Logo
Logo

नेवार समुदायमा ‘यःमरी पुन्हि’ धुमधामले मनाइँदै


504
Shares

काठमाडौं । लामो इतिहास, संस्कृति, परम्परा अनि सम्पदाले भरिपूर्ण काठमाडौं उपत्यका, यहाँका रैथाने नेवार समुदायले मनाइने अनेकौँ चाडपर्वको आफ्नै महत्व र विशेषता छ । यस्तै पर्वमध्ये एउटा प्रमुख र मौलिक पर्व हो, ‘यःमरी पुन्हि’ ।

हेमन्त ऋतुमा पर्ने यो पर्व मार्ग शुक्ल पूर्णिमा अर्थात् धान्य पूर्णिमाको अवसरमा आज धुमधामले मनाइँदैछ । नेपाल संवत्को दोस्रो महिना थिंलामा पर्ने भएकाले यसलाई ‘थिंला पुन्हि’ पनि भनिन्छ ।

नेवार समुदायमा कृषिसम्बन्धी धेरै चाडपर्व हुने गर्दछन् । मौसमअनुसारको खानपान गर्न सिपालु नेवार समुदायले त्यही खाने पकवानको नामबाटै पनि चाडपर्वलाई परिचित गराएका छन् । मार्ग शुक्ल पूर्णिमाको दिन मनाइने यःमरी पुन्हि पनि यस्तै एउटा पर्व हो, जसको नाम स्वादिष्ट पकवान यःमरीबाट प्रख्यात छ ।

‘यस पर्वमा विशेष गरी चामलको पिठोबाट बनाइने स्वादिष्ट पकवान यःमरी खाने र पूर्णिमाको दिन मनाइने भएकाले यस पर्वको नाम यःमरी पुन्हि रहन गएको हो’, संस्कृतिकर्मी ओमप्रसाद धौभडेलले भने । कृषि कर्म गर्नेका लागि मार्ग शुक्ल पूर्णिमा ठूलो पर्व हो । यस दिन पुर्वी पहाडी जिल्लाका किराँत समूदायले उभौली पर्व मनाउँछन् । त्यस्तै उपत्यकाका नेवारभित्रकै ज्यापु समुदायले ज्यापु दिवसका रूपमा पनि यो पर्वलाई मनाउने गर्दछन् । खसआर्य समुदायले पनि यस दिनलाई ठूलो दिनको रुपमा कुलपूजा, देवाली पूजा गर्ने प्रचलन रहेको छ ।

नेपाल भाषामा ‘यः’ भनेको मनपर्ने र ‘मरी’ भनेको रोटी वा मिठाई भन्ने अर्थ लाग्छ । यःमरी लाई पञ्चतत्वको रुपमा पनि स्वीकार गर्छन् । यःमरीमा धरतीको रुपमा चामलको पिठो, अग्निको रुपमा चाकु, जलको रुपमा पानी, आकाशको रुपमा खाली ठाउँ र वायुको रुपमा तिललाई लिइन्छ ।

नयाँ धान भित्र्याएको खुसियालीमा हर्षोल्लासका साथ यो चाड मनाइन्छ । भर्खरै भित्र्याइएको नयाँ धानको चामलबाटै यःमरी बनाउने र नयाँ अन्न राखिएको भकारी एवं भण्डारमा याःमरीलगायत लक्ष्मी, गणेश, कुवेर, नाङ्लो, सुकुन्दा, कुचो समातेको मान्छे, पानस, कछुवा आदिको मूर्तिसहित चेप्टो सानो सानो पात आकारको ल्होँचामरी ९मुतुमारी० बनाई पूजा गरी चढाउने गरिन्छ ।

धानका भकारीलगायत अन्नका भण्डारमा यःमरी चढाउँदा धनलक्ष्मी खुसी हुने र त्यसको प्रभावमा घर अन्नले भरिपूर्ण हुने र धनलाभ हुने जनविस्वास रहिआएको छ । यसरी चढाएको यःमरी चार दिनपछि प्रसादको रूपमा परिवारमा बाँडेर खाने चलन रहेको छ ।

यःमरी पुन्हिको साँझपख टोलटोलमा केटाकेटी, युवायुवती जम्मा भई योःमरी माग्ने प्रचलन पनि रहेको छ । यो एक प्रकारले देउसी, भैलोजस्तै प्रचलन हो । यःमरी माग्ने प्रचलन यस दिनको एक महत्वपूर्ण सांस्कृतिक पक्ष पनि हो जसलाई ‘त्यसिंत्य’ भन्ने गरिन्छ ।

यःमरी नयाँ धानको चामलको पिठोबाट बनाइन्छ । चामलको पिठोलाई शुद्ध घ्यू हालेर तातो पानी हाल्दै मुछ्नुपर्दछ । यःमरीको लागि ताइचिन धानको चामलको पिठो भए राम्रो मानिन्छ । नरम हुने गरी मुछिएपछि हावाबाट बचाउन सफा मलमलको कपडाले छोप्नुपर्छ । हावाको प्रत्यक्ष सम्पर्क परेमा मुछिएको पिठो कडा हुने डर हुन्छ । पिठो कडा भएमा यःमरी बनाउन कठिन पर्ने र यःमरी फुट्ने डर हुन्छ ।

त्यसपछि पिठोको डल्लोलाई चोर औँलाले छेड्नुपर्छ । औँला घुमाउँदै जाँदा पिठोको डल्लो पातलिँदै जान्छ । पातलो डल्लो झन्डै शङ्खको आकारमा परिणत हुन्छ । यसरी गर्दै जाँदा माथिल्लो भाग मन्दिरको गजूरजस्तै चुच्चो पर्दै जान्छ र तल्लो भागमा खोक्रो ठाउँ बन्छ । सो खोक्रो भागमा चाकु राखेर बन्द गरिन्छ र यःमरी तयार हुन्छ । आजभोलि खुवा, मासु, गुँदपाक, मास, मुँगीलगायत सामग्री राख्ने प्रचलन पनि रहेको छ ।

यःमरी तयार भएपछि एउटा भाँडोमा पानी उमाल्ने र उम्लिएको पानीको भाँडोमा पिँधमा प्वाल प्वाल भएको हाँसी (माटोको विशेष प्रकारको भाँडो) राखिन्छ । सो हाँसीमा यःमरी राखेर बाफले यःमरी पकाइन्छ । करिब पाँच मिनेट जति बफाएपछि यःमरी तयार हुन्छ । अचेल मः मः पकाउने भाँडाको प्रयोग गरिन्छ ।

पानीको बाफबाट पकाइने यो पकवान निक्कै स्वादिलो हुन्छ । त्यसैले यो सबैलाई मन पर्दछ । सबैलाई मन पर्ने रोटी भएकाले नै यसको नाम यःमरी अर्थात् मनपर्ने रोटी रहन गएको इतिहास तथा संस्कृतिविद प्रा डा पुर्षोत्तमलोचन श्रेष्ठ बताउहुन्छ ।

नेवार समुदायमा यःमरीको सांस्कृतिक एवं धार्मिक महत्व रहेको छ । धनसम्पत्ति बृद्धि र धनधान्यले भरिपूर्ण हुने जनविश्वासले नेवार समुदायमा यःमरी पुन्हिका दिन सबैले यःमरीसहित विभिन्न देवीदेवताको पूजा गरी दान गर्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्