Logo
Logo

भ्रष्टाचार हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता


2.5k
Shares

फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कुनैपनि तवरबाट भ्रष्टाचार हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै भ्रष्टाचार हुन नदिने र भ्रष्टाचार नियन्त्रणका लागि निरोधात्मक, प्रवर्द्धनात्मक र उपचारात्मक उपायलाई सँगसँगै कार्यान्वयनमा उतार्नु पर्ने बताएका हुन् ।

प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमा भनेका छन्, ‘भ्रष्टाचार नियन्त्रणका लागि निरोधात्मक, प्रवर्द्धनात्मक र उपचारात्मक तीनवटै उपायहरुलाई सँगसँगै कार्यान्वयनमा उतार्न आवश्यक छ । कानुनको पालना, सार्वजनिक निकायहरुको सुदृढीकरण, जवाफदेही र पारदर्शी कार्यप्रणाली, सार्वजनिक खरिद प्रणालीमा शुद्धता जस्ता विषयले भ्रष्टाचार नियन्त्रणमा महत्वपूर्ण सहयोग पुर्‍याउने भएकाले यसतर्फ ध्यान दिन म सबैलाई आग्रह गर्न चाहन्छु ।’

साथै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, न्यायिक निकायहरु लगायतका निकायहरुको संस्थागत सुदृढीकरण, अनुसन्धान पद्धतिमा निरन्तर सुधार तथा न्याय निरुपणमा संवेदनशीलता जस्ता पक्षमा पनि गम्भीरतापूर्वक ध्यान दिन जरुरी रहेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री देउवाले भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनलाई विशेष महत्व दिंदै आएको बताएका छन् । ‘यसप्रति सरकारको प्रतिबद्धता अविचलित रहेको छ,’ उनले भनेका छन्, ‘विकास आयोजना व्यवस्थापन तथा सार्वजनिक सेवा प्रवाहमा सुशासन कायम गर्दै भ्रष्टाचार हुनै नदिनेतर्फ सरकारको अठोट छ ।’ उनले सार्वजनिक सेवालाई पारदर्शी, जवाफदेही र नागरिकमैत्री बनाउँदै जाने प्रतिबद्धता पनि जनाएका छन् ।

प्रधानमन्त्री देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत सबै सरकारी निकाय, बुद्धिजीवी, नागरिक समाज र सञ्चारकर्मीहरुलाई आगामी दिनमा आपसी समन्वय, सहकार्य र साझेदारीमा भ्रष्टाचार नियन्त्रण अभियान अघि बढाउन आह्वानसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्