मा अन्तर्गत राप्ती नगरपालिका– ८ मा रहेको ब्रह्मास्थान राष्ट्रिय आधारभुत विद्यालयको ख मतदान केन्द्र विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मतपेटिका जलाएपछि प्रहरीले हवाइृ फायर गरेको चितवनका डीएसपी सुदन आचार्यले जानकारी दिए । यहाँ पनि अहिले मतदान पुनः सुरु भएको छ ।

यस्तै, बर्दियाको गुलरिया २ को मतदानस्थलमा शम्भुशरण मावि खैरापुरमा बम विस्फोट भएको छ । मतदानको समयमा विस्फोट भएपछि मतदाता र मतदान केन्द्रमा खटिएका कर्मचारीको भागाभाग भएको छ । हाल मतदान स्थगित भएको छ ।
यसैगरी गुल्मीको एक मतदान केन्द्रमा मतदान प्रक्रिया रोकिएको छ । प्रत्यक्ष र समानुपातिकतर्फको मतपत्र साटिएपछि गुल्मी क्षेत्र नम्बर–२ को मालिका गाउँपालिका–५ मा मतदान प्रक्रिया स्थगित भएको हो ।

मतपत्रको विषयलाई लिएर सत्ता गठबन्धनले विरोध गरेको थियो । उनीहरुको विरोधपछि मतदान केहि समयलाई रोकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै, सर्लाहीको गोडैता र रौतहटको गुजरामा दुई पक्षबीच झडप भएको छ । गोरखा लगायतका केही जिल्लाहरुमा शंकास्पद वस्तु फेला परेका छन् भने अन्य स्थानमा भने मतदान शान्तिपूर्ण छ ।

देशका ७७ वटै जिल्लामा बिहान ७ बजेबाट सुरु मतदान साँझ ५ बजेसम्म जारी रहने छ । मतदान सकिएलगत्तै गणना सुरू गर्ने निर्वाचन आयोगको तयारी छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले काठमाडौंलगायत तराईका जिल्लाहरु आजै राति ९ बजेबाट मत गणना सुरु गरिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्