Logo
Logo

यी हुन संसदमा देखिने तीन दम्पती


1.6k
Shares

काठमाडौं । यसपटकको निर्वाचनबाट तीन जोडी दम्पती संघीय संसदमा प्रवेश गर्ने भएका छन् । पति प्रत्यक्षबाट निर्वाचित हुँदा पत्नीहरु समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधिसभामा सांसद बनेका हुन् ।

धनुषाका चार प्रतिनिधिसभा क्षेत्रमध्ये दुई क्षेत्रमा नेकपा एमालेबाट श्रीमान-श्रीमतीले नै प्रत्यक्षतर्फ चुनाव जितेका छन् । एमालेका सचिव रघुवीर महासेठ र केन्द्रीय सदस्य समेत रहेकी उनकी पत्नी जुली महतोले प्रत्यक्षतर्फ एकसाथ निर्वाचन जितेका हुन् ।

एमालेका उम्मेदवार महासेठ धनुषा ४ बाट र पत्नी महतो धनुषा ३ प्रतिनिधिसभा सांसद बनेका हुन् । महासेठले कांग्रेस सहमहामन्त्री महेन्द्र यादवलाई र जुलीले लोसपाका नेता अनिल झालाई पराजित गरेकी थिइन् ।

जुलीलाई जसपाको समर्थन थियो । सिंगो मधेस प्रदेशमा टिकटका आकांक्षीको विद्रोह र असन्तुष्टि सतहमा आइरहँदा महासेठ दम्पती भने विगतमा जस्तै यसपाला पनि पार्टी र आम नागरिकको पहिलो रोजाइमा परेका हुन् ।

यता प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुराबाट निर्वाचित भइसकेका छन् । उनी डडेल्धुराबाट सातौं पटक निर्वाचित भएका हुन् । उनकी पत्नी आरजु राणा समानुपातिकबाट सांसद बनेकी छन् । कांग्रेस केन्द्रीय सदस्य रहेकी आरजु खस–आर्य महिला समूहमा एक नम्बरमा सिफारिसमा परेकी थिइन् ।

कांग्रेसले समानुपातिकतर्फ ३२ जना सांसद पाउँदैछ । त्यसका लागि पार्टीले आरजुसहितको नाम शनिबार निर्वाचन आयोगमा बुझाइसकेको छ । यस्तै, संसदमा प्रतिनिधित्व गर्ने अर्को एक जोड हो–जसपाका वरिष्ठ नेता अशोक राई दम्पती ।

राई सुनसरी–१ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचित भएका छन् । उनी एमालेको समर्थनमा विजयी भएका हुन् । उनले १७ हजार ५९ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले १६ हजार ६०६ मत पाएकी छन् ।

राईकी श्रीमती सुशीला भने समानुपातिकबाट सांसद बनेकी हुन् । समानुपातिकतर्फ जसपाले पाएको पाँच सिटमध्ये उनी जनजाति समूहको पहिलो नम्बरमा छिन् ।

प्रतिक्रिया दिनुहोस्