Logo
Logo

सीके राउत सत्ता गठबन्धनमा सहभागी हुन सहमत !


7k
Shares

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनमा जनमत पार्टी पनि सामेल हुने भएको छ । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।

भेटमा प्रधानमन्त्री देउवाले कांग्रेस नेतृत्वको गठबन्धनमा सामेल हुन र लोकतान्त्रिक शक्तिहरुको सरकार बनाउन आग्रह गरेका थिए । छलफलको क्रममा जनमत पार्टीका अध्यक्ष राउतले आफू सत्ता गठबन्धनमा सामेल हुन सकारात्मक रहेको बताएका छन् ।

कांग्रेस नेतृत्वमा लोकतान्त्रिक सरकार गठन गर्न दुई नेताबीच सहमति भएको कांग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिए ।

‘अहिले भर्खरै जनमत पार्टीका अध्यक्ष, डा सीके राउतलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा भेट गराएर फर्कँदै छु। दुवै जनामा सकारात्मक र परिणाममुलक वार्ता भएको छ’, उनले लेखेका छन्, ‘गठबन्धन र कांग्रेससँग संघीय र प्रदेश दुवै तहमा सहकार्य गर्ने र सरकारमा सामेल हुने सहमति भएको छ।’

जनमत पार्टीका महासचिव चन्दन सिंहले प्रधानमन्त्री देउवाको प्रस्तावमा अध्यक्ष राउतले सकारात्मक प्रतिक्रिया दिएको बताए ।

जनमतले प्रत्यक्षतर्फ प्रतिनिधिसभामा १ सिट जितेको छ भने प्रदेशसभातर्फ ७ सिट जितेको छ । सो पार्टीले प्रतिनिधिसभामा समानुपातिकतर्फ समेत थ्रेसहोल्ड कटाएको छ ।

मधेशको नयाँ शक्तिकारुपमा उदाएको जनमतलाई कांग्रेस नेतृत्वको गठबन्धनमा समेट्न नेता निधिले पहल गरेका थिए । निधि र राउतबीच पटक(पटक भेटघाट र संवादपछि निधिले राउतलाई प्रधानमन्त्री देउवासँग भेटाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्