Logo
Logo

महिला हिंसाविरुद्धको १६ दिने अभियान र पत्रकार महिला


मीरा राजभण्डारी अमात्य

2.5k
Shares

काठमाडौं । महिलामाथि हुने र हुँदै आएका हरेक हिंसाविरुद्धको सोह्र दिने अभियान विभिन्न कार्यक्रम गरी मनाइने वार्षिक उत्सवको पनि टुंगो लागिसकेको छ ।

सभा सम्मेलनमा प्रस्तुत कार्यपत्रमा महिला हिंसासँग सरोकार राख्ने के कस्ता मुद्दाहरू प्रस्तुत भए–हुन्छन् ति सबैको फेहरिस्त मिडिया कभरेजमा आउने नै छ । त्यसपछि थप छलफल बहस हुने नै छ ।

अभियानका क्रममा हुने बहसहरुभन्दा अगाडि धर्मशास्त्र, जीवन पद्धति र विगतका केही अनुभवबारे बहस उपयुक्त हुनसक्छ ।

धर्मशास्त्रहरूमा आधारित र समय–समयमा निर्माण गरिएका सामाजिक नीति नियम तथा व्यवहारमा समेत महिलामाथिको विभेद र विविध हिंसालाई बर्जित गरिएको प्रसङ्ग रोचक छन् ।

त्यति मात्र होइन, महिला र बालिकामाथि सम्भावित दुर्व्यवहार र हिंसा नहोस् भनेर बनाइएका संस्कार–संस्कृतिजन्य जीवन व्यवहारको व्यवस्था आम रुपमा देखिएका छैनन् । ति सबै कम रोचक भने होइनन् ।

हामी नारी पूजक र प्रकृति संरक्षक सभ्यताका हिमायती हौँ । यसमा हामी गौरव गर्छौ । कुमारीलाई पुजा गर्छौ, दिदीबहिनीको हातबाट टीका ग्रहण गर्छौ, अनि आमाको मुख हेर्ने संस्कृतिलाई अत्यन्त सम्मान गर्छौँ ।

अझ नेवाः सभ्यताको कुरा गर्ने हो भने हरेक वर्ष स्वतःस्फूर्त बालकुमारीको पूजा गरिन्छ । कुमारीहरूको पूजा छोरीचेलीको खास सम्मान मात्र नभएर सामाजिक सौहार्दतालाई निरन्तरता दिने अदृश्य सामाजिक जीवन व्यवहार हो ।

समाज एकनासको हुँदैन । धर्म, संस्कार–संस्कृति र परम्पराले पनि समाजको चरित्र निर्धारण गर्छ । कुमारी पूजा गरेर हाम्रै समाजले नारीमाथि सम्मान प्रकट गर्छ । र, हाम्रै समाजले उनै नारीलाई यौनिकतामा सीमित गरिदिन्छ ।

नारीलाई क्षमता र सङ्घर्षका पावन जीवन व्यवहारभन्दा पनि उनको यौनिकतामा सीमित गर्ने पनि हाम्रै समाज हो । आजका नारीको गुनासो यसैमा छ ।

०००

एक पत्रकार महिलाको पीडा–
म उत्साहित भएर स्टोरीको ‘सिनोप्सिस’ सुनाउन जान्छु । …जी भन्छन्– स्टोरीबारे कुरा गरौँला नि के छ र । बरु भरै के गर्दै हुनुहुन्छ ? कतै यसो कफी–सफी खाम । यसो रमाइलो नि गरौं । के जतिखेर पनि पत्रकारिताको मात्र कुरा गर्नु है ।

सवैका लागि लेखिदिने म, म माथि भएका र हुने यस्ता हिंसाबारे कसले लेखिदिने ? बोली दिने ?

०००

महिला हिंसाविरुद्धको १६ दिने संग्राममा यसपटक महिला पत्रकार विरुद्धका हिंसामा छलफल गरौं ।

शास्त्रले महिलालाई खुशी र सुखी देख्छ–
येत्र नारी पुजयन्ते
तत्र रम्यते देवता ।

अब समाजले स्वर्गको आश र नर्कको त्रास मान्दैन । धर्मकर्मलाई आफूअनुकूल जीवनपद्धति बनाउन आधुनिक पुस्ता सक्षम छ ।

०००

केही वर्ष अगाडि नेपाल पत्रकार महासंघ र अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे)को संयुक्त आयोजनामा महिला पत्रकारमाथिको लैङ्गिक हिंसा र सुरक्षासम्बन्धी अभिमुखिकरण आयोजना गर्ने अवसर प्राप्त भएको थियो ।

सहभागी संख्या र व्यवस्थापन १५ जनाको थियो । तर, २३ जना सहभागी भए । हाम्रा लागि व्यवस्थापन चुनौतिपूर्ण भयो । तर, पत्रकार महिला पत्रकारितामार्फत पहिचान स्थापित गर्न, जोगाउन र आत्मरक्षाका लागि आतुर छन् भन्ने कुराले उत्साह बढायो ।

सहभागी पत्रकार महिलाबाट व्यक्त अनुभव र धारणा उत्साहप्रद रह्यो । सबैले निर्धक्क भएर आफ्ना समस्या र चुनौति खुलेर व्यक्त गरे ।

अभिमुखीकरणमा सहभागी एक पत्रकारको तितो अनुभव–
पत्रकारितासम्बन्धी एक गोष्ठीमा सहभागी थिएँ । ‘तिम्रो श्रीमती फलानो होटलमा छन् है बुझ्नु’ भन्दै मेरा श्रीमानलाई कसैले कुरा लगाएछन् । अवस्था बुझ्न श्रीमान होटलसम्म आएछन् । ‘फलानोले तेरो बारेमा गलत सूचना दियो । तिमीमाथि के रिस रहेछ’ भन्दै पछि श्रीमानले प्रश्न गरे…

प्रस्तुत घटनाले सबै पत्रकार महिलालाई स्तब्ध बनायो । तर, पीडा र हिंसा यतिमा सीमित हुँदैन । बाइलाइन नआउँदासमेत ‘त्यत्रो रातिसम्म बसेको थिइस खोइ बाइलाइन’ भनेर मानसिक पीडा र हिंसा गर्ने श्रीमान समेत भेटिन्छन् ।

०००

पत्रकार महिलामाथि हुने लैङ्गिक हिंसाका प्रकृति विश्वव्यापी रुपमा थपिँदै गएका छन् । तथ्याङ्कअनुसार अनलाइन हिंसाको संख्या ७३ प्रतिशतसम्म रहने गरेको छ । त्यसरी नै लगाइ, बोलाइ र हेराइका माध्यमबाट गरिने हिंसा संसारभर बढ्दो छ ।

पत्रकार महिलामाथि हुने हिंसा बढेसँगै ‘सेल्फ सेन्सरशिप’को क्रम पनि बढेको देखिन्छ । पत्रकारिता पेशा नै छोड्ने पत्रकार महिलाको संख्या पनि बढ्दो छ । यसको मुख्य कारण आर्थिक तथा पेशागत जोखिम र हिंसालाई मानिन्छ ।

महिलामाथि हुने हिंसाविरुद्ध बोलिदिने र लेखिदिने पत्रकार महिलालाई समाचार लेखनमा हतोत्साहित गर्ने र पलायन गराउने प्रवृत्तिले न्यायमूलक समाजको कल्पना पनि सम्भव हुँदैन । त्यसैले, पत्रकारितामा महिलालाई टिकाउन खास नीति निर्माण र कार्यान्वयन आजको आवश्यकता हो ।

पत्रकार महिलालाई समाचार लेखेर मात्र पुग्दैन । महिला हिंसाविरुद्ध समाचार लेखेर मात्र हुँदैन । समग्र महिला मुक्तिका लागि पनि पत्रकार महिलाले अग्रपंक्तिमा रहँदै समाचार लेखेर जिम्मेवारी निर्वाह गर्नुपर्नेछ ।

त्यति गरेमा मात्र हुँदैन । पत्रकार महिलालाई थप चुनौतीहरु पनि छन् । सहकर्मी र सिंगो समाजबाट हुने हिंसा र व्यवसायीक जोखिमबाट पनि जोगिनुपर्ने हुन्छ । आफूमाथि हुने हर किसिमका जोखिमबारे सर्तक हुनुपर्नेछ । आत्मरक्षाका विधि सिक्नपर्ने छ । आजको सूचना प्रविधिसँग मेल खानेगरी क्षमता विकास गर्नुपर्नेछ ।

महिलाहिंसाविरुद्धको १६ दिने अभियानका क्रममा पत्रकार महिलाका यस्ता समस्या र चुनौतीहरुमाथि छलफल बहस भए कि भएनन् ? यदि बहस भए खुशीको कुरा हो । बहस नै भएका छैनन् भने बहसको विषय बन्दै जानुपर्छ ।

प्रतिक्रिया दिनुहोस्