आम निर्वाचनको परिणाम आइसकेको छ । परिणाम कसैले पनि सोचेजस्तो छैन । न सत्तारूढ गठबन्धनले, न प्रतिपक्षी तालमेलले । न पुराना दलले, न नयाँ दलले । अरूको त के कुरा गर्नु जनता जनार्दन भनिएका मतदाता पनि आफैँले दिएको अहिलेको जनादेश देखेर छक्क परेका छन् ।
यसपटकको जनादेश खण्डित हुने थियो, भयो नै । त्यही सम्भावना टाल्न देशका ठूला दलले चुनावपूर्वको गठबन्धन गरेका थिए । तर, यो पनि सफल हुन सकेन । फलतः मुलुकले विचित्रको त्रिशंकु संसद् पाएको छ । जहाँ, सत्ता मोलतोलको खेलमा ठूला दल कमजोर र साना दल बलवान हुने गजबको अभ्यास देखिने निश्चितप्रायः छ ।
चुनावको परिणाम आएसँगै हार्नेहरू अझै पनि हारको सही कारण देखिरहेका छैनन्, जित्नेहरू पनि आफ्नो जितका कारण भेटिरहेका छैनन् । दुई चार सय मतले हार्ने हुन् वा १०–२० हजारले, सबै हारको कारण धाँधली नै बताइरहेका छन् ।
उता, जित्नेहरू भने आफू जनताको सेवक भएकाले जितेको भनेर आत्मरतिमा रमाइरहेका छन् । यथार्थमा यहाँ जित पनि जित जस्तो छैन, हार पनि हारजस्तो छैन । केही अपवादहरू छन् जसलाई सामान्यीकरण गर्न सकिँदैन ।
यो हारजितको आत्मरति मूल्यांकनको सिलसिला यहाँ चलिरहन्छ, हार्नेहरू कोही मुखको तीतो पोख्छन्, कोही अड्डा अदालत पनि जालान् । कोही लेख लेख्छन्, कोही अन्तर्वार्ता दिन्छन् । कोही पीडामा पिउलान् पनि । यो क्रम अर्को चुनावसम्म पनि चलिरहन्छ । हार्नेको कसले इतिहास लेख्छ र लेखिने त जित्नेहरूकै हो । भनाइ नै छ, जो जित्छ उही सिकन्दर ।
अब यी सबै विगत भए । बढीमा सन्दर्भका रूपमा यिनीहरुको यदाकदा चर्चा–परिचर्चा हुने हो । यसै पनि नौ दिनमा नौलो र बीस दिनमा बिस्र्यो हुने देश हो नेपाल । अलिअघिका कुरा सम्झने कसलाई फुर्सद हुन्छ र ?
अब आगतको कुरा गरौं । शक्ति केन्द्रहरूमा सरकार गठनको चहलपहल सुरू भएको छ । कसैको पनि बहुमत नभएको र कसैको पनि भर नहुनेखालको परिस्थिति सिर्जना भएकाले हरेक कुराहरू पेचिला हँुदैछन् । यस्तै बेला हुने हो नानाथरिका आकलन । अहिले सरकार कसरी बन्ला, त्यसैको आकलन मौसम सुरू भएको छ ।
राजनीतिमा अनेक भनाइ छन् । जस्तो कि, राजनीतिमा असम्भव भन्ने केही हँुदैन, यो अथाह सम्भावनाको खेल हो । राजीतिमा कोही स्थायी मित्र पनि हुँदैन, कोही स्थायी शत्रु पनि हुँदैन । नेपालमा यी सबै भनाइहरू लागू भएकै छन् । जनता ती सबै प्रयोगका साक्षी फड्के किनारामा बसिरहेकै छन् ।
अब सरकार कसरी बन्छ त ?
सरकार बन्ने अहिले पाँच जीवित सम्भावना देखिन्छन् । कुनैको सम्भावना अलि बढी होला, कुनैको कम । तर, सत्ता राजनीति अत्यन्त तरल स्थितिमा पुगेको यतिबेला कुनै पनि सम्भावना नम्बर एकमा पुगेर सरकार बन्न सक्छ ।
सम्भावना–१ : वर्तमान सत्तारूढ गठबन्धनकै सरकारको निरन्तरता
अहिले पनि अंकगिणतले सत्ता गठबन्धन सबैभन्दा ठूलो गठबन्धन मात्र होइन, गठबन्धन जोगिए सामान्य बहुमत प्राप्त गठबन्धन हो यो । यसमा थपिएर मन्त्री हुनका लागि खासगरी मधेसी दलहरू लाइनमै छन् । तर, प्रश्न यो गठबन्धनको पहिलो प्रधानमन्त्री को हुने भन्ने छ ?
कांग्रेसमा जतिसुकै ठूला कुरा गरे पनि अंकगणितले शेरबहादुर देउवा नै संसदीय दलको नेता हुने लगभग निश्चित छ । अहिलेको गठबन्धन चलाउन उनी जति काबिल खेलाडी कांग्रेसमा छँदा पनि छैनन् । त्यस्तो अवस्थामा देउवाको रोजाइ पहिलो प्रधानमन्त्री हुने भन्ने हुन्छ । संख्याको हिसाबले कांग्रेस सबैभन्दा ठूलो दल हुने भएकाले यो स्वभाविकजस्तो पनि देखिन्छ ।
तर, संसद्मा तेस्रो दलका रूपमा सत्ताको साँचो अहिले पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै हातमा छ । उनी पनि गठबन्धनबाट सुरूको प्रधानमन्त्री हुन चाहिरहेका छन् । कांग्रेसले साथ नदिए एमाले र अन्य दलको साथ लिएर पनि प्रधानमन्त्री हुने खालको पत्ता पनि खोलिसकिएको छ ।
यसले सत्तारूढ गठबन्धनको सता सम्भावनालाई केही पेचिलो बनाएको छ । तर प्रचण्डको यो चाललाई राजनीतिक पण्डितहरूले माओवादीले राष्ट्रपति र नेकपा एसले सभामुख लिएर कांग्रेसकै नेतृत्वमा सरकारमा जानसक्ने चालका रूपमा लिनुपर्ने बताएका छन् । नेतृत्व कसको हुने ? भन्ने प्रश्न रहला तर अहिले पनि सरकार बन्ने शिखर सम्भावना भने यही नै हो ।
सम्भावना–२ : वामपन्थी गठबन्धनको सरकार
यसअघि नै यो गठबन्धन मात्र होइन, पार्टीकै एकल सरकार पनि गिरेको र त्यसपछि दुईपटक नेकपा विभाजित भइसकेको अवस्थामा यो सम्भावना त्यति काम रूप होलाजस्तो देखिँदैन । तर, निर्वाचनमा विचार नमिलेका दलहरूको गठबन्धनमा मत साटासाट नभएको र देशको वामपन्थी मत अझै पनि वामपन्थी गठबन्धन होस् भन्ने चाहना राख्ने भएकाले यसको सम्भावनालाई पूरै नकार्न सकिन्न ।
यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीको भूमिका निर्णायक हुन्छ । वामपन्थी एकता बिगार्ने उनको मैमत्ता प्रवृत्तिमा लगाम लगाउन उनी तयार भए र पहिलेकै बिन्दुमा पुगेर माओवादी र नेकपा एसलाई व्यवहार गरे भने यो सम्भावना देखिन्छ । तर, त्यसका लागि प्रचण्ड र नेपालले ओलीलाई सहजै विश्वास गर्न सक्दैनन् । प्रचण्ड र नेपाल भर्खरै सत्ता गठबन्धनमा रहेर चुनावमा गएकाले पनि यो सम्भावना अलि असजिलो छ ।
यो सम्भावनाले काम गर्न कांग्रेसभित्रको आन्तरिक राजनीति कसरी अगाडि बढ्छ भन्ने पनि हेर्नुपर्ने हुन्छ । अहिले कांग्रेसको संसदीय दलमा देउवाको विकल्पको खोजी भइरहेको छ । झट्ट हेर्दा उनको विकल्प नदेखिए पनि राजनीतिमा असम्भव भन्ने केही हुँदैन भन्ने मान्ने हो भने उनको विकल्प पनि सम्भव छ । त्यो विकल्प भनेको कांग्रेसमा वामपन्थीसँग गठबन्धन गर्नु हुँदैन भन्ने पक्षको पल्ला भारी हुनु हो । अहिलेको सत्ता गठबन्धनको भविष्यका लागि यो पनि एक जबर्जस्त पक्ष हो ।
सम्भावना–३ : एमाले समर्थनमा माओवादी सरकार
वर्तमान गठबन्धनलाई टुटाएर कांग्रेसलाई सत्ताभन्दा बाहिर राख्ने हो भने यो एक विकल्प हुनसक्छ । यसका लागि फेरि पनि एमाले अध्यक्ष ओलीको भूमिका निर्णायक हुन्छ । उनले आफ्नो मान्छे विद्यादेवी भण्डारी अथवा सुवास नेम्वाङलाई राष्ट्रपति बनाउनुपर्ने लगायतका विषयमा प्याकेजमा सम्झौता भएर यो विकल्प अगाडि बढाउन सक्छन् । र, पछि एमाले सरकारमा जान पनि सक्छ ।
सरकारमा फर्कने सबै बाटा बन्द हुँदै गएका ओलीले राजनीतिक जीवनकै उत्तराद्र्धमा यस किसिमको यु–टर्न नगर्लान् भन्न पनि सकिन्न । नेकपा र नेकपा एमाले जोगाउन नसकेर लागेको कालो धब्बा मेटाउने दिशामा यो महत्वपूर्ण प्रस्थानविन्दु हुनसक्छ ।
तर, यो सम्भावनाका लागि एमालेको मतले मात्र पुग्दैन, अन्य दलको पनि सहयोग लिनुपर्ने हुन्छ । प्रचण्ड यसो गर्न सक्षम हुन्छन् जस्तो देखिन्छ । किनकि, उनी उपेन्द्र यादवको जसपा, रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी, सिके राउतको जनमत पार्टीसम्मलाई मिलाउन सक्ने हैसियत राख्छन् ।
सम्भावना–४ : कांग्रेस र एमालेको आलोपालो सरकार
भलै संसदीय पद्धतिमा संसद्को पहिलो र दोस्रो ठूलो दल मिलेर सरकार बनाउनु नैतिक मानिँदैन तर अजब गजबको नेपालमा केही पनि असम्भव छैन । राजनीतिक स्थायित्वको नाममा प्रचण्ड र नेपाललाई देखाउन पनि ओलीले यो सम्भावनाका पहल गर्न सक्छन् ।
यसो गर्दा कांग्रेस र एमालेका लागि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखलागयतका अतिरिक्त सिंहासन पनि प्राप्त हुन्छन् । यसका लागि कांग्रेस तयार नहुन सक्छ र देउवामाथि यसो नगर्न पार्टीको प्रचण्ड दबाब पनि पर्न सक्छ ।
तर, देउवा यस्तै तिकडम गरेर ज्योतिषी हेराउँदै सातपटक प्रधानमन्त्री हुने दाउमा रहेकाले उनी यो सम्भावनाका लागि तयार नहोलान् भन्न सकिन्न । नेपालमा सुरूमा ज्ञानेन्द्रलाई प्रत्यक्षरूपमा सत्ता बुझाउन र पछि अप्रत्यक्षरूपमा सत्ता फर्काउन उनले खेलेको कुभूमिका इतिहासमा दर्ता भइसकेको छ ।
सम्भावना–५ : एमालेको समर्थनमा कांग्रेस सरकार
झट्ट हेर्दा असम्भवजस्तो देखिए पनि यो एक जीवित सम्भावना हो । यसका लागि पनि फेरि ओलीकै निर्णायक भूमिका हुन्छ । उनी एमालेका लागि राष्ट्रपति, सभामुखलगायतका पद लिएर कांग्रेसलाई एकलौटी सरकार बनाउन दिन सक्छन् । त्यसो गर्दा उनी प्रचण्ड र नेपाललाई सरकारबाट मात्र होइन, राष्ट्रपति, सभामुखलगायतका सबै ठूला पदबाट बाहिर राख्न सफल हुन्छन् ।
जे–जस्तो मूल्य तिरेर पनि आफ्ना विरोधीलाई भित्तामै पुर्याउने ओलीकै दुबुद्र्धिले नेकपा र एमाले विभाजन भएर मुलुक अहिलेको त्रिशंकु अवस्थामा पुगेको हो । त्यसैले ओलीले त्यसो नगर्लान् भन्न सकिन्न ।
सरकार बनाउन माथिका सबै विकल्पहरू खुला छन् । अहिलेको परिस्थिति हेर्दा आउँदो यो संसद्को कार्यकालभरि सबैखाले सम्भावनाको भुइँ टेकेर सरकार बन्न सक्छन् । ठूला पार्टीका त भन्न सकिन्न तर साना पार्टीका लगभग सबै सांसद मन्त्री बन्ने प्रचुर सम्भावना छ । सरकारमा जाने हानथाप बढेर साना दलहरू विभाजित हुन सक्छन् । अर्थात् राजनीतिमा सबै सम्भावनाहरू जीवित हुन्छन् ।
नेपालमा सरकारमा पुग्न र टिक्न आन्तरिक अंकगणित मात्र ठीक गरेर पुग्दैन, बाह्य शक्तिहरूको आशीर्वाद पनि आवश्यक हुन्छ । त्यो कसले लिन सक्छ भन्ने कुरा पनि महत्वपूर्ण रहन्छ । अहिलेका लागि त्यो कोणबाट पनि देउवाकै ग्रहदशा ठीकजस्तो देखिन्छन् ।
घुम्दै फिर्दै रूम्जाटार अर्थात्, जतिसुकै रस्साकस्सी गरे पनि बढीमा माओवादीले राष्ट्रपति र नेकपा एसले सभामुख लिएर देउवा नेतृत्वको सरकारमै जाने सम्भावना बढी देखिन्छ ।
चुनावमा गठबन्धन भएर गएपछि केही समय त्यसैलाई टिकाएर प्रयत्न गर्नु वाञ्छनीय पनि हो । तर, यो टिकाउ प्रयोग भने होइन । किनकि, नेपाली जनताले वैचारिक धरातल नमिल्ने दलहरूको चुनावी गठबन्धनलाई भर्खरै अस्वीकार गरेका छन् ।
प्रकारान्तरमा देशले अंगीकार गरेको निर्वाचन पद्धतिले सम्भव भएसम्म वैचारिक धरातलमा आधारित दुई दल र त्यो सम्भव नभए वैचारिक धरातलका गठबन्धनको माग गरेको छ । अर्थात् एउटा वामपन्थी गठबन्धन अर्को प्रजातान्त्रिक गठबन्धन । अहिले नै त्यसको प्रयास गरे पनि अन्यथा भन्न मिल्दैन । त्यसका लागि परिस्थिति निर्माण भएको छ, चाहिएको भनेको नेतृत्वको इच्छाशक्ति मात्र हो ।