Logo
Logo

यती एयरलाइन्स र तारा एयरले सगरमाथाबाट ३० टन फोहर उठाउने


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं । यती एयरलाइन्स र तारा एयरले सगरमाथा सफाइ अभियान २०१९ अन्तर्गत सेप्टेम्बरमा सगरमाथा क्षेत्रबाट ३० टन फोहोर उठाउने भएको छ । सगरमाथा प्रदूषण नियन्त्रण समिति, खुम्बु पासाङ ल्हामु गाउँपालिका, हिमालय क्लब लुक्ला, ‘रिसाइक्लिङ’ गर्ने संस्था ‘ब्लु वेस्ट टु भ्यालु’ र राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)सँगको सहकार्यमा एयरलाइन्सले हालसम्म ४५ टन पुनःप्रयोग गर्न मिल्ने (रिसाइक्लेबल) फोहोर संकलन गरिसकेको जनाएको छ ।

दिगो विकास लक्ष्यअन्तर्गत जैविक विविधता संरक्षण र जलवायु परिवर्तनसँग सम्बन्धित प्रतिबद्धतास्वरूप यति एयरलाइन्सले २०१८ मा सगरमाथा क्षेत्रबाट १ सय टन पुनःप्रयोग गर्न मिल्ने फोहोर संकलन गरेर ‘रिसाइक्लिङ’का लागि ल्याउने महŒवाकांक्षी लक्ष्य लिएको थियो । यसका लागि सेप्टेम्बर २०१९ मा ३० टन पुनःप्रयोग गर्न मिल्ने फोहोर ‘एयरलिफ्ट’ गरेर काठमाडौं ल्याउने एयरलाइन्सको योजना रहेको बताइएको छ ।

फोहोर संकलनका लागि सगरमाथा सफाइ अभियानका साझेदार संस्था सगरमाथा प्रदूषण नियन्त्रण समिति, हिमालय क्लब लुक्ला र खुम्बु पासाङ ल्हामु गाउँपालिकाले सगरमाथा क्षेत्रबाट नकुहिने फोहोर संकलन गर्नेछन् । यसरी संकलन भएको फोहोर तारा एयरमार्फत लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलबाट ‘एयरलिफ्ट’ गरी काठमाडौं ल्याइनेछ ।

यसरी ल्याइएको फोहोर ‘ब्लु वेस्ट टु भ्यालु’ले त्रिभुवन विमानस्थलबाट संकलन गरी पुनःप्रयोगका लागि प्रशोधन गर्ने बताइएको छ । संकलन गरिएका फोहोरमा बियरका बोतल, फुड क्यान, पर्वतारोहण र ट्रेकिङमा प्रयोग गरी फालिएका उपकरणलगायत हुन्छन् । यी वस्तुलाई ‘रिसाइकल’ गरी धातुका भाँडाकँुडा र निर्माण सामग्री बनाउनमा प्रयोग गरिने एयरलाइन्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्