नेपालगञ्ज । दाइजो लगायतका विषयमा यातना दिएका कारण बाँकेमा एक महिलाले आत्महत्या गरेकी छिन् । यातना दिनेहरूलाई जोगाउन प्रहरी नै सक्रिय बनेको छ ।
राप्तीसोनारी गाउँपालिका–७ पिप्रवाह निवासी २३ वर्षिया अफसरुल खानले गत १७ कात्तिकमा झुन्डिएर आत्महत्या गरेकी हुन् । उनको मेराज अलि शेषसँग विवाह भएको थियो । विहे भएदेखि नै आफुलाई दाइजो लगायतका विषयमा यातना दिदै आएको पीडितले माइती पक्षसँग बताएकी छिन् । घटनाको दुई दिनअघि पनि उनले आफ्नो हत्या हुनसक्ने भन्दै माइतीलाई खबर गरेकी थिइन् ।
सो घटनाको अनुसन्धान इलाका प्रहरी कार्यालय भगवानपुरले गरिरहेको छ । इप्रकाका इन्सपेक्टर बलराम सुनुवार तथा जिल्लाका एसपी श्यामकृष्ण अधिकारीले मृतकका श्रीमान र जेठाजूविरुद्ध मात्र जाहेरी ल्याउन निर्देशन दिएको स्रोत बताउँछ । जबकी परिवार नै मिलेर उनीमाथि कुटपिट र मानसिक यातना हुँदै आएको थियो ।
पोष्टमार्टम रिपोर्टमा मृतकको शरिरमा निलडाम समेत देखिएको थियो । जसआधारमा घटना हत्या भएको हुनसक्ने माइती पक्षले आशंका गरेका छन् । तर, प्रहरीले केटा पक्षको परिवारसँग मिलेर पीडितलाई नै दबाब दिइरहेको छ ।
यसअघि विभिन्न काण्डमा परेका एसपी अधिकारी सरुवाको समय भएकाले पछिल्लो समय खुलेआम नै डिल गर्न थालेका छन् । जसकारण पीडितहरु झन् पीडित हुन पुगेका छन् ।