Logo
Logo
मैदानमा चर्चित पूर्वप्रहरी अधिकारी

सर्वेन्द्र, नवराज, रमेश पराजित, ध्रुवबहादुर जितको यात्रामा


8.4k
Shares

काठमाडौं । प्रहरी संगठनमा अब्बल मानिएका पूर्वप्रहरी राजनीतिमा असफल भएका छन् ।

राजनीति नै अन्तिम शक्ति हो भन्दै मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा विभिन्न राजनीनिक दलबाट उम्मेदवार बनेका उनीहरु सबै पराजित हुँदै असफल भएका हुन् ।

नेकपा एमालेबाट पूर्वप्रहरी महानीरिक्षक सर्वेन्द्र खनाल काठमाडौं–६ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए । तर, उनी राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालसँग ५ हजार २९३ मतअन्तरले पराजित भए ।

शिशिरले १४ हजार २०४ मत ल्याउँदा खनालले ८ हजार ९११ मत पाए । प्रहरी संगठनमा अब्बल मानिएका उनी राजनीतिमा भने अब्बल देखिएनन् । पहिलोपटक संसदीय निर्वाचनमा होमिएका उनको संसद यात्रा तय हुन सकेन ।

त्यस्तै पूर्वडीआइजी नवराज सिलवाल ललितपुर–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए । उनी नेपाली कांग्रेसका उदयशम्सेर जवरासँग ४ हजार ६१४ मतले पराजित भए ।

उनले १९ हजार २७८ मत ल्याउँदा कांग्रेसका जवराले २३ हजार ८९२ मत पाए । ०७४ मा प्रहरी सेवाबाट राजीनामा दिएलगत्तै एमाले प्रवेश गरेर यसै क्षेत्रबाट विजय भएका सिलवालको यसपटक भने संसद छिर्ने सपना तुहिएको छ ।

प्रहरी संगठनमा चर्चित पूर्वडीआइजी रमेश खरेल छुट्टै पार्टी (नेपाल सुशासन पार्टी)दर्ता गरेर राजनीतिमा होमिएका थिए । उनी काठमाडौं क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए । तर उनको संसद पुग्ने सपना अधुरै रह्यो ।

उनी नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग ४ हजार १९ मतले पराजित भए । प्रकाशमानले ७ हजार १४३ मत पाउँदा खरेलले तीन हजार १२४ मत पाए ।

सशस्त्रका पूर्वएआइजी ठाकुरमोहन श्रेष्ठ राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौं–४ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए । उनी नेपाली कांग्रेसका महामन्त्री गगन थापाँसग पराजित भए । कांग्रेसका गगनले २१ हजार ३०२ मत पाउँदा ठाकुरमोहनले ४ हजार ५० मत पाए ।

नवलपरासी पश्चिम–२ बाट उम्मेदवार बनेका पूर्वडीआइजी ध्रुवबहादुर प्रधानको क्षेत्रमा भने निर्वाचनको मतपरिणाम आउन बाँकी छ । दुई दशकअघि राजनीतिमा होमिएका उनले यसअघि पनि निर्वाचन सामना गरिसकेका छन् ।

यसपटक भने उनको संसद पुग्ने सपना साकार हुने देखिन्छ । राप्रपाबाट उम्मेदवार बनेका प्रधान हालसम्म अग्रस्थानमा छन् । उनले अहिलेसम्म २३ हजार ६०१ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्