Logo
Logo

कहाँ-कहाँ रित्तिए एमाले, कांग्रेस र माओवादी ?


2k
Shares

काठमाडौं । ४ मंसिरमा सम्पन्न आम निर्वाचनबाट मुख्य राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र माओावदी केन्द्र केहि जिल्लामा शून्य भएका छन् ।

प्रतिनिधिसभामा कुल १६५ निर्वाचन क्षेत्रमध्ये माओवादी ५९, एमाले ४६ र कांग्रेस ३४ जिल्लामा शून्य भएका हुन् । उनीहरुले ती जिल्लाका एक क्षेत्रमा पनि जित निकाल्न सकेनन् ।

सुदूरपश्चिम प्रदेशमा कुनै पनि जिल्लामा जित निकाल्न नसकेको माओवादीले देशभरबाट १८ सिट जितेको छ । कुल ३९ जिल्लामा ४६ वटा उम्मेदवारी दिएको माओवादीले १८ सिटमै सिमित भएको हो ।

नेकपा माओवादीले खोटाङ, भोजपुर, मोरङ, सर्लाही, काभ्रेपलाञ्चोक, दोलखा, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, गोरखा, बागलुङ, दाङ, रुकुमपूर्व, रोल्पा, कालिकोट, जाजरकोट, रुकुम पश्चिम र हुम्लामा मात्रै प्रतिनिधिसभाको प्रत्यक्षतर्फ जित हासिल गरेको छ ।

प्रत्यक्षतर्फ माओवादीले प्रदेश १ मा भोजपुर, खोटाङ र मोरङमा मात्रै जित हासिल गरेको छ । त्यस्तै, मधेस प्रदेशमा सर्लाही, बागमतीमा दोलखा, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रे, नुवाकोटमा मात्रै जितेको छ भने गण्डकीको गोरखा र बागलुङ, लुम्बिनीमा रोल्पा, रुकुमपूर्व, दाङ, कर्णालीमा कालीकोट, हुम्ला, जाजरकोट र रुकुमपश्चिममा जित हासिल गरेको छ ।

त्यस्तै प्रत्यक्षतर्फ ५७ सिट ल्याएको नेपाली कांग्रेस ३४ जिल्लामा शून्य भएको छ । त्यहाँ कांग्रेसले एक सिट पनि जित्न सकेन । उसले जम्मा ४३ जिल्लामा मात्रै प्रतिनिधिसभा प्रत्यक्षतर्फ जितेको छ ।

आयोगको नतिजाअनुसार उदयपुर, ओखलढुंगाा, झापा, तेह्रथुम, मोरङ, संखुवासभा, सुनसरी, धनुषा, पर्सा, महोत्तरी, रौतहट, सप्तरी, काठमाडौं, धादिङ, नुवाकोट, भक्तपुर, रसुवा, रामेछाप, ललितपुर, सिन्धुपाल्चोक, सिन्धुली, गोरखा, तनहुँ, नवलपरासी पूर्व, मनाङ, मुस्ताङ, म्याग्दी, स्याङ्जा, कपिलवस्तु, गुल्मी, दाङ, नवलपरासी पश्चिम, बर्दिया, बाँके, दैलख, मुगु, सुर्खेत, अछाम, कञ्चनपुर, कैलाली, डडेलधुरा, दार्चुला र बाजुरमा मात्रै जित हासिल गरेको छ ।

अघिल्लो ०७४ को निर्वाचनमा ८० सिट जित्दै पहिलो शक्तिका रुपमा उदाएको नेकपा एमाले यसपटक दोस्रो स्थानमा खुम्चिएको छ । एमालेले ३१ जिल्लाबाट ४४ सिट जितेको छ भने ४६ जिल्लामा शून्य भएको छ ।

नतिजाअनुसार इलाम, उदयपुर, झापा, ताप्लेजुङ, धनकुटा, पाँचथर, मोरङ, सुनसरी, सोलुखुम्बु, धनुषा, पर्सा, बारा, महोत्तरी, सर्लाही, सिराहा, काठमाडौं, काभ्रेपलाञ्चोक, मकवानपुर, ललितपुर, कास्की, पर्वत, लमजुङ, अर्घाखाँची, कपिलवस्तु, गुल्मी, पाल्पा, प्युठान, बाँके, रुपन्देही, कञ्चनपुर, बैतडीमा मात्रै प्रतिनिधिसभा प्रत्यक्षमा जित हासिल गरेको छ ।

प्रतिनिधिसभामा सात वटा दलले थ्रेसहोल्ड कटाएका छन् । एमाले, कांग्रेस, माओवादी, रास्वपा, राप्रपा, जसपा र जनमत पार्टीले थ्रेसहोल्ड कटाएका छन । समानुपातिकबाट एमालेले ३४, कांग्रेसले ३२, माओवादीले १४, रास्वपाले १३, राप्रपाले ७, जसपाले ५ र जनमतले पनि ५ सिट पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्