Logo
Logo

आर्थिक सङकटका कारण बांग्लादेशद्वारा विलासिताका सामानको आयातमा रोक


1.3k
Shares

एजेन्सी ।बांग्लादेशका प्रधानमन्त्री शेख हसिनाले विदेशी मुद्राको घट्दो सञ्चितिलाई संरक्षण गर्न विलासी वस्तुको आयातमा रोक लगाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

यद्यपि उनले थप अत्यावश्यक वस्तुआयात गर्नुपर्नेमा भने जोड दिएका छन् । बांग्लादेशको राजधानी ढाकामा आइतबार भएको सचिवस्तरीय बैठकमा उनले सो निर्देशन दिएका हुन् ।

बैठकपछि बांग्लादेशी मन्त्रीपरिषद्का सचिव खान्दकर अनवारुल इस्लामले प्रधानमन्त्रीको निर्देशनबारे पत्रकारलाई जानकारी गराएका थिए ।

प्रधानमन्त्री हसिनाले देशको वाणिज्य मन्त्रालयलाई ४० वटा विलासिताका सामानको आयातलाई निरुत्साहित गर्न र विदेशी मुद्रा बजारमा डलरको तरलता सुधार गर्न आयात शुल्क बढाउन आग्रह गरेका थिए ।

बांग्लादेशको विदेशी मुद्रा सञ्चिति नोभेम्बर २३ मा ३४.१० अर्ब अमेरिकी डलर पुगेको छ, जुन नोभेम्बर १७ मा ३४.३० अर्ब अमेरिकी डलरबाट कम भएको बांग्लादेश बैंक (बीबी) को पछिल्लो तथ्यांकले देखाएको छ ।

यस पृष्ठभूमिमा, बांग्लादेशको केन्द्रीय बैंकले अमेरिकी डलरको तुलनामा बांग्लादेशी मुद्रा टाकाको विनिमय दर परिवर्तन गर्ने विचार गरिरहेको छ । यसको अर्थ आर्थिक वर्षको अन्त्यसम्ममा अमेरिकी डलरको कारोबार विद्यमान एक अमेरिकी डलर बराबर ९८ टाकाबाट कारोबार १०० टाकामा पुग्नेछ ।

समष्टिगत आर्थिक स्थायित्वका लागि गम्भीर खतरा उत्पन्न हुने चुनौतीको सामना गर्न बंगलादेश सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) लगायत विश्वका ऋणदाताहरुसँग ऋणका लागि सम्पर्क गरिसकेको छ ।

आइएमएफले बहुप्रतिक्षित ४.५ अर्ब अमेरिकी डलर को ऋण सहायता जारी गर्न मार्ग प्रशस्त गर्न बांग्लादेशसँग कर्मचारीस्तरको सम्झौता भएको पुष्टि गरेको छ ।

प्रधानमन्त्री हसिनाले गत महिना बांग्लादेशमा रहेका सबैलाई सम्भावित विश्वव्यापी अनिकाल वा खाद्य संकटबाट देशलाई जोगाउन खाली सबै जमिनमा खेती गर्न र थप खाद्यान्न उत्पादन गर्न एकसाथ काम गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्