Logo
Logo

रविको पार्टी वैकल्पिक शक्ति बन्ला ?


2.8k
Shares

चर्चामा छ– आमनिर्वाचन र विश्वकप । संयोग नै मान्नुपर्छ, नेपालमा दलहरूको महाभिडन्त र कतारमा फुटबलको महाकुम्भ एकैदिन सुरु भयो, मंसिर ४ अर्थात् २० नोभेम्बरमा ।

उता कतारमा फुटबलका खेलाडीहरू भेला हुँदा यता राजनीतिक खेलाडीहरू चुनावी प्रतिस्पर्धामा उत्रिँदै थिए । मैदान फरक, भिडन्त झण्डै उस्तै !

कतारमा विश्वका फुटबल हस्तीहरु मैदान र नेपालको चुनावी मैदानबीच भएको अर्को रोचक विषय पनि चर्चा योग्य नै छ । साउदी अरेबिया लियोनल मेस्सी नेतृत्वको अर्जेन्टिनालाई पराजित गर्दै दुनियाँलाई चकित पारे । यता, रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अनपेक्षित जित निकाल्दै नेपालीलाई चकित पारे ।

हुन त विश्वकप र निर्वाचन यस्तो प्लेटफर्म हो, जहाँ नयाँ खेलाडी र नयाँ नेताको उदय हुनसक्छ । तर, विश्वकपमा साउदी र नेपाली राजनीतिमा रास्वपाको यात्रा कहाँसम्म हो ? यो यसै भन्न सकिँदैन । खेल र राजनीति सम्भावनाको खेलमा जे पनि हुनसक्छ ।

आफूले इच्छाएको काम गर्न स्वतन्त्र छ तर, इच्छाए जसरी होइन । यसअघि आफूलाई वैकल्पिक शक्ति भन्नेहरूले आफूले इच्छाएको काम गरे । तर, इच्छाए जसरी भएन । अहिले रास्वपाको इच्छाएको वैकल्पिक शक्ति नै हो । तर, इच्छाएजस्तो सहज भने छैन ।

खेल र राजनीतिका धेरै कुरा मिल्छ । राजनीति फुटबलको खेलजस्तो समूह कार्य पनि हो । टिममा एकजना राम्रो खेलाडी र संगठनमा एकजना राम्रो नेता भएरमात्रै पुग्दैन । एकजना उत्कृष्ट हुँदा टिम राम्रो बनाउन केही राहत भने दिन्छ । तर, त्यसले उपाधि दिलाउँछ भन्ने हुँदैन ।

रास्वपा पनि अहिले राजनीतिक मैदानमा छ । केही फर्वाड देखिएपनि मिडफिल्डर, डिफेन्डर र गोलकिपर कस्ता छन् भन्ने थाहा छैन । रास्वपा मैदानमै भएकाले अहिले उसको पछि धेरै मान्छे कुदेका छन् । यदि, ढंग पुगेन भने यही जमातले भोलि क्रिकेट र पर्सि टेनिस बनाएर खेल्नेछन् । त्यसपछि स्नोकर…।

जसरी लगाव र अभ्यास विना खेलाडी बन्न सकिँदैन । त्यस्तै बिनासिद्धान्त र बिनादर्शन राजनीति हुँदैन । तर, अहिलेसम्म रास्वपाको सिद्धान्त के हो ? दर्शन के हो ? विचार, दृष्टिकोण के हो ? थाहा छैन । पार्टीको गन्तव्य र उद्देश्य पनि प्रस्ट छैन ।

केही महिनाअघि हाँपझाँपबीच जोरजाम गरिएको पार्टी हो– रास्वपा । राजनीतिक विश्लेषकलाई चकित पार्ने गरी उदाएको रास्वपा कुनै दर्शन, विचार, सिद्धान्त र एजेन्डा लिएर बनेको होइन । यो पार्टीसँग अहिले संगठन समेत छैन । उम्मेदवार उठाउन धेरै निर्वाचन क्षेत्रमा उम्मेदवारीका लागि सार्वजनिक आह्वान गरिएको थियो ।

वैकल्पिक राजनीतिक शक्ति कुनै सेलिब्रेटी व्यक्तित्वद्वारा नेतृत्व हुने चिज पक्कै होइन । राजनीतिमा कुनै न कुनै दर्शन र सिद्धान्त चाहिन्छ । यदि, दर्शन र सिद्धान्त भएन भने स्वाभाविक रुपमा यस्ता पार्टी तितरबितर हुन्छन् नै । गत स्थानीय तहको निर्वाचनमा केही स्वतन्त्र उम्मेदवारले पाएको चर्चाले रास्वपाले स्वतन्त्र जोडेर ‘ब्रण्डिङ’ गरे । तर, जनतालाई नतिजा चाहिएको छ, ब्राण्ड होइन ।

रास्वपामा अहिले जो–जो देखिएका छन् उनीहरू सबै अलगअलग पृष्ठभूमि र कर्मक्षेत्रबाट आएका छन् । त्यसैले रास्वपालाई एक सूत्रमा जोड्ने राजनीतिक दर्शन बनाउन सजिलो पक्कै छैन । मान्छेको मन र हृदयको कुरा त मिल्दैन । अलगअलग पृष्ठभूमिका सबैलाई जोड्ने राजनीतिक दर्शन बनाउनु रास्वपालाई चुनौती छ । फरकफरक विचार र कर्मक्षेत्रबाट आएका आफ्ना सांसदलाई एकै लयमा मिलाएर लानु रवि लामिछानेलाई सहज पक्कै छैन ।

रास्वपामा अहिले जोडिएमध्ये धेरै जना अभियान चलाउनेहरू छन् । हिजो सत्तालाई गाली गर्नेहरू छन् । तर, अब उनीहरूले गाली गरेरमात्रै पुग्दैन । शैली फेरिनुपर्छ । जनताले दिएको जिम्मेवारी पनि काँधमा आइलागेको छ । राजनीति आलोचनामात्रै होइन, रचना पनि हो । राजनीतिमा आवेग मात्र हैन, विवेक पनि चाहिन्छ ।

रास्वपालाई कामको आधारमा जनताले मत दिएका हुँदै होइन, न त दर्शन र सिद्धान्तलाई मन पराएर नै । पार्टीको दर्शन र सिद्धान्त सभापति रविबाहेक पार्टीकै आधिकारिक मान्छेलाई पनि थाहा नहोला । चुनाव जितेपछि रवि स्वयं आफैँ पनि कनफ्युजनमा होलान् !

वास्तवमा, रास्वपाले अहिले उधारोमा भोट पाएका हुन् । राम्रो काम गर्छ भनेर यो पार्टीलाई जनताले भोट खन्याएको पनि होइनन् । यो त प्रमुख राजनीति दलहरूप्रति वितृष्णा पोखेका हुन् । दलहरूले विचार वा सिद्धान्त नै नमिल्नेसँग चुनावी तालमेल गरेको एउटा प्रभाव पनि हो यो ।

तर, रास्वपालाई वैकल्पिक राजनीतिक शक्तिको रुपमा चित्रण गर्न थालिएको छ । मुलुकमा वैकल्पिक शक्तिको चर्चा भएको अहिलेमात्रै होइन, एक दशक भयो । पुराना राजनीतिक दलहरूले विकास र सुशासन दिन नसकेको भन्दै नयाँ शक्ति, साझा पार्टी, विवेकशील नेपालीजस्ता दलहरू उदाए । तर, ती सबै फेल खाए । ‘वैकल्पिक राजनीति’ भन्ने शब्दावली नै रंगहीन, थोत्रो र निकम्मा बनाएर छाडे ।

एउटा भनाइ छ– ‘आफूले इच्छाएको काम गर्न स्वतन्त्र छ तर, इच्छाए जसरी होइन ।’ यसअघि आफूलाई वैकल्पिक शक्ति भन्नेहरूले आफूले इच्छाएको काम गरे । तर, इच्छाए जसरी भएन । अहिले रास्वपाको इच्छाएको वैकल्पिक शक्ति नै हो । तर, इच्छाएजस्तो सहज छैन । चाहेका सबै चिजहरू भइदिने भए यो संसार किन यस्तो हुन्थ्यो होला !

यसअघि आफूलाई वैकल्पिक शक्ति भन्नेहरू हल्लैहल्लामा सीमित बने । रास्वपा पनि त्यस्तै बन्ने त होइनन् भन्ने आशंका अहिल्यैबाट उब्जिन थालेको छ । पार्टी भनेको ठूलो संख्यामा संगठित सदस्य, कार्यकर्ता, कमिटी सञ्जाल, समर्थक र शुभचिन्तकको पंक्ति निर्माण गर्नुमात्र पनि होइन । त्यसलाई व्यवस्थित रुपमा परिचालन गर्नु पनि हो ।

अनावश्यक रुपमा गठित राजनीतिक दलहरुको कारण जनता वाक्कदिक्क भइसकेका छन् । जनताले कुरा होइन, काम खोजेका छन् । यी दलले खन्दै गरेको वैकल्पिक राजनीतिको गोरेटो कहाँसम्म पुग्ला ? अबको पाँच वर्षमा निर्वाह गर्ने भूमिकाले ठूलो अर्थ राख्ने छ । र, आम नागरिकको विश्वास र अनुमोदन भविष्यले नै निर्धारण गर्नेछ ।

त्यसो त यस निर्वाचन अन्य स्वतन्त्रहरुले पनि जित हासिल गरेका छन् । तर, ती स्वतन्त्रहरु कुनै न कुनै दलसँग आवद्ध रहँदै आएकाहरु छन् । आफ्नो माउ पार्टीबाट टिकट नपाएकाहरु ‘स्वतन्त्र’ नाममा उम्मेदवारी दिएकाहरु पनि यस निर्वाचनमा आधा दर्जन निर्वाचित भएका छन् । तिनीहरु भोलिका दिनमा पुनः पार्टीमै फर्कन पनि सक्छन् । त्यसैले उनीहरुलाई गाह्रो छैन । ती ‘स्वतन्त्र’को ध्येय सांसद बन्नु थियो, त्यो पूरा भएको छ । तर, रवि नेतृत्वको रास्वपालाई त्यो छुट छैन ।

अहिलेको अवस्थामा रास्वपा सरकारमा सहभागी हुन हुँदैन । पार्टी अध्यक्षले भनेजस्तै वैकल्पिक शक्ति बन्ने हो भने प्रतिपक्षमा बसेर पार्टी र संगठन निर्माणलाई जोड दिनुपर्छ । नत्र भोलिका दिनमा बाबुरामको तत्कालिन नयाँ शक्ति र रवीन्द्र मिश्रको साझा पार्टीको हाल नहोला भन्न सकिन्न ।

प्रतिक्रिया दिनुहोस्