Logo
Logo

एसपीको सरुवा रोक्न आइजीलाई चुनौती


15.5k
Shares

काठमाडौं । चुनाव हारेका गृहमन्त्री बालकृष्ण खाणले मन्त्रालय छाड्नुअघि ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीमा सरुवाको तयारी थालेका छन् । सरुवाका लागि गृहमन्त्री निकट बिचौलियाहरू सक्रिय भएका छन् ।

नेपाल प्रहरीमा एक दर्जन जिल्लाका एसपीको एक वर्ष अवधि पुगेको छ । त्यसमा तराईका पर्सा, बाँके जस्ता जिल्लासमेत छन् । ती जिल्लामा एसपीको सरुवाका लागि लाखौंको आर्थिक चलखेल हुने गरेको छ ।

पर्साका एसपी रमेश बस्नेत, धनुषाका बसन्त रजौरे, बाँकेका श्यामकृष्ण अधिकारी, सप्तरीका अविनारायण काफ्ले, तनहुँका राजेन्द्रबाबु रेग्मी, स्याङजाका राजीव बस्नेत, धादिङका राकेश सिंह, कैलालीका सोमेन्द्रसिंह राठौर लगायतको सरुवा गर्न लागिएको स्रोतले बताएको छ ।

त्यस्तै, झापाका विश्वमणि पोखरेल, सिराहाका अर्जुनप्रसाद तिमल्सिना, काभ्रेका चक्रराज जोशी, कञ्चनपुरका श्यामसिंह चौधरी, पाल्पाका जनकबहादुर शाहीको पनि ११ महिना नबित्दै सरुवा हुने सम्भावना छ ।

बाँकेका एसपी श्यामकृष्ण अधिकारीको त डेढ वर्ष भइसकेको छ । चलखेलकै आधारमा उनले आफ्नो सरुवा रोक्दै आएका छन् । अब सरुवा हुँदा पनि लुम्बिनी ट्राफिक मागेका छन् । सरुवाका लागि आर्थिक डिल गर्दै बिचौलिया हावी भएकाले खराब आचरण भएकाहरूले जिल्ला इन्चार्ज पाउने सम्भावना छ ।

पुरानो ब्याचबाट कृष्ण कोइराला, कमल थापा, दानबहादुर मल्ल, सन्तोषसिंह राठौर, भिम दाहाल, प्रज्वल महर्जनलगायत प्रतिस्पर्धामा छन् ।

गत असारमा बढुवा भएका ३६ एसपी पनि अब जिल्ला जाने दौडमा छन् । जसमा देवेन्द्र पाल, सिताराम रिजाल, भिमकिरण बोगटी, सुमन तिमल्सिना, सुमन पौडेल, विष्णुहरी कोइराला, भाग्येन्द्र पुरुष ढकाल, नरहरी रेग्मी, रञ्जितसिंह राठौर, नेत्रमणि गिरी, अवदेश बिष्ट, बिनोद शर्मा, मित्रबन्धु शर्मा छन् । त्यस्तै, रामबहादुर केसी, नरेन्द्रकुमार कार्की, खड्गबहादुर खत्री, संजय राउत, विश्वराज खड्का, बालनरसिंह राणा, टेकुनन्द लिम्बु, कोमल शाह, नरेशराज सुवेदी, भरत बिक, सुधीरराज शाही, विपिन रेग्मी, नवरत्न पौडेल, योगेन्द्र खड्का, काजी आचार्य, अनुपम श्रेष्ठ, दुर्गाराज रेग्मी, गजुसिद्धि बज्राचार्य, माधव बुढाथोकी, गौतम मिश्र, नबिनकिशोर प्रधान र मोहन थापा छन् ।

यसअघि सरुवामा सरकारले चरम राजनीतिकरण गरेको थियो । अहिले काम चलाउ सरकारले सरुवा गर्ने सम्भावना भएकाले झन् धेरै चलखेल हुने जोखिम छ । यस्तो चलखेल रोक्न प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहका लागि चुनौती बनेको छ ।

त्यस्तै, सशस्त्र प्रहरी बलमा पनि गणपति र गुल्मपतिको सरुवाको समय भएकाले सरुवाको चलखेल सुरु भएको छ । तर, सशस्त्र प्रहरीका उच्च अधिकारी भने काम चलाउ सरकारको समयमा सरुवा गर्न नहुने पक्षमा छन् ।

एआइजीको चलखेल

गत वर्ष एसएसपी सुशीलकुमार यादवले क्वार्टरभित्रै आत्महत्या गरे । आत्महत्याको मुख्य कारण बढुवामा उनीमाथि भएको अन्याय नै प्रमुख भएको खुल्यो । ब्याचका साथीहरु आइजिपी हुँदा उनी एसएसपीबाटै अवकाश पाउन लागेका थिए । त्यही डिप्रेसनमा उनले आत्महत्या गरेको परिवारको भनाइ छ ।

उनले अवकाश पाउने समयमा प्रहरीको सञ्चारतर्फ प्राविधिकतर्फ डिआइजीको एक दरबन्दी रिक्त थियो । सञ्चारतर्फ बढुवाका उम्मेदवार नभएकाले पद रिक्त राखिएको थियो । सो पद प्रशासनमा ल्याएर उनलाई न्याय गर्न सकिन्थ्यो । तर, त्यसो भएन ।

जब यादवको मृत्यु भयो त्यसपछि मात्र सो पद प्रशासनतर्फ ल्याइयो । किनकी, गृहमन्त्रीनिकट पूजा सिंहलाई बढुवाकै लागि यस्तो खेल प्रहरीमा भएको थियो । गृहमन्त्रीपत्नी मञ्जु खाण र पूजा साथी भएकाले उनले सो अवसर पाएकी थिइन् । उनी डिआइजी मात्र भइनन् एआइजी पनि भइन । अबको डेढ महिनापछि ५६ वर्षे उमेरहदले अवकाश पाउने भएपछि फेरि उनकै लागि प्रहरीमा ३० वर्षे सेवाहद हटाउनेदेखि उमेरहद संशोधन गर्नेसम्मका गतिविधि गृह मन्त्रालयमा अघि बढेका छन् ।

निर्वाचन सम्पन्न भइसकेको अवस्थामा नयाँ सरकार नबनी अध्यादेशमार्फत यी विषयमा संशोधन गर्न गृहमन्त्री खाणले चासो देखाएको स्रोत बताउँछ । तर, कामचलाउ सरकारले यी विषयमा निर्णय गर्न नहुने सुझाव गृहका कर्मचारीले दिएपछि केही समयका लागि यो विषय पछाडि धकेलिएको छ । यद्यपि, डिआइजीबाट एआइजी बढुवा गर्ने र सेवाहद र उमेरहद संशोधन गर्ने विषयमा चलखेल जारी छ । यसमा प्रहरीका केही अधिकारी संगठित रुपमै लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्