Logo
Logo

सुदूरपश्चिम प्रदेशसभामा अधिकांश नयाँ अनुहार


1.1k
Shares

धनगढी । सुदूरपश्चिम प्रदेशसभाका निवर्तमान दुई सदस्य प्रतिनिधिसभामा र चार सदस्य प्रदेशसभा सदस्यमा पुनःनिर्वाचित भएका छन् । मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा प्रदेशसभाका निवर्तमान चार सांसद भने पराजित भएका छन् ।

अघिल्लो निर्वाचनमा प्रदेशसभा सदस्यमा निर्वाचित कांग्रेसका नेता डिल्लीराज पन्त कैलाली निर्वाचन क्षेत्र–५ बाट प्रतिनिसभा सदस्यमा निर्वाचित भएका छन् ।

उनले निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री नारदमुनी राना थारूलाई पराजित गरेका हुन् । विजयी पन्त यसअघिको निर्वाचनमा कैलाली–५ को (१)मा प्रत्यक्ष निर्वाचनमा प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

एमालेबाट निवर्तमान सांसद तारालामा तामाङ यसपटकको निर्वाचनमा कञ्चनपुर–१ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का बिना मगर लाई पराजित गरेका हुन् ।

तामाङ पार्टी विभाजनका बेला एमालेबाट नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेर निर्वाचनअघि पुनः एमालेमै फकिएका थिए । यसअघिको निर्वाचनमा तामाङ कञ्चनपुर–१ को प्रदेशसभामा निर्वाचित भएका थिए ।

एकीकृत समाजवादीका नेता एवं प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी पनि दोस्रोपटक कैलाली–४ को प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । सोडारी पाटी विभाजनका बेला एकीकृत समाजवादीमा प्रवेश गरेर समाजवादी संसदीय दलको नेता भएका थिए ।

सोही पार्टीका नेता एवं आर्थिक मामिलामन्त्री प्रकाश रावल पनि दोस्रोपटक प्रदेशसभामा निर्वाचित भए । एमाले पार्टी विभाजनका बेला एकीकृत समाजवादीमा प्रवेश गरेका उनी कञ्चनपुर–३ को प्रदेशसभा सदस्यमा दोस्रोपटक निर्वाचित भएका हुन् ।

निवर्तमान प्रदेशसभा सदस्य एवं एकीकृत समाजवादीका नेता लालबहादुर खड्का, कञ्चनपुर र अमरबहादुर साउद कैलालीबाट यसपटक पराजित भए ।

प्रदेशका उद्योग पर्यटन वन वतावरणमन्त्री एवं माओवादी केन्द्रका नेता मानबहादुर धामी दार्चुलाको प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । त्यस्तै माओवादीकै निवर्तमान प्रदेशसभा सदस्य अक्कलबहादुर रावल अछामको प्रदेशसभा सदस्यमा दोस्रोपटक निर्वाचित हुँदा सोही पार्टीका निवर्तमान प्रदेशसभा सदस्य नन्दबहादुर साउदले कैलालीबाट पराजय व्यहोर्नपुगे ।

प्रत्यक्ष निर्वाचनतर्फको बाजुरा जिल्लाको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको नतिजा आउन भने बाँकी छ । सुदूरपश्चिम प्रदेशसभाका ३२ निर्वाचन क्षेत्रमध्ये ३० क्षेत्रको प्रत्यक्ष निर्वाचनतर्फको नतिजा आइसकेको छ ।

प्रदेशसभा सदस्यमा नयाँ अनुहार

सुदूरपश्चिम प्रदेशसभामा यो पटक नयाँ अनुहार निर्वाचित भएका छन् । कांग्रेसबाट प्रदेशसभाको प्रत्यक्षमा निर्वाचित कैलालीका प्रकाशबहादुर देउवा, प्रकाश बम र कमलबहादुर शाह, कञ्चनपुरबाट दिवानसिंह बिष्ट, बहादुरसिंह थापा र बेलबहादुर रानामगर, अछामबाट मेघराज खड्का र मानबहादुर रावल, बझाङबाट पृथ्वीबहादुर सिंह, बैतडीबाट शिवराज भट्ट, दार्चुलाबाट बिक्रमसिंह धामीसहित ११ नयाँ हुन् ।

यस्तै प्रदेशसभा सदस्यमा निर्वाचित माओवादी केन्द्रका रमेश धामी कैलाली, खगराज भट्ट डडेलधुरा, शिवसिंह ओली डोटी, ओमविक्रम भाट कञ्चनपुर, भीम भण्डारी बझाङ र झपटबहादुर साउद अछाम नयाँ हुन् । सो पार्टीका प्रदेशसभामा आठ जना निर्वाचित भएका छन् ।

नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभा सदस्यमा कैलालीबाट निर्वाचित रामेश्वर चौधरी, कैलाश चौधरी, लक्ष्मणकिशोर चौधरी, घनश्याम चौधरी र खुशीराम चौधरीसहित पाँच सबै नयाँ अनुहार हुन् । एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुने वीरबहादुर थापा कञ्चनपुर, सुरेन्द्र पाल बैतडी र चक्र मल्ल डोटी नयाँ सांसद हुन् ।

स्वतन्त्र उम्मेदवारी दिएर प्रदेशसभा सदस्यमा निर्वाचित भएकाडा तारा जोशी डडेलधुरा पनि नयाँ हुन् । प्रदेशसभामा ५३ सदस्य रहेका छन् । प्रत्यक्षतर्फको बाजुराको दुई नतिजा र समानुपातिकको २१ सदस्यको नतिजा आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्