Logo
Logo

हेटौंडा–काठमाडौं सुमो चढ्नेहरू होसियार !


12k
Shares


काठमाडौं । जोखिमपूर्ण यान्त्रिक अवस्था रहेका सार्वजनिक सवारी साधन हेटौंडा–काठमाडौं रुटमा चल्ने गरेको ट्राफिक प्रहरीको चेकजाँचमा भेटिएको छ । हेण्डब्रेक नभएका, लाईटहरू नभएका तथा कालो धुँवा फाल्ने ३० वटा सवारी साधनलाई ट्राफिक प्रहरीले सोमबार कारबाहीको दायरामा ल्याएको छ ।

चेकजाँचका लागि ट्राफिक प्रहरीले कीर्तिपुरमा रोकिराखेका सुमो लगायत गाडी


२२ वटालाई जरिवाना गरिएको अन्य ८ वटालाई थप यान्त्रिक परीक्षणका लागि नियन्त्रणमा लिइएको काठमाडौं उपत्यकाका ट्राफिक प्रहरी कार्यालयका एसपी अवदेश बिष्टले बताए ।


काठमाडौँको किर्तीपुरमा सोमबार दिउँसो ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधनको विशेष यान्त्रिक चेकिङ गरेको थियो । जस क्रममा अवस्था ठिक नभएका टाटा सुमो, फोर्स तथा पानी ट्याङकर लगायत सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको हो । ती सवारी साधनहरु हेटौडांबाट काठमाडौं आएका थिए । खासगरी सुमो गाडीले यान्त्रिक अवस्था ठिक नराख्ने गरेको पाइएको छ ।


कालो धुँवा फाल्ने र हेण्ड ब्रेक ठिक नभएका ८ ओटा सवारी साधनलाई थप यान्त्रिक परिक्षण गर्नु पर्ने भएकाले नियन्त्रणमा लिइएको एसपी बिष्टले बताए ।


‘हामीले दक्ष तालिम प्राप्त प्राविधिक सहितको टोलिद्धारा आज दिउँसो बिशेष चेकिङ गरेका थियौं,’ एसपी विष्टले भने,‘जस क्रममा कतिपय सवारी साधनको हेण्डब्रेक नभएको, लाईटहरु नभएको, कालो धुँवा फाल्ने र टायर धेरै घिसिएका अवस्था देखियो ।’


अवस्था ठिक नभएको सवारी साधन चलाउँदा यात्रुको जीवन जोखिममा पर्न सक्ने र सवारी दुर्घटना पनि बढ्ने भएकाले संभावित जोखिम कम गर्न सवारी साधनको अवस्था चेकजाँच गर्न थालिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । नायव उपरीक्षक(डिएसपी) दलराम टमाटाको कमाण्डमा ट्राफिक प्रहरीको टोलीले यस्तो चेकजाँच गरेको हो ।
अवस्था ठिक भएमा मात्रै सवारी साधन संचालन गर्नु हुन सम्पुर्ण यातायात व्यवसायी, सवारी धनी तथा चालकलाई काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ । दसैंको मुखमा पनि यसैगरी चेकजाँच गर्दा धेरै सार्वजनिक यातायातको अवस्था ठिक नभएको खुलेको थियो । कतिपय दुर्घटना सवारी साधनको खराब अवस्थाका कारण हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्