Logo
Logo

एमालेको समानुपातिक सूची ‘आयाराम’हरुको कब्जामा


38.1k
Shares

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ ४४ सिट हात पारेको नेकपा एमालेले समानुपातिकतर्फ ३२ सिट पाएको छ । सोहीअनुसार निर्वाचन आयोगलाई ३२ जनाको नाम सिफारिस गरेको छ ।

शनिबार एमालेले २२ महिला र १२ पुरूषको नाम निर्वाचन आयोगलाई बुझाइसकेको छ । एमालेले बुझाएको समानुपातिक सांसदको सूचीमा पार्टीमा योगदान गरेकाहरुभन्दा पनि भर्खरै प्रवेश गरेकाहरू प्राथमिकतामा परेको देखिन्छ ।

एमालेले बुझाएको समानुपातिक सूचीमा करिव १९ प्रतिशत अर्थात भर्खरै एमाले प्रवेश गरेका ६ जनाको नाम परेको छ ।

शनिबार च्यासलमा सम्पन्न सचिवालय बैठकले भर्खरै पार्टी प्रवेश गरेका ६ जनाको नाम समेट्दै ३२ जनाको सूची निर्वाचन आयोगलाई बुझाएको हो ।

यसरी, एमाले प्रवेश गरेलगत्तै समानुपातिकबाट सांसद बन्न पाएकाहरूमा एकानाथ ढकाल, देवीप्रसाद भट्टचन, हेमराज राई, गंगाप्रसाद यादव, अमृतलाल रावजंशी र अमृता अग्रहरी रहेका छन् ।

एकनाथ ढकाल अहिले पनि नेपाल परिवार दलका अध्यक्ष हुन् । उनी एमाले प्रवेश गरिसकेका छैनन् । तर, एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको निकट सम्बन्धकै आधारमा एमालेको समानुपातिक कोटामा परेका हुन् ।

व्यवसायी देवीप्रसाद भट्टचन पूर्वकांग्रेस नेता हुन् । उनी निर्वाचन अघि मात्र एमाले प्रवेश गरेका हुन् । भट्टचन पनि एमालेबाट समानुपातिक सांसद बनेका छन् ।

त्यसैगरी, संविधान लेखको क्रममा असन्तुष्टि जनाउँदै अशोक राईले एमालेबाट विद्रोह गर्दा तत्कालीन संघीय समाजवादी पार्टी गठनमा संलग्न हेमराज राई पनि एमालेबाट समानुपातिक सांसद् बनेका छन् । पूर्वमन्त्री समेत रहेका उनी निर्वाचनअघि मात्र एमाले फर्केका थिए ।

त्यस्तै, पूर्वउपसभामुख समेत रहेका गंगाप्रसाद यादव पनि एमालेको समानुपातिक सूचीमा परेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता रहेका यादव वर्ष अघि मात्र एमाले प्रवेश गरेका थिए ।

त्यसैगरी, नेपाली कांग्रेसबाट धेरै पटक सांसद बनेर मन्त्री समेत भइसकेका अमृतलाल राजवंशी पनि एमालेको समानुपातिक सूचीमा छन् । उनी निर्वाचनभन्दा केही समय अगाडि मात्र एमाले प्रवेश गरेका थिए ।

त्यस्तै, अघिल्लो निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)बाट सांसद बनेका अमृता अग्रहरी पनि एमालेको समानुपातिक सूचीमा छन् । उनी पनि निर्वाचनभन्दा केही समय अगाडि मात्र एमाले प्रवेश गरेका थिए ।

समानुपातिक सूचीमा भर्खरै पार्टी प्रवेश गरेकाहरूको मान अटाउने तर लामो समयदेखि योगदान गरेकाहरूले ठाउँ नपाउने भन्दै नेता कार्यकर्ताबाट विरोध हुने गरेको छ । तर, एमाले अध्यक्ष ओलीले भने आंशिक रुपमा बाचा पूरा गरेका छन् ।

निर्वाचन अघि विभिन्न दलका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउने क्रममा ओलीले अधिकांश कार्यक्रममा ‘नवप्रवेशीहरुलाई विशेष स्थान दिइने छ’ भनेका थिए ।

प्रतिक्रिया दिनुहोस्