Logo
Logo

इतिहास झल्काउने चित्र


– श्याम रिमाल

63
Shares

– श्याम रिमाल

बूढाबूढी र केटाकेटीसहितको पाटनको एक स्थानको एउटा ठूलो भीड एक घरको आँगनमा भेला भएको छ । राजाका मानिसहरुले चिनियाँ सम्राट् कुब्ला खाँलाई पठाइने पत्र र उपहार दिन कुरिरहेका छन् । बलबाहुका पिता उनलाई केही सल्लाह दिइरहेका छन् भने आमा चिन्ताग्रस्त छ । उनकी भर्खरकी उमेरकी पत्नी ढोकामा रोइरहेकी छन् । कटुटु नलगाएको उनको छोरो बाबुको हात समातिरहेको छ । बिदाइका लागि सगुन र अरु माङ्गलिक वस्तु आइपुगेको छ । यो राजा अभय मल्लको पालाको विसं १३१७ ताकाको कुरा हो । जतिबेला १७ वर्षका उमेरमा कलाकार बलबाहु ८० जना कलाकारको नेतृत्व गर्दै चीन हिँडेका थिए । मन्दिर, घर, पाटीपौवा, ढुङ्गेधारा र पृष्ठभूमिमा पहाडको दृश्यसहितको ७६० वर्षअघिको शहरी सभ्यता पनि झल्काउने सोही चित्र कलाकार हरिप्रसाद शर्माले आफ्नो कल्पनामा उतारेका छन् जुनसहित ४५ चित्र अहिले नेपाल कला परिषद् बबरमहलमा प्रदर्शनमा राखिएको छ । जुन आगामी असोज ९ गतेसम्म चल्ने छ ।

काठमाडौँ लगनस्थित गोफल टोलमा जन्मेका उनले पाँच छ वर्षको उमेरदेखि नै चित्र कोर्न थालेका हुन् । उनका पिता भने उनलाई रुद्री पढाउन चाहन्थे । छोराको हठ देखेर पिताजीले चित्रकार जीवरत्न शाक्यकहाँ लगिदिए । उनले पछि कालिदास श्रेष्ठ र चन्द्रमानसिंह मास्केलाई गुरु बनाए, अमर चित्रकारसँग घरेलु कार्यालयमा तालीम लिए । जुद्धकला पाठशालामा पनि अध्ययन गर्ने मौका पाए । बयासी वर्षअघि नेवारी बस्तीमा जन्मेकाले उनले नेवारी संस्कृति, परम्परा, रहनसहन, चाडपर्व, जात्रा, नाचगान, गीतसङ्गीतसँगै हुकीे आफ्नो कलामा त्यही विषयवस्तु प्रस्तुत गरे । अरु जात्रा हेरिरहेका हुन्थे भने उनी मानिसहरुको चालढाल, वेशभूषा, गरगहना, अन्य प्रयुक्त सामग्री, आकार र रङ आदि सूक्ष्म कुरामा ध्यान दिन्थे । मानिसको जनजीवन, संस्कृति र इतिहासको यथार्थ चित्रण उनको रुचिको विषय रह्यो ।

पच्चीस वर्षदेखि हरिप्रसाद र पुत्र विष्णुप्रसाद नेपालको इतिहास, संस्कृति र जनजीवनलाई अभिलेख गर्न लागिपरेका छन् । आधुनिकताको आगमन र बदलिँदो परिवेशसँगै नेपालका प्राचीन इतिहास, संस्कृति, जनजीवन, रहनसहन, वेशभूषाका अवशेषहरु क्रमशः लोप हुँदैछन् । यसले गर्दा वर्तमान र भविष्यका पुस्ताहरुले तिनलाई देख्ने, त्यसमा गर्व गर्ने र त्यसबाट सिक्न पाउने अवसरबाट सधैँको लागि वञ्चित हुनुपर्ने अवस्था आउँदै छ । “चित्रहरु इतिहास बुझ्न र सिक्न सबैभन्दा सजिला, प्रभावकारी र लामो समयसम्म स्मरणमा रहिरहने शक्तिशाली माध्यम हुन्”, उनी भन्छन् । शर्मा बाबुछोरा काठमाडौँ, भक्तपुर, ठिमी, हरिसिद्धि, चापागाउँ, बुङ्मती, खोकना, साँखुका गल्लीगल्ली चोक र बहाल पुग्छन्, तस्वीर खिँच्छन्, मानिसहरुसँग कुराकानी गर्छन् । तस्वीरलाई कम्प्युटरमा राखी आवश्यक पर्ने विषयवस्तु, जीवनका आयाम अध्ययन गर्दै शर्माले चित्र कोर्दै आएका छन् । उनका कुनै कुनै चित्रमा सयौँ मानिसहरु पनि देखिन्छ ।

सन्दर्भ सामग्रीको सङ्कलन, घटनास्थलको सूक्ष्म अध्ययनको उनको चित्रकलाका पृष्ठभूमि हुन् । यसरी उनले तेलचित्र माध्यमबाट आफ्नो प्रतिभाशाली कल्पनाबाट सिद्धार्थ गौतमको महाभिनिष्क्रमण, अशोकस्तम्भमा घोडाको मूर्ति स्थापना, अंशुवर्माको कैलाशकूट दरबार, स्रङचङ गम्पो र भृकुटीको साक्षात्कार, चाँगुनारायणमा गरुडस्तम्भ स्थापना, अरनिकाको चीन बिदाइ, पृथ्वीनारायण शाहको काठमाडौँ उपत्यका विजय, कुमारीको हातबाट टीका ग्रहण, दिव्योपदेश, जयप्रकाश र तुलजा भवानीबीच पासा खेलाइ, कोतपर्व, प्रतापपुर र अनन्तपुर, रानीपोखरी, रानीहरुसँग प्रताप मल्लको फागु खेल, जङ्गबहादुरको बेलायतकी लौरा बेलसँगको प्रेम, ललितपुरबाट देखिएको वाग्मतीको दृश्य, पाटन दरबारभित्रको भण्डारखाल बगैँचाको कमलपोखरी, सिक्लेसमा भेडा चराइ, पञ्चैबाजाका साथ पहाड वा काँठमा हुने विवाह, इनार, खर्पन, बाँडाको ज्यासल, ओखलमा चिउरा कुटाइ, खटजात्रा, भक्कुभैरव नृत्य, तमाखु, नैनी जातिबाट नङ कटाइ आदि चित्रमा वास्तुशिल्पीय र सांस्कृतिक वैभवता देख्न पाइन्छ । आकर्षक र चम्किलो रङमा दूरी, प्रकाश र छायाको राम्रो संयोजन पाइन्छ ।

अरनिको राष्ट्रिय ललितकला प्रज्ञा सम्मान–२०७३, मदन भण्डारी राष्ट्रिय पुरस्कार– २०७४ बाट सम्मानित शर्मा नेपालका प्रत्येक समुदायको गाउँमा बसेर उनीहरुको संस्कृतिलाई चित्रमा ढाल्न चाहन्छन् । तर अब उनलाई उमेरले दिँदैन । उनको इच्छालाई भावी पुस्ताले मूर्त रुप देला त ? आधुनिक, अमूर्त, अर्धमूर्त चित्रको अहिलेको जमानामा शर्माका चित्रहरुको मूल्याङ्कन होला त ? के उनका चित्रहरु सरकारी कार्यालयहरुमा झुण्डिएलान् त ?

[email protected]

प्रतिक्रिया दिनुहोस्