Logo
Logo

रेशम छुटाउने अध्यादेशप्रति कांग्रेसभित्रैबाट विरोध


2.6k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई छुटाउने गरी सरकारले ल्याउन लागेको अध्यादेशप्रति विरोध गरेका छन् । 

‘अध्यादेश मार्फत कानुन संशोधन गरि अदालतले दोषी ठहर्‍याएकालाई माफी दिने प्रयास गरिनु कानुनी शासन, संसदीय प्रणाली, राजनीतिक र लोकतान्त्रिक मर्मको उपहास गर्नु हो’, उनले भनेका छन् । 

कोइरालाले आफू अनुकुलको राजनीतिक सहजताको लागि कानुनलाई बङ्ग्याउने छुट कसैलाई नभएको टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘अध्यादेश मार्फत कानुन संशोधन गरि अदालतले दोषी ठहर्‍याएकालाई माफी दिने प्रयास गरिनु कानुनी शासन, संसदीय प्रणाली, राजनीतिक र लोकतान्त्रिक मर्मको उपहास गर्नु हो । आफू अनुकुलको राजनीतिक सहजताको लागि कानुनलाई बङ्ग्याउने छुट कसैलाई छैन । भोलि यसले गलत नजिर बस्न जान्छ ।’

त्यस्तै, कांग्रेस युवा नेता प्रदीप पौडेलले जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई छुटाउने गरी सरकारले ल्याउन लागेको अध्यादेशप्रति विरोध गरेका छन् । 

पौडेलले अध्यादेश हिजो पनि गलत भएको र आज पनि गलत भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत पौडेलले पुरानै चलन, हिजोकै प्रवृत्ति रहिरहने हो भने फरकपनको कसरी आभास हुन्छ भनी प्रश्न गरेका छन् ।

पौडेलले लेखेका छन्, ‘अध्यादेश हिजो पनि गलत थियो, आज पनि । पुरानै चलन, हिजोकै प्रवृत्ति रहिरहने हो भने फरकपनको आभास कसरी हुन्छ ? सबै विषयहरूको उचित हल हतारोमा अध्यादेश मार्फत होइन, नव निर्वाचित संसद् मार्फत खोजौँ ।’

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अध्यादेशको कडा विरोध गरेका छन् । पार्टीभन्दा माथि उठेर आफू पुरानै अडानमा रहेको बताए । यो अध्यादेश सम्पूर्णरूपले गलत रहेको उनको टिप्पणी छ ।

शर्माले लेखेका छन्, ‘सडकमा छँदा जे सत्य, संसद्मा पनि त्यही नै सत्य । त्यसैले सार्वजनिक दर्ज होस् असहमति । सङ्क्रमणकालका अध्यादेश ल्याउन दलहरूबीच र आफ्नै दलभित्र घनिभूत छलफलको हेक्का नराखिनु सम्पूर्णरूपले गलत ।’

शर्माले यो कानूनी र राजनैतिक प्रश्न मात्र नभएर यो प्रकरणमा नैतिक पनि जोडिएको बताएका छन् । आफ्नो ट्वीटमा उनले प्रधानमन्त्रीलाई मेन्सनसमेत गरेका छन् ।

गगन थापाले पार्टीभित्र अध्यादेशका बारेमा कुनै छलफल नभएको र कुनै निर्णय नै नभएको भन्दै विरोध गरेका छन् । ‘अहिले पार्टीभित्र यो अध्यादेशका बारेमा न त कुनै छलफल भएको छ, न कुनै निर्णय नै भएको छ’, उनले भनेका छन्, ‘त्यसैले विगतमा पार्टीको अडान जे थियो आज पनि त्यही नै छ ।’

प्रतिक्रिया दिनुहोस्