‘मिसन’ अर्थात् विचारबिनाको पत्रकारिता हुँदैन । त्यही विचारको माध्यमबाट जनतालाई सुसुचित गर्दै निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य, बहुदलीय व्यवस्थाको पुनःस्थापनाको उद्देश्य बोकेर दृष्टि साप्ताहिकको जन्म भएको थियो ।
नेपाली पत्रकारिताको इतिहासमा ३९ वर्ष निरन्तर पत्रिका प्रकाशित हुनु चानचुने कुरा होइन । यस अवधिमा जति पनि राजनीतिक परिवर्तन भयो, त्यसको साक्षी हो ‘दृष्टि’ । हरेक आन्दोलनको अग्रमोर्चामा उभिएर ‘दृष्टि’ले लोकतन्त्रको पक्षमा वकालत गर्दै आयो ।
नेपालमा लोकतान्त्रिक गठबन्धन त्यत्तिकै आएको होइन । त्यसका पछाडि सहिदको बलिदान र नेपाली जनताको ठूलो त्याग र तपस्या छ । कुनै पनि देशमा राजनीतिक परिवर्तन भएपछि त्यस देशका जनताले लोकतन्त्रको माध्यमबाट आर्थिक विकास गरेका छन् ।
नेपालमा लोकतन्त्रको स्थापना (२००७) हुँदा नेपालभन्दा पिछडिएका कति देशहरू आज समृद्धिको शिखरमा पुगेका छन् । शक्ति राष्ट्रको रुपमा उदाउँदै छन् । हाम्रै दुई छिमेकी देशले आर्थिक विकासको हिसाबले विश्वका पुँजीवादी देशलाई चुनौती दिएका छन् ।
तर, हामी नेपाली जनताले ७० वर्षदेखि लोकतन्त्रका लागि लड्दै आए पनि सुख, शान्ति पाउन सकेका छैनौं । दिन प्रतिदिन गरिबीको चपेटामा परेर हातमुख जोर्न विदेशिनुपरेको छ । गरिब झन् झन् गरिब, धनी झन् झन् धनी बन्दै गएको छ ।
दृष्टिले लोकतन्त्र स्थापनापछि सुशासन र आर्थिक विकासको मुद्दालाई प्राथमिकतामा राख्यो । धेरै काण्ड, भ्रष्टाचारको भण्डाफोर गर्यो । तर, भ्रष्टाचारीहरूमाथि निर्मम तरिकाले कारबाही हुन नसक्दा ‘जो चोर उसैको ठूलो स्वर’ भन्ने अवस्था खडा भएको छ । त्यसैले अबको दृष्टिको मिसन सुशासन हुने प्रतिबद्धता जाहेर गर्दछौं ।
गरिबी र अभावले देशभित्रै पनि धेरै जनता पिल्सिएका छन् । त्यो देश र व्यवस्थाको कारणले होइन । तर, हामीले आफ्नो कमजोरी लुकाउन व्यवस्थाका कारणले नेपाली जनता गरिबीको चपेटामा परेको भ्रम सिर्जना गरिरहेका छौं । र, राजनीतिक दल र तिनका नेताहरूले राजनीतिक अस्थिरता निम्त्याइरहेका छन् ।
समस्या व्यवस्थामा होइन, नेताहरूमा छ । सात सालको कुरा छाडौं, ०४६ सालको जनआन्दोलनपछि आजसम्म जति नेता जन्मिए, ती सबै भ्रष्ट भए । सत्तालाई लुटको अखडा बनाए । जसका कारण देश बर्बाद भएको कुरा त आम नेपाली जनताले भोगेकै कुरा हो । त्यही कुराबाट मुक्ति पाउन पटक–पटकको आन्दोलनमा जनताले साथ दिएको कुरा पनि यथार्थ हो ।
तर, दुर्भाग्य नेपाली राजनीतिमा जुन जोगी आए पनि कानै चिरेका भएकोले देश थप बर्बादीको बाटोमा लागेको हो । यो अवस्थाबाट देशलाई जोगाउन सबैभन्दा पहिला भ्रष्टाचारीहरूमाथि कारबाही गरिनुपर्छ । के नेता, के कर्मचारी सबै भ्रष्ट चरित्रका भएकोले को भ्रष्टाचारी हो भन्दा पनि को भ्रष्टाचारी होइन भन्ने अवस्थामा देश पुगेको छ । त्यसैले अब आउने नयाँ सरकारले सुशासनलाई प्रमुख मुद्दा बनाउनुपर्छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण विभागलाई सशक्त बनाएर देश लुट्नेहरूलाई कारबाही गर्नुपर्छ । अन्यथा, लोकतन्त्र कमजोर हुने मात्र होइन, देश नै कंगाल बन्न सक्छ । त्यसको आडमा देशकै भविष्य पनि समाप्त हुनसक्छ ।
दृष्टिले लोकतन्त्रको स्थापनापछि सुशासन र आर्थिक विकासको मुद्दालाई प्राथमिकतामा राख्यो । धेरै काण्ड, भ्रष्टाचारको भण्डाफोर ग¥यो । नेपाली मिडिया सशक्त भएको कारण भ्रष्टाचारीहरू थर्कमान हुन पनि थाले । तर, भ्रष्टाचारीहरूमाथि निर्मम तरिकाले कारबाही हुन नसक्दा ‘जो चोर उसैको ठूलो स्वर’ भन्ने अवस्था खडा भएको छ । त्यसैले अबको दृष्टिको मिसन सुशासन हुने प्रतिबद्धता जाहेर गर्दछौं ।