Logo
Logo

विजयको नाममा समय, शक्ति र सम्पत्ति खर्च नगर्न सुदन किरातीको आग्रह


22.8k
Shares

काठमाडौं । भोजपुरबाट प्रतिनिधिसभा निर्वाचित नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले नेता कार्यकर्तालाई जिन्दावाद र मुर्दावादको नारा लगाउँदै समय, शक्ति र सम्पत्ति खर्च गरेर विजयसभा नगर्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

बिहीबार राति सम्पन्न मतगणनासँगै प्रतिनिधिसभा निर्वाचित भएपछि सुदनले समय, शक्ति र सम्पत्ति खर्च गरेर विजयसभा नगर्न नेता कार्यकर्तालाई आग्रह गरेका हुन् ।

नेता किरातीले विजयको नाममा गरिने भोज भतेर जस्ता फजुल खर्चले दुई घर परिवारको चुहुने फुसको छानो हटाई जस्तापाता हालिदिएर अभियान आरम्भ गर्ने समेत प्रतिवद्धता जनाएका छन् ।

आफू शासक नभएर जनताको सेवक रहेकाले भन्दै माला, अबिर र खादा लगाइदिएर दुःख नगर्न समेत मतदाता र नेता कार्यकर्तासँग आग्रह गरेका छन् । 

यस्ता छन् सुदनका ६ आग्रह र प्रतिवद्धता
१. जिन्दावाद र मुर्दावादको नारा लगाउँदै समय, शक्ति र सम्पत्ति खर्च गरेर विजयसभा नगर्ने । 

२.  त्यतिबेला मात्र हामी विजयी हुनेछौँ जतिबेला भोक, अशिक्षा र भ्रष्टाचार जस्ता हाम्रो महाशत्रुलाई परास्त गरी जनजिविकामा आम जनताको अधिकतम पहुँच वृद्धि गर्ने छौँ ।

३.  राजनीतिमा राणा शासन ढालियो, राजा ढालियो, कहिले कांग्रेस ढालियो, कहिले कम्युनिष्ट ढालियो तर आफै भित्रको मुख्य शत्रु ढाल्न अझै सकिएको छैन । अब आफै भित्रको ति शत्रुमाथि निर्ममतापूर्वक प्रहार गरी विजय प्राप्त गर्नुछ । 

४. तपाईँहरूलाई धन्यवाद प्रदान गर्न श्रमसँग जोडिएर गाउँ आउनेछु ।

५. विजयको नाममा गरिने भोज भतेर जस्ता फजुल खर्चले दुई घर परिवारको चुहुने फुसको छानो हटाई जस्तापाता हालिदिएर हाम्रो अभियानको आरम्भ गर्नेछु ।

६. अन्तमा, तपाईँहरूले मलाई मत दिनुभयो अब म मन दिएर काम गर्नेछु । तपाईँहरूले माया दिनु भयो म तपाईँहरूलाई विश्वास र भरोसा दिनेछु । साथै, कहिले धोका दिने छैन । मलाई अबिर माला र खादाभन्दा पनि सगरमाथा जस्तै तपाईँहरूको माया नै काफी छ । कृपया, माला अबिर र खादा लगाइदिएर दुःख नगरिदिनु होला । अब दुःख गर्ने पालो मेरो हो म तपाईँहरूको सेवक हुँ शासक होइन धन्यवाद !

– उही तपाईँहरूको सुदन किराती

प्रतिक्रिया दिनुहोस्