सात दशकमा वाम शक्ति निर्णायक रूपमा स्थापित भयो । तर, हस्तक्षेपकारी उपस्थिति रहन सकेन । यसको मूल कारण कम्युनिष्ट आन्दोलन केन्द्रिकृत हुन नसक्नु हो । अर्थात, कम्युनिष्ट आन्दोलनमा समस्या छ ।
कम्युनिष्ट शक्ति निर्णायक शक्ति हो भन्ने केही आधारहरू छन् । पहिलो, आवधिक निर्वाचनहरूमा कम्युनिष्ट पार्टीहरूले पाउने मत । दोस्रो, कम्युनिष्टकै नीतिमा देश अघि बढ्नु । तेस्रो, कम्युनिष्ट शक्तिको साथ नलिएसम्म कम्युनिष्ट वा गैर कम्युष्टि कुनै पनि शक्तिले केही गर्न नसक्नु ।
तीन दशकका आवधिक निर्वाचनमा कम्युनिष्ट शक्तिले निर्णायक र नेतृत्वदायी मत पाएका छन् । सबै कम्युनिष्ट पार्टीले पाएको मतलाई केन्द्रिकृत गर्ने हो भने प्रजातान्त्रिक शक्तिहरूभन्दा धेरै बलियो हुन्छ । तर, झुण्ड–झुण्डमा विभाजित हुँदाको परिणाम कम्युनिष्ट शक्तिको उपस्थिति हस्तक्षेपकारी हुन सकेन ।
वर्तमान व्यवस्था कम्युनिष्ट पार्टीकै एजेण्डा हो । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशी प्रतिनिधित्व कम्युनिष्ट शक्तिले अघि सारेर वैधानिक रूपमा स्थापित गरेको हो । अर्थात, देश कम्युनिष्टकै नीतिमा अघि बढेको छ । तर, आफ्नै नीतिमा अघि बढेको देश कम्युष्टिले नेतृत्व गर्न सकेका छैनन् ।
कम्युनिष्ट शक्ति छिन्नभिन्न छन् । तर, कम्युनिष्ट शक्तिको साथ नभएसम्म अन्य कुनै पनि शक्तिले केही गर्न सक्ने अवस्था छैन । आवधिक निर्वाचनहरू मात्र नभएर सरकार गठन वा सत्ता सञ्चालनमा सधै कम्युनिष्ट शक्तिको साथ अपरिहार्य रहन्छ ।
स्थापनादेखि नै कम्युनिष्ट शक्तिप्रति जनताले आशा गरेका छन् । वैधानिक माध्यमबाट पनि कम्युनिष्ट पार्टीको आवश्यकतालाई अनुमोदान गर्ने काम भएको छ । जनताले अघिल्लो आमनिर्वाचनमा झण्डै दुईतिहाइ मत नै दिए । यसपटक पनि बलियो मत दिएका छन् । तर, कम्युनिष्ट शक्ति आन्तरिक समस्यामा रहँदा जनमतको ठीक ढङ्गले सदुपयोग हुनसकेको छैन ।
नेकपा एमाले, नेकपा मओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी अहिलेका मुख्य कम्युनिष्ट शक्ति हुन् । यी तीन शक्ति एक ठाउँमा हुने हो भने नेपालमा अन्य शक्तिको परिकल्पना सम्भव हुँदैन । विडम्बना ! एक भएर पनि विभाजित भए । कम्युनिष्ट शक्ति विभाजित हुँदाको फाइदा अरू नै शक्तिले लिन्छन् भन्ने गतिलो जवाफ त सम्पन्न निर्वाचनले पनि दिएको छ । यसले, ‘कम्युनिष्ट एक भएर देशको नेतृत्व गर्नेछन्’ भन्ने जनताको आशा र विश्वास डगमगाउने परिस्थिति बनेको छ ।
सबै कम्युनिष्ट शक्तिले समाजवादलाई गन्तव्य मानेका छन् । तर, समाजवादी यात्राको सहयात्री बन्न नेतृत्व तयार छैनन् । फरक–फरक बाटोबाट समाजवादको बाटोमा हिँडेका सबै कम्युनिष्ट शक्ति कुनै न कुनै रूपमा अलमलिएका छन् । यस्तो अवस्थामा कम्युनिष्टको नेतृत्वमा समाजवादी यात्रा सम्भव हुँदैन ।
कम्युनिष्ट आन्दोलनका समकालीन नेतृत्वमा एकअर्कालाई सम्मान वा स्वीस्कार गर्ने परिस्थिति छैन । नेतृत्वबीच शत्रुवत सम्बन्ध विकास भएको छ । यसको फाइदा गैरकम्युनिष्ट शक्तिले लिइरहेका छन् । कम्युनिष्टको झगडाबाट फाइदा लिइरहेका शक्तिहरूबाट जनमुक्ति सम्भव छैन ।
पुँजीवादको चरण पार नगरेसम्म समाजवादसम्म पुग्न सम्भव छैन । तर, पुँजीवादी चरण पार गर्ने र समाजवादसम्म पुग्ने नीति र नेतृत्वको खाँचो सबै कम्युनिष्ट पार्टीमा देखिन्छ । भएका नेतृत्व स्पष्ट नीति नहुँदा विचलित भइसके । पछिल्लो नेतृत्वमा वर्तमान नेतृत्वकै संक्रमण सर्लक्कै सरेको छ । कुनै पनि कम्युनिष्ट पार्टीले सही नेतृत्व स्थापित र रक्षा गर्न सकेनन् ।
मदन भण्डारीले तय गरेको जनताको बहुदलीय जनवाद ‘जबज’लाई हुबहु कार्यान्वयन गर्न वा समयनुकुल परिमार्जन गरेर प्रयोग गर्न एमालेले सकेन । यस अर्थमा एमालेमा नीतिगत र कार्यक्रमिक रुपमा अलमल छ । जनतासामू कबोल गरेका मुद्दाहरू कार्यान्वय गर्ने प्रतिवद्ध नेता छैनन् । मनमोहन अधिकारी जस्तै जनपक्षीय कार्यक्रम बनाउने र कार्यन्वयन गर्ने क्षमता र चाहना एमालेका कुनै पनि नेतामा देखिँदैन ।
माओवादी उस्तै समस्यामा छ । देश माओवादीको नीतिमा अघि बढे पनि राजनीति माओवादी नेतृत्वभन्दा धेरै पर पुगिसक्यो । जनयुद्धमार्फत स्थापित एजेण्डाहरूमा माओवादी प्रतिवद्ध देखिएन । धरातल बिर्सनुको परिणाम अस्तित्व रक्षाको ठूलो संकटमा देखिन्छ, माओवादी । अर्थात, देशले अंगिकार गरेको नीति नेतृत्वविहीन भएको छ ।
एमालेबाट विद्रोह गरेर बनेको एकीकृत समाजवादी उस्तै उल्झनमा छ । पार्टीको नाममा ‘समाजवाद’ उल्लेख गरे पनि समाजवादसम्म पुग्न तत्काल र दीर्घकालमा गर्नुपर्ने नीति स्पष्ट रूपमा किटान गर्न सकेको छैन । सोही अनुसारको कार्यक्रम तय गर्न सकेको छैन । अन्य साना कम्युनिष्ट शक्तिको अवस्था झनै बिजोग छ ।
कम्युनिष्ट शक्तिले धरातल बिर्सेका छन् । वर्ग भूलेका छन् । त्यति मात्र होइन, वर्गप्रति घात गर्दै आएका छन् । सर्वहार वर्गसँगको सम्बन्ध टुट्दै जाँदा कम्युनिष्ट पर्टीको मूल चरित्र र पक्षधरतामै प्रश्न उठेको छ । एलिटसँगको संतनले सर्वहारा वर्गसँग नाता तोड्ने काम कम्युनिष्टबाट कल्पना गर्न सकिँदैन ।
कम्युनिष्टहरूमा स्वार्थ केन्द्रित राजनीति हावी भयो । जनजीविकाका सवालहरू सत्तासँगै साटिए । जनपक्षीय मुद्दाहरू झनै ओझेलमा पर्दै गए । सत्ताकै लागि अनैतिक साँठगाँठ गर्न कम्युनिष्ट शक्ति अगाडि देखिए । सर्वहारा वर्गको अधिनायकत्व स्थापित गर्ने कम्युनष्टि सपना अलपत्र परेको छ ।
कम्युनिष्ट पार्टीका नेतृत्व पार्टीले तय गरेको नीतिबाट निर्देशित हुनुपर्छ । तर, यहाँका कम्युनिष्ट पार्टी एक जनाको चाहनामा चल्नु परेको छ । सामुहिकतामा चलनुपर्ने नेतृत्व राजाहरूभन्दा पनि निरंकुस र हुकुमी भएका छन् । त्यसैले कम्युनिष्ट पार्टीहरूमा विचारबाट खारिएका इस्पात नेतृत्व नभएर दासहरू उदाएका छन् ।
कम्युनिष्ट आन्दोलनका समकालीन नेतृत्वमा सम्मान र स्वीकार्यताको खाँचो छ । एकले अर्को नेतृत्वलाई सम्मान वा स्वीस्कार गर्ने परिस्थिति छैन । नेतृत्वबीच शत्रुवत सम्बन्ध विकास भएको छ । यसको फाइदा गैरकम्युनिष्ट शक्तिले लिइरहेका छन् । कम्युनिष्टको झगडाबाट फाइदा लिइरहेका शक्तिहरूबाट जनमुक्ति सम्भव छैन ।
कम्युनिष्ट नेतृत्वले आमनिर्वाचनमा जाहेर जनमत बुझ्ने र सम्मान गर्ने हो भने मिल्ने ठाउँ छ । तर, नेतृत्वले आफूलाई करेक्सन गर्नुपर्छ । कम्युनिष्ट शक्तिहरू सैद्धान्तिक, वैचारिक र कार्यक्रमकि रूपमा करेक्सन हुने र मिल्ने हो भने– साचो अर्थमा नेपाल कम्युनिष्टहरूको देश बन्ने छ ।