Logo
Logo

सिंहदरबारबाट भाग्न थाले सचिवहरू


6.8k
Shares

काठमाडौं । काम चलाउ सरकारका मन्त्रीहरु अनावश्यक चलखेलमा लाग्दा सचिव तथा उच्च पदस्थ कर्मचारीहरु तनावमा पर्न थालेका छन् । सत्तामा रहने समय थोरै भएकाले कामचलाउ सरकारका मन्त्रीहरुले आर्थिक चलखेलका गतिविधि बढाएका छन् ।

सबैजसो मन्त्रालयमा यतिबेला मन्त्री र सचिवबीच सम्बन्ध बिग्रिएको छ । मन्त्रीको निर्देशन सचिवहरुले टेर्न छाडेका छन् ।

पर्यटन मन्त्रालयमा यस्तै अवस्था छ । पर्यटनमन्त्री जीवनराज श्रेष्ठले विभिन्न सांस्कृतिक संस्थाहरुलाई आर्थिक सहयोग आफ्नै कार्यकालमा दिन खोजेका छन् । त्यससम्बन्धि कार्यविधि छिटो पास गर्न सचिव सुरेश अधिकारीलाई उनले दबाब दिएका छन् । तर, सचिव अधिकारीले नमानेको स्रोत बताउँछ । अन्य केही प्रशासनिक निर्णय पनि सचिवले रोकेका छन् ।

त्यस्तै, अवस्था गृह मन्त्रालयमा पनि छ । गृहमन्त्री बालकृष्ण खाणले पदबाट हट्नुअघि प्रहरीमा सरुवा बढुवा तथा सिडिओको सरुवा गर्न खोजेका छन् । तर, सचिव विनोद प्रकाश सिंहले विभिन्न बहाना गर्न थालेका छन् । यही बेला सचिव सिंह विदेश भ्रमणमा निस्किएका छन् । पर्यटनमन्त्री श्रेष्ठ र गृहमन्त्री खाण दुवै निर्वाचनमा पराजित भएका थिए ।

स्वास्थ्य मन्त्रालयमा सोमबार एक कार्यक्रममै यस्तो देखियो । मन्त्रालयले महिला हिंसाविरुद्ध १६ दिने अभियानको अवसरमा आयोजना गरेको कार्यक्रममा मन्त्रालयका दुवै सचिव उपस्थित भएनन् ।
स्वास्थ्यमन्त्री भवानी खापुङलाई हेपेर सचिवद्वय डा.रोशन पोखरेल र देवकुमार गुरागाई दुवै अनुपस्थित भएका हुन् । स्वास्थ्यमन्त्रीमा खापुङ नदाहोरिने भएकाले मन्त्रालयकै कार्यक्रममा समेत कर्मचारीले टेर्न छाडेका छन् । यसले कर्मचारीको अवसरवादी चरित्रलाई पनि प्रष्टाएको छ ।

यही अनुभवबाट महिलामन्त्री उमा रेग्मीले ८० प्रतिशत कर्मचारी फटाहा भएको भनेर टिप्पणी गरेकी छिन् ।

चुनाव जितेका मन्त्रीहरुको मन्त्रालयमा पनि समस्या बढिरहेको छ । नयाँ सरकार बनेपछि उनीहरु नै मन्त्री हुने सम्भावना नभएकाले कर्मचारी पन्छिन थालेका छन् । तर, पदबाट हट्नुअघि मन्त्रीहरु भने सकेसम्म फाइदा लुट्ने प्रयासमा छन् । मुख्यमन्त्री शंकरदास बैरागीले नै नियमित प्रक्रियाका बाहेक ठूला निर्णय नगर्न सचिवहरुलाई निर्देशन दिएको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्