Logo
Logo

प्रधानमन्त्रीका दावेदारहरुको अवस्था कस्ताे छ ?


6.2k
Shares

काठमाडौं । हालका प्रधानमन्त्रीसहित चार पूर्वप्रधानमन्त्री चुनावी मैदानमा छन् । यी पाँचै जना आगामी बन्ने सरकारको प्रधानमन्त्रीका दावेदारसमेत हुन् ।

मंगलबार (आज) मध्यान्हसम्मको प्रतिनिधिसभा तर्फको मतपरिणाअनुसार नेपाली कांग्रेस ४८ क्षेत्रमा अग्रता लिइरहेको छ भने चार क्षेत्रमा विजयी भइसकेको छ ।

यस्तै, एमाले ३८, माओवादी १२, राष्ट्रिय स्वतन्त्र पार्टी ११ र नेकपा एस ७ ठाउँमा अगाडि रहेका छन् । हालसम्ममा एमाले दुई क्षेत्रमा विजयी भएको छ ।

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो गृह जिल्ला डडेलधुराबाट प्रतिनिधिसभा उम्मेदवार छन् । उनी पछिल्लो मतपरिणामअनुसार ६८८० मतसहित अग्रस्थानमा छन् । उनलाई पछ्याइरहेका स्वतन्त्र उम्मेदवार सागर ढकालले ३६६६ मत प्राप्त गरेका छन् । यो झण्डै दोब्बर मतको फरक हो । त्यसैले देउवा बलियो देखिएका छन् ।

यस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेखवार छन् । यो क्षेत्रमा प्रचण्डले आफ्ना प्रतिस्पर्धीभन्दा तेब्बर मतले अगाडि छन् । प्रचण्डले ५ हजार ९८० मत पाउँदा उनका निटक प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले १६८२ मत ल्याएका छन् । अहिलेको मतान्तरअनुसार यो क्षेत्रमा प्रचण्डको विजयी निश्चित देखिन्छ ।

यस्तै, एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि अग्रता बढाउँदै लगेका छन् । झापा–५ बाट उम्मेदवार रहेका उनले हालसम्म ८९७८ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीले ५४४८ मत ल्याएका छन् । अहिलेसम्मको मतपरिणामअनुसार झापा–५ मा ओली बलियो देखिएका छन् ।

यसैगरी आगामी सरकारको प्रधानमन्त्रीकै दावेदार रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधामन्त्री माधव नेपालले पनि आफ्नो क्षेत्रमा अग्रता लिइरहेका छन् ।

अध्यक्ष नेपाल रौतहट–१ बाट उम्मेदवार छन् । उनले ५४४५ मत ल्याएका छन् भने उनलाई पछ्याइरहेका एमाले उम्मेदवार अजयकुमार गुप्ताले ४८७३ मत ल्याएका छन् ।

यस्तै, पूर्वप्रधानमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनाल इलाम–१ मा उम्मेदवार छन् । नेता खनालले भने एमालेका उम्मेदवार महेश बस्नेतभन्दा झण्डै एक हजार मतले पछाडि छन् । बस्नेतले ५६२६ मत ल्याउँदा खनालले ४८५० मत ल्याएका छन् । यसपटक पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र बाबुराम भट्टराई भने चुनावी प्रतिस्पर्धामा छैनन् ।

प्रतिक्रिया दिनुहोस्