Logo
Logo

बुढापाकाको राजनीतिक भविष्य संकटमा


1.3k
Shares

काठमाडौं । हालै सम्पन्न आमनिर्वाचनले राजनीतिक स्थायित्वको त जनादेश दिएन, तर यसले धेरै पुराना नेताहरूलाई भने बिदा गर्ने सम्भावना देखिएको छ ।

निर्वाचनमा सबै पार्टीका प्रभावशाली बरिष्ठ नेताहरु पराजित भएका छन् । बुढा तथा पाका नेतालाई अस्वीकृत गरेको निर्वाचनले राजनीतिमा नयाँ पुस्तालाई अनुमोदन गरेको छ । जून राजनीतिमा सुधारका लागि कोशेढुंगा हुनसक्छ ।

केही ७० वर्ष कटेका शीर्ष नेताले जिते पनि दोस्रो तहका धेरै नेताहरु पराजित हुन पुगेका छन् । पूर्व प्रधानमन्त्री झलनाथ खनाल नै इलाम क्षेत्र नम्बर १ बाट ठूलो मतान्तरले पराजित भए । त्यस्तै, पूर्व उपप्रधानमन्त्री रहेका कांग्रेस नेता कृष्ण प्रसाद सिटौला, एमाले उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, कांग्रेस नेता विजयकुमार गच्छेदार, माओवादी केन्द्रका महासचिव देव गुरुङ, जसपाका अध्यक्ष उपेन्द्र यादब, लोसपाका नेता लक्ष्मणलाल कर्ण, राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायत जनताबाट अस्वीकृत भएका छन् । यो निर्वाचनमा पराजयसँगै उनीहरुको राजनीतिक भविष्य पनि संकटमा परेको छ ।

काठमाडौं क्षेत्र नम्बर ५ बाट उठेका एमाले उपाध्यक्ष ईश्वर पोखरेलले यो चुनावलाई ‘गर वा मर’का रुपमा लिएका थिए । एमालेमा भावी नेतृत्वका प्रमुख दाबेदारमध्ये उनी एक थिए । तर, चुनाव नै हारेपछि पार्टीको नेतृत्वमा पुग्न पनि उनलाई अब सहज छैन ।

एमालेको बलियो प्रभाव क्षेत्रमा मानिने उनको निर्वाचन क्षेत्रमा कांग्रेसका युवा नेता प्रदीप पौडेलले उनलाई पाँच हजार मतान्तरले पराजित गरे । यो हारसँगै उनको राजनीतिक भविष्य संकटमा परेको चर्चा एमालेभित्र सुरु भएको छ ।

एमालेकै महासचिव शंकर पोखरेलले अनपेक्षित नतिजाको सामना गर्नुपरेको छ । उनको क्षेत्र(दाङ २) मा गठबन्धनबाट माओवादी केन्द्रका रेखा शर्माले टिकट पाएपछि कमजोर प्रतिस्पर्धी भएकाले पोखरेलले सहजै जित्ने धेरैको अनुमान थियो ।

प्रदेशका मुख्यमन्त्री समेत भएर गृहजिल्लामै प्रदेश राजधानी राख्न भूमिका खेलेकाले पनि उनले सहजै जित्ने आँकलन गरिएको थियो । तर, नतिजाले धेरैलाई आश्चर्यमा पार्यो ।

एमालेमा केपी शर्मा ओलीले आफ्ना उत्तराधिकारीका रुपमा अघि बढाएका पोखरेलको राजनीतिक यात्रामा यो निर्वाचनले धक्का लागेको छ । यसले मुख्यमन्त्रीका रुपमा उनले राम्रो काम गर्न नसकेको पुष्टि भएको छ ।

यसअघि एमालेको बलियो जिल्लाका रुपमा मानिएको दाङमा प्रदेश र प्रतिनिधि सभा दुवैमा एमाले शून्य हुनुले पनि उनको अलोकप्रियता प्रष्ट हुन्छ । दाङमा एमालेको लज्जास्पत पराजयको एउटा कारण पार्टीभित्रैकै विवादलाई समेत लिइएको छ ।

कांग्रेसभित्र लामो समयदेखि प्रभावशाली गुट चलाउँदै आएका कृष्ण प्रसाद सिटौलाको राजनीति पनि अब यो निर्वाचनसँग ओरालो लागेको छ । उनी मात्र होइन, उनका गुटका धेरैले यो निर्वाचनमा पराजय भोगेका छन् ।

सिटौला गुटकै कारण मन्त्री भएका खानेपानी मन्त्री उमाकान्त चौधरी नै ठूलो मतान्तरसहित सर्लाहीमा पराजित भए । भिमसेनदास प्रधान काठमाडौं ६ मात्र तेस्रो स्थानमा पुगे । यसअघि उनको गुटमा रहेका गगन थापा र प्रदीप पौडेलले पनि धार परिवर्तन गरिसकेका छन् । सिटौला आफैं झापा–२ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसँग पराजित भएका हुन् । अघिल्लो चुनावमा पनि उनी लिङदेनसँगै हारेका थिए ।

२०४८ सालदेखि निरन्तर झापामा चुनाव लड्दै आएका सिटौला उमेरले ७२ वर्ष पुगिसकेका छन् । उमेर र स्वास्थ्यका दृष्टिकोणले पनि उनको राजनीतिक करिअर पुनरादय हुन अवस्थामा छैन ।

कांग्रेसकै नेता विजय कुमार गच्छेदार पनि यो निर्वाचनसँगै किनारामा धकेलिएका छन् । निरन्तर सुनसरीबाट जित्दै आएका उनी एमालेकी भगवती चौधरीसँग यसपटक पराजित भएका छन् ।

बालुवाटार जग्गा हिनामिना प्रकरणमा बिशेष अदालतमा मुद्दा खेपिरहेका गच्छेदारका लागि निर्वाचनमा पराजयले थप धक्का दिएको छ । पार्टीमा उनको गुट पनि क्रमश कमजोर हुँदै गएको छ । धेरै पटक मन्त्री भएर रेकर्ड बनाएका गच्छेदारको सत्ता यात्रामा यो निर्वाचनले टुंगाउने सम्भावना देखिएको छ ।

पूर्व प्रधानमन्त्री झलनाथ खनाल समेत यसपटक पराजित हुन पुगे । नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता रहेका खनाल सत्ता गठबन्धनका साझा उम्मेदवारका रुपमा इलाम १ बाट उम्मेदवार बनेका थिए । यहाँ एमालेका महेश बस्नेतले उनलाई पराजित गरे । निर्वाचन उठेका पूर्व प्रधानमन्त्रीमध्ये पराजित हुने उनी एक्ला हुन् ।

स्थानीय तहको निर्वाचनपछि कांग्रेसका स्थानीय नेतालाई चिढ्याएकाले उनी पराजित भएको विश्लेषण गरिएको छ । प्रदेशका दुवै सिटमा गठबन्धनक उम्मेदवार विजयी हुँदा प्रतिनिधि सभामा उनी हार्नुले पनि सो कुराको संकेत गर्छ । यद्यपी खनालले निर्वाचनमा धाँधली भएको भन्दै पुनः मतदानको माग गरेका छन् ।

पछिल्लो १५ वर्ष सबैभन्दा प्रभावशाली मधेसी नेता बनेका उपेन्द्र यादवको राजनीतिक यात्रा पनि यो चुनावबाट ओरालो लागेको छ । मधेसी दलमध्ये सिके राउत नेतृत्वको जनमत पार्टीले मधेस प्रदेशमा सबैभन्दा धेरै मत ल्याएको छ । समानुपातिकतर्फ पनि उसले जसपाकै हारामारी मत ल्याएको छ । उपेन्द्र यादव सिके राउतसँगै करिब १९ हजार मतान्तरले सप्तरी २ बाट पराजित भएका छन् ।

एमालेसँग गठबन्धन गरेको उनको पार्टीले प्रत्यक्षतर्फ सात सिटमा मात्र जित निकालेको छ । अपेक्षाअनुसार नजिता नआएपछि एमालेसँग गठबन्धन तोडी उनी सरकारमा गएर पार्टी जोगाउने प्रयासमा छन् । सत्तामा नजाँदा पार्टी फुट्ने अवस्था आएकाले पनि जसरी पनि सरकारमा जान लागेको स्रोत बताउँछ ।

पर्साबाट चुनाव जितेका जसपाका नेता प्रदीप यादबले पार्टी फुटाउन चलखेल गर्दै आएका छन् । पछिल्लो समय भारतसँग सम्बन्ध बिग्रिएकाले पनि उपेन्द्रको राजनीतिक भविष्य संकटमा परेको बताइन्छ ।

मधेसका अर्का पुराना नेता लक्ष्मणलाल कर्णको त यसपटक जमानत नै जफत भयो । पर्सा १ बाट लोसपाका उम्मेदवार बनेका उनले जम्मा एक हजार एक सय १७ मत ल्याए । जहाँ विजेता रहेका जसपाका प्रदीप यादबले २२ हजार मत ल्याएका थिए । त्यस्तै, राजेन्द्र महतो, अनिल झा लगायत मधेसका प्रभावशाली नेताहरु समेत पराजित भएका छन् ।

त्यस्तै, एमाले अध्यक्ष केपी शर्मा ओलीको सिफारिसमा सूर्य चिन्हबाट चुनाव लडेका राप्रपा नेपालका अध्यक्ष कमल थापाको राजनीति पनि यो चुनावले समाप्त पारेको छ । समानुपातिकमा पनि उनले लज्जास्पद मत ल्याएका छन् । राप्रपाको अध्यक्षमा पराजित भएपनि नयाँ दल खोलेका थापा चरम अवसरवादी नेता मानिन्छन् ।

त्यस्तै, एमालेकै सहयोगमा लडेका हृदयेश त्रिपाठी पनि यसपटक जनताबाट अस्वीकृत भए । कांग्रेसका उम्मेदवार रहेका व्यापारी बिनोद चौधरीले उनलाई साढे ६ हजार मतले हराए । यो पराजयले त्रिपाठीको राजनीतिक भविष्य पनि संकटमा परेको छ ।

बुढा नेताहरुले हार्दा युवा उम्मेदवारहरुले अनपेक्षित जित हात पारेका छन् । नयाँ दलका उम्मेदवार मात्र होइन ठूला पार्टीबाट धेरै युवाहरु यसपटक संसद छिर्दै छन् । काग्रेसबाट प्रदीप पौडेल, विश्वप्रकाश शर्मा, योगेश गौचन, राजेन्द्र बजगाई, दुर्लभ थापा क्षेत्री लगायत नयाँ अनुहार निर्वाचित भएका छन् ।

त्यस्तै, एमालेबाट महेश बर्ताैला, तारा लामा तामाङ, अच्युत मैनाली, ठाकुुर गैरे लगायतले अनपेक्षित जित हात पारेका छन् । माओवादी केन्द्रबाट पनि माधव सापकोटा, गंगा कार्की लगायत नयाँ अनुहार संसदमा पुगेका छन् ।

प्रत्यक्षतर्फ ५७ नयाँ अनुहार
प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतगणना सोमबार सकिदा एक तिहाई नयाँ अनुहार चुनिएका छन् । एक सय ६५ मध्ये ५७ जना पहिलो पटक संसदमा चुनिएका छन् ।

केही नयाँ पार्टीको उदयका कारण पनि नयाँ सांसदको संख्या बढेको हो । राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीको उदयले नयाँ अनुहार बढेको हो । स्वतन्त्र पार्टीबाट सात, नागरिक उन्मुक्ति पार्टीबाट तीन, जनमत पार्टीबाट तीन जना नयाँ उम्मेदवार विजयी भएका छन् । पुराना दलका पनि नयाँ अनुहारले जनताले रुचाएका छन् ।

प्रतिक्रिया दिनुहोस्