एजेन्सी । उच्च स्तरको वायु प्रदूषणको सम्पर्कमा आउँदा बंगलादेशमा बसोबास गर्दै आएका लाखौँ मानिस यसबाट बढी प्रभावित बन्नेगरेको एक अध्ययन प्रतिवेदनले देखाएको छ ।
प्रदूषणका कारण श्वासप्रश्वासमा समस्या, खोकी, तल्लो श्वासनलीमा सङ्क्रमणका साथै डिप्रेसन र अन्य स्वास्थ्य समस्याको जोखिम बढ्ने विश्व बैंकले आइतबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
‘ब्रेथिङ हेभी : न्यू एभिडेन्स अन एयर पोलुशन एण्ड हेल्थ इन बङ्गलादेश’ नामक प्रतिवेदनले ढाका र सिलहट शहरहरूमा शारीरिक र मानसिक स्वास्थ्यमा बाह्य वायु प्रदूषणको प्रभावको मूल्यांकन गरेको छ । प्रदूषणका कारण पाँच वर्षमुनिका बच्चाहरू, वृद्धहरू र मधुमेह, मुटु वा श्वासप्रश्वासको अवस्था जस्ता अन्य रोगहरू भएका व्यक्तिहरू सबैभन्दा असुरक्षित रहेको बताइएको छ ।
प्रतिवेदनले स्वास्थ्यमा वायु प्रदूषणको प्रभाव कम गर्न, सार्वजनिक स्वास्थ्य सेवाहरू र प्रतिक्रिया संयन्त्रहरू सुधार गर्न, वायु प्रदूषण तथ्याङ्क निगरानी प्रणालीमा सुधार गर्न, प्रणालीहरूमा लगानी गर्न र थप अनुसन्धानमा संलग्नसहित तत्काल सावधानीका कार्यहरू गर्न प्रारम्भिक चेतावनीसहित सिफारिस गरेको छ ।
अध्ययनले ढाका शहरमा प्रमुख निर्माण र लगातार ट्राफिक भएका स्थलहरूमा वायु प्रदूषणको उच्चतम स्तर रहेको पत्ता लगाएको छ । यी स्थलमा स्वास्थ्यको लागि सबैभन्दा खतरनाक मानिने ‘पार्टिकुलेट म्याटर (पीएम) २.५’ डब्ल्यूएचओ वायु गुणवत्ता दिशानिर्देश (एक्यूजी) भन्दा औसत १५० प्रतिशत माथि रहेको जनाइएको छ । यो स्वास्थ्यको लागि सबैभन्दा खतरनाक मानिन्छ र यसमा प्रति दिन लगभग १.७ खिल्ली चुरोटको धूम्रपानको बराबर हुन्छ ।
बङ्गलादेश र भुटानका लागि विश्व बैंकका कार्यवाहक देशीय निर्देशक डन्डन चेनले भने, ‘वातावरणीय वायु प्रदूषणले बच्चादेखि वृद्धसम्म सबैलाई जोखिममा पार्छ । सन् २०१९ मा, वायु प्रदूषण बङ्गलादेशमा मृत्यु र अशक्तताको दोस्रो ठूलो कारण रहेको थियो र यसले देशको कुल गार्हस्थ्य उत्पादनको लगभग ३.९ देखि ४.४ प्रतिशत खर्च गरेको थियो ।’
वायु प्रदूषणलाई सम्बोधन गर्नु देशको दिगो र हरित वृद्धि र विकासको लागि महत्वपूर्ण छ । विश्लेषणात्मक कार्य र नयाँ लगानीको माध्यमबाट, विश्व बैंकले बंगलादेशलाई वायु प्रदूषण कम गर्न मद्दत गरिरहेका उनले बताए ।
प्रतिवेदनअनुसार सन् २०१९ मा वायु प्रदूषणजन्य समस्याका कारण बङ्गलादेशमा ७८ हजार १४५ देखि ८८ हजार २२९ जनाको मृत्यु भएको थियो ।
विश्व बैंक स्वास्थ्य विशेषज्ञ र रिपोर्टका प्रमुख वामेक अजफर रजाले भन्नुभयो, “वायु प्रदूषण जलवायु परिवर्तन को कारण बन्छ र जलवायु परिवर्तनले वायु गुणस्तरलाई खराब गर्दछ ।
समयसँगै जलवायु परिवर्तन र शहरीकरणले वायु प्रदूषणलाई अझ तीव्र बनाउनेछ । वायु प्रदूषण र जलवायु परिवर्तनबाट उत्पन्न हुने वर्तमान् स्वास्थ्य सङ्कटको सामना गर्न स्वास्थ्य क्षेत्र राम्ररी तयार हुन आवश्यक रहेको उनले बताए ।