काठमाडौं । नेपाल प्रहरीको इन्सपेक्टर भर्नामा विभागीय उम्मेदवारकै हालिमुहाली देखिएको छ । हालै एक सय ४६ जनाको अन्तिम नजिता प्रकाशन हुँदा १ सय ११ जना विभागीय(प्रहरीमै तल्लो तहमा) कार्यरत छन् ।
यसरी उत्तिर्ण भएका विभागीयतर्फका १ सय ११ जना प्रहरी निरीक्षकहरूलाई बुधबार दज्र्यान्ही चिन्ह लगाइएको छ । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रममा दज्र्यान्ही चिन्ह लगाइदिएका हुन् ।
२०७८ मंसिर १० गते प्रकाशित विज्ञापन अनुसार खुला प्रतियोगिताको २०७९ मंसिर ८ गते प्रकाशित अन्तिम नतिजामा विभागीयतर्फ १ सय ११ र खुलातर्फ ३५ जना गरी कुल १ सय ४६ जना प्रहरी निरीक्षकहरु उत्तीर्ण भएका थिए । जसमा १७ जना महिला छन् । नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०७९ मंसिर १२ गतेको निर्णयले मंसिर १५ गतेदेखि लागू हुने गरी उनीहरु प्रहरी निरीक्षक पदमा नियुक्त भएका हुन् ।
दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्ने क्रममा प्रहरी महानिरीक्षक सिंहले नवनियुक्त भएका प्रहरी अधिकृतहरूलाई बधाई दिँदै आगामी दिनमा अझ बढी व्यावसायिकता प्रदर्शन गर्दै प्राप्त जिम्मेवारीलाई वहन गर्न निर्देशन दिए । नवनियुक्त अधिकृतहरूबाट संगठनको श्रीवृद्धिका लागि अझ बढी उर्जा प्राप्त हुने उनले विश्वास व्यक्त गरेका छन् ।
प्रहरी महानिरीक्षक सिंहले हालै सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन २०७९ मा सम्पूर्ण कर्मचारीहरूले उच्च व्यावसायिकता प्रदर्शन गरी निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सफल भएको चर्चा गर्दै निर्वाचन सम्पन्न गराउन खटिएका समस्त प्रहरी कर्मचारीहरूलाई विशेष धन्यवाद व्यक्त गरे ।