Logo
Logo

मतगणना अन्तिम चरणमा, बाँकी क्षेत्रको अवस्था के छ ?


6.3k
Shares

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । आइतबार बिहानसम्म १६५ मध्ये १५५ क्षेत्रको नतिजा आइसकेको छ ।

१५५ क्षेत्रको नतिजा सार्वजजनिक हुँदा सबैभन्दा धैरै नेपाली कांग्रेसले ५२ सीटमा विजयी हासिल गरेको छ भने नेकपा एमालेले ४१ र नेकपा माओवादीले १७ सीटमा जित हासिल गरेको छ ।

यस्तै, नेकपा एकीकृत समाजवादीले १०, रास्वपाले ७, राप्रपाले ७, जसपाले ६, लोसपा ४, नागरिक उन्मुक्ति पार्टीले ३ र अन्यले ८ सीटमा जित हासिल गरेका छन् । तीन क्षेत्रमा मतगणना हुन सकेको छैन ।

बाँकी सात वटा क्षेत्रमध्ये कांग्रेसले ४, एमालेले २ र रास्वपाले १ क्षेत्रमा अग्रता लिएका छन् । जसमा रामेछाप–१ मा कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ ४७ हजार ९८ मतसहित अग्रस्थानमा छन् । यहाँ उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कैलाशप्रसाद ढुंगेलले ३० हजार ७२९ मत पाएका छन् । यो क्षेत्रमा सत्ता गठबन्धन साझा उम्मेदवार रहेका तामाङको जित निश्चित देखिन्छ ।

त्यस्तै, कांग्रेसले अग्रता लिइरहेको क्षेत्र हो, सुनसरी–४ । यहाँ नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र एमालेका जगदीप्रसाद कुसियैतबीच कडा कडा प्रतिस्पर्धा छ । कार्कीले २३ हजार ४३९ मतसहित अगाडि छन् भने कुसियैतले २३ हजार ३४१ मतले पछ्याइरहेका छन् ।

यस्तै, उदयपुर–१ मा कांग्रेसका नारायण खड्का २५ हजार ९१७ मतसहित अगाडि छन् भने उनलाई एमालेका मञ्जुकुमारी चौधरीले २४ हजार १०९ मत पाएका छन् ।

त्यस्तै, धनुषा–४ मा कांग्रेसका महेन्द्र यादव २१ हजार २२४ मतसहित अगाडि छन् । यहाँ एमालेका रघुवीर महासेठले २० हजार २०३ मतले पछ्याइरहेका छन् । कांग्रेसले अग्रता लिएको ४ क्षेत्रमध्ये एक स्थानमा मात्र कडा प्रतिस्पर्धा देखिन्छ भने बाँकी तीन क्षेत्रमा कांग्रेस जित नजिक पुगेको छ ।

यस्तै, एमालेले इलाम–१ र सुनसरी–३ मा अग्रता लिइरहेको छ । इलाम–१ एमालेका महेश बस्नेत २० हजार ३८५ मत पाउँदा नेकपा एकीकृत समाजवादीका उम्मेदवार झलनाथ खनालले १८ हजार २०५ मतसहित पछ्याइरहेका छन् ।

यस्तै, सुनसरी–३ मा एमालेकी भगवती चौधरीले १७ हजार ३१ मत पाउँदा नेपाली कांग्रेसका विजय गच्छदारले १२ हजार ४७४ मत पाएका छन् । यहाँ अहिलेसम्मको मतान्तरलाई हेर्दा एमालेले जित्ने सम्भावना बढेको छ ।

यस्तै, सुनसरी–१ मा रास्वपाकी गोमा तामाङ १२ हजार ८५५ मतसहित अगाडि छन् । उनलाई जसपाका अशोक राईले १२ हजार ५०४ मतसहित पछ्याइरहेका छन् । उनीहरुबीच अहिलेसम्म ३५१ मतको अन्तर छ ।

प्रतिक्रिया दिनुहोस्