Logo
Logo

ओखलढुंगाका सबै सिट गठबन्धनको पोल्टामा, कमजोर हुँदै एमाले


15.9k
Shares

काठमाडौं । भर्खरै सम्पन्न आम निर्वाचन–२०७९ को नतिजा हेर्दा ओखलढुंगामा एमाले कमजोर देखिएको छ । अघिल्लो निर्वाचन ०७४ मा नेकपा माओवादी केन्द्रले साथ दिँदा ‘प्रचण्ड’ बहुमत ल्याएर एमालेका यज्ञराज सुनुवार निर्वाचित भएका थिए ।

उनले ३२ हजार ५ सय ८० मत ल्याएर विजयी हुँदा कांग्रेसका रामहरि खतिवडाले २७ हजार ३ सय २७ मत पाएका थिए । तर, यसपटक भने परिस्थिती फेरिएको छ । त्यहाँ माओवादीले अन्य दलसँग मिलेर एमालेलाई हराउन सफल भयो ।

प्रतिनिधिसभातर्फ एक र प्रदेशसभामा दुई निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा एमाले सबै सिटमा पराजित भएको छ ।प्रतिनिधिसभा र एक प्रदेशसभामा नेपाली कांग्रेस विजयी भएको छ भने प्रदेशसभा २ मा माओवादी केन्द्र विजयी भएको छ ।

प्रतिनिधिसभामा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका खतिवडा निर्वाचित भएका छन् । त्यस्तै प्रदेशसभा १ मा कांग्रेसकै उम्मेदवार प्रदीप सुनुवार र २ मा माओवादी केन्द्रका बाबुराम गौतम विजयी भएका छन् ।

कांग्रेसका खतिवडाले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार यज्ञराज सुनुवारलाई ६ हजार ८१८ मतान्तरले पराजित गरेका हुन् ।

खतिवडाले ३३ हजार ५५६ मत पाउँदा सुनुवारले २६ हजार ७३८ मत प्राप्त गरे । प्रदेशसभा १ मा प्रदीपले निकटम प्रतिस्पर्धी एमालेका अम्बिरबाबु गुरुङलाई ३ सय ६० मतले पराजित गरेका हुन् ।

उनी १४ हजार ९ सय १६ मत ल्याएर विजयी भए भने एमालेका गुरुङले १४ हजार ५ सय ५६ मत ल्याएर दोस्रो भए । यता प्रदेशसभा २ मा माओवादीका गौतमले एमालेका ज्ञानबहादुर खड्कालाई एक हजार ९६ मतले पराजित गरे । उनले १५ हजार ७३८ मत ल्याए भने एमालेका खड्काले १४ हजार ६४२ मत प्राप्त गरेका छन् ।

२०६४ को पहिलो संविधानसभा निर्वाचन अगाडि ओखलढुंगामा सधैं कांग्रेस निर्वाचित हुँदै आएको थियो । जिल्लालाई कांग्रेसको गढ मानिदै आएकोमा ०६४ पछिका निर्वाचनमा कांग्रेस कमजोर हुँदै गएको थियो । तर यो पटकको चुनावी नतिजाले फेरि जिल्लामा कांग्रेस ठूलो दल बनेको छ ।

एक नगरपालिकासहित ८ स्थानीय तह रहेको जिल्लामा गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले चार स्थानीय तह जित्दै ठूलो दल बनेको थियो । गत स्थानीय तहको नतिजा र भर्खरै सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनबाट पराजित भएसँगै जिल्लामा एमाले कमजोर हुँदै गएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्