काठमाडौं । कर्णाली प्रदेशमा प्रत्यक्षतर्फ शून्य बनेको नेकपा एमाले समानुपातिकतर्फ भने पहिलो दल बनेको छ । अघिल्लो निर्वाचनमा प्रदेशका ६ क्षेत्रमा जित निकालेर पहिलो दल बनेको एमालेले यसपटकको निर्वाचनमा सबै सिट गुमाएको हो ।
खसेको ६ लाख २० हजार ९२३ मत मध्ये ५ लाख ७४ हजार ६६ मत सदर भएको छ । जम्मा सदर मतमध्ये नेकपा एमालेले १ लाख ८३ हजार ९ सय ५० मत प्राप्त गरि पहिलो दल बन्दा नेपाली कांग्रेसले १ लाख ७० हजार ७ सय ५६ मत प्राप्त गर्दै दोस्रो दल बनेको छ ।
नेकपा माओवादीले १ एक ३७ हजार ६ सय २९ मत ल्याई तेस्रो दल बनेको छ । मधेश प्रदेशमा उल्लेख्य प्रगति गरेको एमाले यसपटकको निर्वाचनमा कर्णालीबाट बढारिएको हो ।
यस्तै, एकीकृत समाजवादी ३५ हजार ८ सय २६ र राप्रपाले २५ हजार १ सय ८६ मत प्राप्त गरेका छन् । यो मत परिणाम अनुसार समानुपातिकतर्फका १६ सिटमा एमाले ५, कांग्रेस ५, माओवादी ४, समाजवादी १ र राप्रपाले १ सिट पाउने देखिन्छ ।