Logo
Logo

निकम्मा बन्यो सम्पत्ति शुद्धीकरण


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १७ भदौ । केपी शर्मा ओली सरकार गठनलगत्तै अर्थमन्त्रालय अन्तर्गत रहेका सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री कायलियमातहत ल्याइयो । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय अनुसन्धान विभाग पनि प्रधानमन्त्री कार्यालयमातहत नै ल्याइयो । ती विभागको प्रभावकारिताका लागि प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको भनियो । तर प्रधानमन्त्री कार्यालय मातहत ल्याइएका ती विभागमध्ये राजस्व अनुसन्धान विभागले सक्रियता देखाउन खोजे पनि नक्कली ७ अर्ब नक्कली भ्याटबिल प्रयोगकर्ताहरुबिरुद्ध अहिलेसम्म मुद्दा दायर भएको छैन । जसले गर्दा तिनीहरु बालुवाटारकै संरक्षणमा रहेको आशंका छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग त निकम्मा नै देखिएको छ । उक्त विभाग अन्तर्राष्ट्रियस्तरमा देखाउनका लागि मात्र गठन गरिएको हो भन्ने तर्कलाई जायज नै मान्नुपर्ने भएको छ ।

धादिङ जिल्लाको एलडीओ हुँदै मालपोत कार्यालय चावहिलमा कुस्त सम्पत्ति आर्जन गरेर यातायात ब्यवस्था विभागको महानिर्देशक भएर चर्चामा आएका रुपनारायण भट्टराई सम्पत्ति शुद्धीकरणको डीजी बनाइएको थियो । सम्पत्ति शुद्धीकरणमा सरुवा भएको ४ महिनामा उनी तेस्रो पटक त अष्टे«ेलिया नै घुम्न गएका छन् । अरु देश घुम्नेमै उनको ४ महिनामा एक महिना भन्दा बढी बितेको छ । तर केही उपलब्धी देखाउन उनले सकेका छैनन् । उनी यसअघिका १० महानिर्देशककै पदचिह्नमा हिंडेका छन् । विदेश घुम्ने, विभागको रैथाने समूहका विनोद लामिछाने, प्रकाश सापकोटा, तेज प्रसाईको टोलीले उजुरीमा मोलमोलाई गरेर दिएको भाग खानेमै सीमित भएका छन् । उनीभन्दा अघिका जीवनप्रकाश सिटौला पनि लामिछाने समूहसँग मिलेर लाभ लिने र विदेश घुम्नमा रमाएका थिए ।

महानिर्देशक भट्टराई अहिले अष्टे«लिया सयरमा छन् । उनी यसअघि नै अष्ट्रेलिया २ पटक घुमिसकेका हुन् । विदेश भ्रमणमा शाखा अधिकृत सन्तोष पौडेललाई मात्र लगेको भनेर विभागभित्रै असन्तुष्टी ब्याप्त छ । उनले पहिला न्यूजील्याण्ड पनि पौडेललाई नै लगेका थिए । विभागले केही गुण्डानाइकेको स्रोत नखुलेको सम्पत्तिका बारेमा मुद्दा दायर गरे पनि उनीहरु सबैले सफाइ पाइसकेका छन् । विभागमा परेका उजुरीमा मोलमोलाई गर्ने रैथाने समूहको डिजाइनमा ४ सय ८२ उजुरी तामेलीमा राखिएको छ । सम्पत्ति शुद्धीकरण विभागमा पछिल्लो पटक परेको रोयल क्यासिनोको उजुरीमा पनि एसपी प्रकाश रानाभाटले सुनिल रायमाझीबाट ठूलै रकम लिएर अनुसन्धान नै नगरी ढिसमिस पारिदिएका छन् । भारतीय नागरिक आशिष पटेलले २५ करोड धरौटी र अरु चालु खर्चसमेत ३० करोड भन्दा बढी लगानी क्यासिनोकै कर्मचारी जयन्ती थापाको नाममा गरेका थिए । थापाले पटेललाई एक पैसा नदिई उनको लगानी हडपिसकेपछि उनको सम्पत्तिका बारेमा सम्पत्ति शुद्धीकरण विभागमा उजुरी परेको थियो । उक्त उजुरी मिलाइदिने भनेर रायमाझी र मनोज सुवेदीले क्यासिनो कब्जा गरेका छन् ।

जयन्तीलाई सम्पत्ति शुद्धीकरणबाट जोगाइदिने भनेर उनीहरुले केही करोड दिएर क्यासिनो रोयल कब्जा गरेका छन् । रायमाझी र एसपी रानभाट नातेदार हुन् । क्यासिनो रोयलबाट कुस्त फाइदा उठाएर रानाभाट भदौ १३ मा ३ नम्बर प्रदेश ट्राफिक कार्यालय मुग्लिङमा सरुवा भएका छन् । उनले विभागमा आफ्नो सेटिङका प्रहरी फिट गरेर गएका छन् । इन्स्पेक्टर दानसिंह मडै लामो समयदेखि इन्चार्जमा सरुवा हुँदा पनि नगई विभागमै कार्यरत छन् । तालिम नै नगरेका असई मित्रलाल पन्थी ६ बर्षदेखि विभागमा उजुरीमै मोलतोल गर्दैआएका छन् । विभागलाई प्रधानमन्त्री कार्यालयअन्तर्गत लगेपछि विभिन्न अपराधिक क्रियाकलापमा लागेर अवैध सम्पत्ति जम्मा गर्नेहरुमाथि छानविन हुने ठूलो आशा थियो । त्यसबमोजिम विभागले काम गर्न नसक्दा प्रधानमन्त्री ओलीकै नैतिकतामाथि प्रश्न उठाउन थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्