Logo
Logo

मानव अधिकार उल्लङ्घनका घटना नरोकिएकाप्रति उपराष्ट्रपतिको चिन्ता


0
Shares

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले मानव अधिकार प्रवद्र्धन गर्ने सरकारको प्रयासका बाबजुद पनि मानव अधिकार उल्लङ्घनका घटना नरोकिएकाप्रति चिन्ता व्यक्त गरेका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगसँगको सहकार्यमा आज यहाँ आयोजित ‘१४औँ मानव अधिकार राष्ट्रिय भेला–२०७९’ को उद्घाटन गर्दै उनले जनताले पूर्ण मानव अधिकार पाएको महसुस गर्न नसकिरहेको बताए ।

‘मानव अधिकार सबैका लागि हो । वास्तविक अर्थमा मानव अधिकार आवाजविहीन, शोषित, उत्पीडित, सीमान्तकृत र राज्यले पछाडि पारेका जाति र वर्गका लागि हो’, उनले भने, ‘मानव अधिकारको कार्यान्वयन समाजको उन्नति र प्रगतिका लागि हो ।’

मानव अधिकारको सम्मान, संरक्षण र पूर्णपालन अनिवार्य भएको उल्लेख गर्दै उपराष्ट्रपति पुनले मानव अधिकारको प्रत्याभूतिका लागि कानूनी व्यवस्थालाई पूर्णरूपमा लागू गर्न आवश्यक रहेको बताए । ।

नेपाल सरकारले मानव अधिकारप्रति पूर्ण प्रतिबद्धता जनाएको र मानव अधिकार सुनिश्चितता सदैव नेपालको उच्च प्राथमिकतामा रहिआएको जनाउँदै उनले मानव अधिकारका लागि नेपालमा बहुआयामिक कार्य हुँदै आएको स्मरण गरे ।

‘मानव अधिकार कार्यान्वयनका लागि राष्ट्रिय मानव अधिकार आयोग, मानव अधिकारसम्बन्धी सङ्घसंस्थाले आआफ्ना प्रयास जारी राखेका छन्’, उनले भने, ‘मानव अधिकार प्रत्याभूत गर्न गरिरहेको कार्यका लागि राष्ट्रिय मानव अधिकार आयोग र मानव अधिकारसँग सम्बन्धित सङ्घ संस्थालाई धन्यवाद दिन चाहन्छु ।’

नेपालको संविधानले नागरिकका थुप्रै मौलिक हकअधिकारको सुनिश्चितता गरेको उल्लेख गर्दै उपराष्ट्रपतिले मानव अधिकारका रूपमा रहेका मौलिक हकको कार्यान्वयन गर्न सबै पक्षको ध्यानाकृष्ट गराए ।

प्रतिक्रिया दिनुहोस्